याद

हिउँदको एक बिहान
अनायासै तिम्रो याद आयो
र अनायासै पानी पर्‍यो।

अघिल्लो दिन पनि
तिमीलाई सम्झेरै ब्यँझेको थिएँ
अनि बल्ल घाम उदाएको थियो
तिमीलाई सम्झेकै बेला
दिन ढलेको थियो।

अघिपछि तिमीलाई सम्झिंदा
कि साँझ पर्थ्यो कि बिहानी हुन्थ्यो
ठिकै छ, अब तिम्रो याद आउँदा
पानी पनि पर्न थालेछ।

Advertisements

विन्टरचोक, हिउँद र समयको तापक्रम

विन्टरचोकको राजधानी चोकको अलिक भित्रपट्टिको महानगरीय चोकको ‘क्याफे’ नाम दिइएको हरियो पर्दावाला रक्सीको वर्कशपमा बिहानै २ ट्वाक लगाएको एउटा आदिम मान्छेले आफुले किन चुनावमा भोट नहालेको भन्नेबारे प्रष्टिकरण प्रस्तुत गर्दैछ । वर्कशपकी प्रोप्राइटर भलाद्मी महिलाले बुझेको के मात्रै भने, ति ढलपल गर्दै गरेका भद्र पुरुष नागरिकताविहिन नागरिक हुन्। बाउले सही नगर्दिएर नागरिकता नपाएका रहेछन् भन्ने कुरा बुझ्न प्रोप्राइटरज्युको न चेतनाले भ्यायो, न फुर्सदले।

वर्कशपको ठ्याक्कै बाहिर थ्याच्च बसिरहेकी अनुहार नपरेकी अधबैंसे महिला ‘क्रान्ति’मा हराएको छोरा खोज्न विन्टरचोकमा आएकी हुन्। उनको निधार र गालामा देखिएका रेखाहरुले नै भन्छन् कि विन्टरचोकमा झरेको निकै साल भइसक्यो र अब छोरालाई होइन, उनले अब आफैंलाई भेट्ने छैनन्।

अब त्यहाँबाट थोरै बाहिर निस्किउँ। गल्छेडोबाट निस्केर दायाँपट्टि मध्यमवर्गीयहरुको जुत्ता टल्काउँदै जुत्ता धनीलाई उच्चवर्गीय बनाइरहेको ‘कफी वर्ण’को किशोरलाई उच्चवर्गीय बनिसकेपछि जुत्ता धनी ज्यालामा किचकिच गरिरहेको छ । यो र यस्ता केही लाख चित्रको बयान गरेर हजार शाखा भएका गैरसरकारी संस्थाका प्रमुखले त गर्न सक्दैनन् म के सकूँला?

तर यसका बाबजुद पनि विन्टरचोक गुल्जार छ।

हो, विन्टरचोक बडा गुल्जार छ। गुल्जार के अर्थमा भने विन्टरचोकमा अचेल गर्मी छ। यो हिउँदमा कसरी गर्मी? Continue reading

किन कागजमा हेरेर भाषण गर्छन् हाम्रा प्रधानमन्त्री?

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा छन्। यसै सिलसिलामा आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री देउवा एउटै मन्चमा उभिएर संयुक्त पत्रकार सम्मेलन गरे। दुवैले आआफ्नो भागको मन्तव्य दिए। औपचारिक भ्रमणका क्रममा हुने थुप्रै कार्यक्रममध्ये यो एउटा नियमित कार्यक्रम हो।

तर पत्रकार सम्मेलनको भिडियो हेर्नुभएको भए तपाईंमध्ये कतिपयलाई लाग्न सक्छ, भारतका प्रधानमन्त्रीले धाराप्रवाह मन्तव्य दिंदा नेपालका प्रधानमन्त्रीले चाहिं किन कागजमा हेरेर मन्तव्य दिएका होलान् ? नेपालका प्रधानमन्त्रीले मोदीले जस्तो किन बोल्न सक्दैनन् ?

 

Continue reading

दुष्यन्त कुमारका दुई कविता नेपालीमा

दुष्यन्त कुमार भारतीय साहित्यमा एउटा प्रसिध्द नाम हो। उनका जोडदार कविता र गजलहरुका कारण उनी भारत र भारतीय  साहित्यका पाठकहरुमाझ परिचित छन्। उनका कविता र गजलहरुको पारखी म पनि हुँ। उनका रचनाहरु हिन्दीमै पढ्दा वा सुन्दाको मजा त अरु भाषामा के होला र? तर पनि नेपालीमा कस्तो सुनिन्छ त भनेर उनका दुई छोटा कविताहरु अनुवाद गरी हेरें। ठिकै लाग्यो र यता तपाईंको लागि पनि राखें है त।

धर्म

तेजसँग एउटा पीडा

मनमा जाग्यो

मैले त्यसलाई पिइदिएँ,

एउटा सानो खुशी

ओंठसम्म आइपुग्यो

मैले त्यसलाई फैलाइदिएँ,

मलाई खूब सन्तोष भयो

र लाग्यो

हरेक सानोलाई

ठूलो बनाउनु नै धर्म हो।

*******

यस्तो किन ?

हरेक फुलेका नशाको मालिसको अभ्यास

रोकिंदै रोकिंदै हिंड्ने अभ्यास

शितलमा अल्झिने बानी

यस्तो किन ?

जतिसुकै बेला मनमा एउटा जलन

उल्टो उल्टो चाल-चलन

शिरदेखि पाउसम्म क्षतविक्षत

यस्तो किन ?

