साेध्नु छ

कविता

सोध्नु थियो केही कुरा
जस्तो कि
माटाका घर बनाउँदै खेल्दै थिए साना नानीहरू
एउटा गाडी सातो फेर्दै आयो र गयो नानीहरू तर्साएर
त्यो बत्तिएर भर्खरै गएको चिल्लो गाडी कसको हो ?
गाडीमा फरफराएको त्यो रातो झन्डा कसको हो ?

सोध्नु थियो यस्तै–यस्तै
यो फुस्रो बाटो कसको हो ?
जुन बाटोमा भर्खरै गाडीले कुल्चेर
धुजाधुजा भयो एउटा कालो झन्डाको बिँड
एउटा पुरानो ढाका टोपी
र एउटा भर्खरको सपना
ती झन्डा र टोपी कसका हुन् ?
बाटोबाटै उफ्रिँदै हिँडेको
त्यो फुच्चे सपना कसको थियो ?

भर्खरै सुनेको थिएँ
युट्युबमा भाइरल एउटा पुरानो भिडियोमा
कसैको चर्को आवाज
घरी मान्छेको कसम खान्थ्यो
घरी देशको कसम खान्थ्यो
बुरुकबुरुक गर्दै भाषण गथ्र्यो
कविताको भाकामा देश बनाउँछु भन्थ्यो
त्यो भाषणमा चलेको कलम कसको हो ?
ताली नबजाउनेलाई चोरी औँला ठड्याउने
त्यो हात कसको हो ?

टिभीमा दैनिक देखिन्छ, आजभोलि उही रंगीन फोटो
आँखीभौँ खुम्च्याएर नाटक गरिरहन्छ फोटोको मान्छे
ओठ लेप्य्राएर गिज्याइरहन्छ
नाक खुम्च्याउँदै गाली गरिरहन्छ
देउतै भएजस्तो हावभाव गर्ने त्यो फोटो कसको हो ?

सोध्नु छ केही कुरा
जस्तो कि
एउटै औँठाछाप भेटिन्छ
घोटालाका फर्जी कागजातमा
र अकारण घोक्रेठ्याक सहेका निमुखाको कठालोमा
त्यो औँठाछाप कसको हो ?
एउटै रापले पोल्छ
पासपोर्टको लाइनमा बसेको युवकलाई
र डिएनए परीक्षणको रिपोर्ट समाएकी युवतीलाई
त्यो राप कसको हो ?

हुन त
भुइँमान्छेलाई बादलको बुई चढेर
‘चुप लाग’ भन्ने क्रूर समय छ
तैपनि,
सोध्नु त छ अझै केही कुराहरू जसरी पनि
जस्तो कि
अरिंगालले मात्रै गुँड लाउने
त्यो दरबार कसको हो ?
घन्टाघरमा घन्ट बजेजस्तो
‘हाम्रो सरकार–हाम्रो सरकार’ भन्दै
दरबारमा यो जुन नारा लाग्छ घन्टाघन्टा
त्यो सरकार कसको हो ?

२२ मंसिर २०७५ मा नयाँ पत्रिका दैनिकमा प्रकाशित

Advertisements

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s