प्रश्नमाथि शंका

सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग अन्तर्वार्ता गरिएको सरकारी स्वामित्वको नेपाल टेलिभिजनमा प्रसारित एक टेलिभिजन कार्यक्रम बन्द भएको विषयले यो साता खुबै चर्चा पायो । केही ‘कडा’ प्रश्न सोधिएको कारण सञ्चारमन्त्री बाँस्कोटाको ठाडो आदेशमा कार्यक्रम ‘बन्द गरियो’ भन्ने प्रचारमा आयो ।

टेलिभिजन प्रशासनले आन्तरिक कारणले कार्यक्रम बन्द भएको हो भन्ने प्रस्टीकरण दिइरहँदा पत्रकारको प्रश्न सोध्ने अधिकार सुरक्षित भएन भन्नेहरू र प्रश्न सोध्ने पत्रकारको नियत नै ठीक भएन भन्नेहरूबीच जुहारी नै चल्यो ।

नेपाली पत्रकारितामा ठीक प्रश्न सोधियो वा सोधिएन भन्नेभन्दा पनि कसले सोध्यो, कहाँ सोध्यो, किन सोध्यो भन्ने जस्ता कुराले महत्व पाउँदै आएको छ । जब कि प्रश्न सही सोधियो वा गत सोधियो भन्ने विषय महत्वपुर्ण हुनुपर्ने हो। तर विडम्बना, हाम्रो बहसको बाटो नै फरक छ ।

प्रश्नमाथिको अधिकार

लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेकै प्रश्नको अधिकार हो । लोकतन्त्रमा प्रश्न गर्न पाइन्छ । आफूले जान्न चाहेका विषयमा सत्तामा रहेकाहरूसँग होस् वा प्रतिपक्षमा रहेकाहरूसँग सोध्न पाइन्छ । खासमा लोकतन्त्रलाई ‘लोकको तन्त्र’ बनाउने पनि लोकले गर्न पाउने प्रश्नले नै हो । प्रश्नै सोध्न नपाइने व्यवस्थालाई लोकतन्त्र भनिँदैन, त्यसलाई निरंकुशता, अधिनायकवाद वा त्यस्तै केही नाम दिइन्छ ।

Roopesh-shrestha-_-enayapatrika-768x366

नागरिकले सधैँ प्रश्न सोध्ने समय, अवसर र अवस्था नहुने भएको हुँदा लोकको प्रश्न सोधिदिने र जवाफ मागिदिने काम पत्रकारिताले गर्छ । त्यसैले लोकतन्त्रमा प्रेस र प्रकाशनको स्वतन्त्रताको अधिकारलाई स्थापित गरिएको हुन्छ । त्यसकै आधारमा मिडियालाई राज्यको चौथो अंग पनि भनिन्छ । कल्पना गरौँ, यदि मिडियाले प्रश्न सोधिदिएन भने के हुन्छ ?

लोकतन्त्रमा खुला संवाद र बहस

स्वतन्त्र प्रेस त्यस्तो प्रेसलाई भनिन्छ जसले प्रश्न सोध्ने अधिकार आफूसँग राख्छ र निरन्तर प्रश्न सोधिरहन्छ । यस्तो अधिकार राज्यले प्रेसका लागि सुरक्षित गर्नुपर्ने लोकतान्त्रिक शासन व्यवस्थाको कर्तव्य हो ।

आफूलाई विश्वकै सबैभन्दा ठूलो लोकतन्त्र मान्ने भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीले एक समय भनेका थिए, ‘राष्ट्र र लोकतान्त्रिक समाजलाई जोगाइराख्ने आधार भनेको शक्तिमा रहेकाहरूलाई प्रश्न सोध्नु हो । यदि आफ्नोबाहेकका आवाज र प्रश्नहरूलाई दमन गर्ने प्रयत्न गरिन्छ भने लोकतन्त्र कमजोर हुनेछ ।’

नेपाली सन्दर्भमा पनि राजनीतिक नेतृत्वले नागरिक र प्रेसको प्रश्न सोध्ने अधिकार रक्षाका लागि बारम्बार प्रतिबद्धता जनाउने गरेकै हुन् । गत चैतमा राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यममाथि सरकारले अनुचित थिचोमिथो गर्छ भन्ने भ्रमको पछि नलाग्न अनुरोध गरे ।