जीवनको दर्शनमा दिन-रात

पण्डित विद्वानहरुको जस्तो कुरा

तर मुर्खको जस्तो व्यहोरा

यस्तो किन ?

यस्तो एउटा समय थियो

कविता

एउटा यस्तो समय थियो

एउटा धारिलो कविताको प्रहारले

मरणासन्न भएको क्रुर शासकले

आफ्नो सारा सेनाबेना लगायो

र पक्रिएर कविलाई कोच्यो झ्यालखानामा।

कस्को सुराक थियो कवि?

कस्को भरौटे थियो कवि?

छानविन भयो, खोजीविन भयो

महिनौ कविकै भयो सोधपुछ

कुटिरहन्थे प्युसाहरु

डामिरहन्थे प्युसाहरु

तर शक्तिले क्षीण हुन्जेल

कवि चुपचाप रातभरि गम्थ्यो

कवि चुपचाप दिनभरि गम्थ्यो

र भित्ताभरि सकसमा लेख्थ्यो

रगतले त्यहि एउटा धारिलो कविता।

Continue reading

भिमे – ३

पूर्वाख्यान:

तपाईंले निकैअघि भिमेको कथा पढ्नुभएको छैन भने यहाँ सुनाउन खोजिएको कथा पूरा नलाग्न सक्छ। तर यो आफैंमा छुट्टै कथाको रुपमा बुझ्नुभयो भने पनि म केहि भन्दिनँ। आखिर हामी टुक्रा-टुक्रामै रमाउन पनि सक्छौं। जिन्दगीमा यस्ता टुक्रे कथाहरु हामीले धेरै सुनेका छौं र त्यसैमा हामी खुशी पनि भएका छौं।

तर फुर्सद भएसम्म  भिमे – १ र भिमे – २ पढ्नुभयो भने यो कथा पढ्नुको अौचित्य साध्य हुन्थ्यो र यो खासमा झुरै भए पनि त्यति झुर कथा लाग्ने छैन।

त त्योबेला जसरी भिमे गायब भयो त्यो भिमेसँगै पढ्दै गरेका हाम्रा लागि चिन्ताको विषय त थिएन तर अचम्म लागेको विषय त पक्कै थियो। निकैपछि मैले भिमे गायब हुनुको कारण त पत्ता लगाएँ तर त्यसमा अझै म विश्वस्त चाहिं हुन सकिनँ।

त्योबेलाको घटना एक लाइनमा तपाईंलाई बताउनुपर्दा भएको चाहिं के थियो भने भिमेले उसको बाउ इनार खन्न गएको घरमा घरबेटी चक्रलाल र उसकी अर्धाङ्गिनीलाई साबेलले बजाएर भिमे भागेको थियो र त्यसपछि भिमे कहिल्यै फर्केन।

अब आउनुस् भिमेले किन साबेलले बजायो चक्रलाललाई? त्यसबारे चर्चा गरौं।

भिमेले चक्रलाल र उसकी स्वास्नीलाई मात्र साबेलले हिर्काएको होइन, भिमेकै बाउ निमबहादुरलाई पनि साबेलले बजाइएको थियो तर निमबहादुरलाई भिमेले नै हिर्काएको हो कि होइन भन्ने चाहिं खुल्न निकै कठिन पर्‍यो।bhime bepatta

Continue reading

हाम्रो शत्रुलाई परास्त कसरी गर्ने?

डर मानिसको सबैभन्दा ठूलो शत्रु हो। तर डर नभएको मानिस हुँदैन। हरेक व्यक्तिमा कुनै न कुनै कुराको डर हुन्छ। प्रकट हुनु नहुनु फरक कुरा हो।

मानिसहरुको सामू बोल्नुपर्दा लाग्ने डर धेरैमा हुने डरमध्येको एउटा हो। त्यसैले त कतिपय अध्येताहरु डरलाई संसारकै सबैभन्दा धेरै मानिसमा हुने डरको रुपमा व्याख्या गर्दछन्। कतिपयले यसलाई मृत्युदेखिको डरभन्दा पनि ठूलो डर भन्दछन्। यहि डरका कारण धेरै मानिसले आफुले अपेक्षा गरेको प्रगति हासिल गर्न सकिरहेका हुँदैनन्। डर सामान्य र स्वभाविक कुरा हो तर यसको परिणाम असामान्य र अस्वभाविक हुन सक्दछ। त्यसैले प्रगतिका लागि वा सफलताका लागि डरलाई नियन्त्रण गर्नु आवश्यक हुन्छ।

‘मास’को अगाडि बोल्नुपर्दा लाग्ने डर नियन्त्रण गर्न सकिने कुरा हो। निरन्तरको अभ्यासले डरलाई नियन्त्रण गर्न सकिन्छ। तरिका मिलाएर अभ्यास गर्ने हो भने यो डर नियन्त्रण गर्न धेरै समय पनि लाग्दैन।

पब्लिक स्पीकिङ् (भाषण कला) बारे तालिम दिन जुनसुकै खालको समूहमा पुग्दा पनि अधिकांसले सोध्ने प्रश्न नै डरसँग सम्बन्धित हुन्छ।

यसभन्दा अघि मैले भाषणको सुरुवात कसरी गर्दा प्रभावकारी हुन्छ भन्नेबारे केहि भिडियो तयार पारेर देखाएको थिएँ। त्यसपछि मैले केहि भिडियो यहि डर कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेबारेमा तयार पारेको छु।  Continue reading