वाम सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षा गर्न प्रतिबद्ध रहेको बताए । देशको संविधानले समेत व्यवस्था गरेको यस्तो अधिकारको प्रयोगबाटै लोकतन्त्र वास्तविक अर्थमा नागरिकको हितमा स्थापित हुन सक्ने हो । फेरि लोकतन्त्र भनेको एकोहोरो हुनै सक्दैन, यो दोहोरो हुन्छ । खुला संवाद र बहसले लोकतन्त्रलाई दोहोरो बनाउँछ ।

यसैका आधारमा भन्ने हो भने सत्तामा जोसुकै होस्, सरकार जति नै ठूलो वा शक्तिशाली होस्, नागरिक वा प्रेसको प्रश्न सोध्ने अधिकार कुण्ठित हुनु हुँदैन । प्रश्न सोध्ने अधिकारले नै सत्तालाई नागरिकप्रति उत्तरदायी बनाउँछ । यसको अर्थ के पनि हो भने नागरिकप्रति उत्तरदायी र जिम्मेवार शक्तिले नागरिकले उठाएका हरेक प्रश्नको जवाफ दिन्छ । यदि सत्ताले जवाफ दिन आवश्यक ठान्दैन भने त्यो सत्ताको अस्तित्व लामो समय टिक्न सक्दैन ।

हरेक प्रश्नको जवाफ दिनु आवश्यक छ ?

त्यसो भए के नागरिकको हवाला दिँदै सोधिने हरेक प्रश्नको जवाफ दिइरहनु आवश्यक छ त ? ‘ऐरे गैरे नथ्थु खैरे’ ले सोध्ने प्रश्नको जवाफ पनि राज्यले दिनुपर्छ ? अघि नै भनिसकियो, प्रश्न जसले पनि सोध्न पाउँछ र त्यसको जवाफ दिनु लोकतान्त्रिक व्यवस्था भएको मुलुक हाँक्ने सरकारको जिम्मेवारी हो ।

नागरिक र पत्रकारले गर्ने प्रश्नमाथि नै यदि राज्यले प्रश्न र शंका गर्छ भने त्यसको अर्थ हो, राज्य जनउत्तरदायी छैन । राज्य कुनै प्रश्नदेखि भाग्छ वा प्रश्न सोध्नेमाथि आक्रामक रूपमा प्रस्तुत हुन्छ भने उसको चरित्र लोकतान्त्रिक छैन भन्ने बुझ्नुपर्छ । आफ्ना काम–कारबाही र आचरणमाथि आउने प्रश्नलाई ढाकछोप गर्ने, दिनुपर्ने जवाफ लुकाउनेलगायत काम गर्नु लोकतान्त्रिक चरित्र होइन ।

राज्यले वा शक्तिमा हुनेहरूले आफूलाई कुन प्रश्न सोध्ने भन्ने आफूले निर्धारण गर्न पाउँदैनन् र कुन प्रश्न गलत भनेर निर्णय सुनाउने पनि उनीहरू होइनन्, जबसम्म प्रश्न वस्तुनिष्ठ हुन्छन् । जर्मन दार्शनिक फ्रेडरिक नित्सेले भनेका छन्, ‘तिमी तिनै प्रश्नहरू सुन्नेछौ, जुन प्रश्नका जवाफ दिन र खोज्न तिमी लायक छौ ।’

फेरि प्रेस त सधैँको प्रतिपक्ष हो, सरकारमा जुनसुकै दल आओस्, उसले आधारभूत रूपमा कमजोरी र गल्तीमाथि नै प्रश्न उठाउने हो । त्यसैले शक्ति पृथकीकरणको सिद्धान्तअनुसार नै कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका लागि वाचडगको भूमिका निर्वाह गर्न प्रेसलाई सम्मानका साथ राज्यको चौथो अंग भनिएको हो । राज्यलाई यसरी प्रेसले प्रश्न गरिरहँदा प्रश्नकर्ताको आस्थाका आधारमा प्रहार गर्नु नीतिसंगत हुँदैन ।

राज्यमाथिको विश्वसनीयता

यो विषय माथि उल्लेख गरिएको टेलिभिजन कार्यक्रमसँग मात्रै सम्बन्धित होइन । प्रेसले सोध्ने प्रश्नका आधारमा पत्रकार र प्रेसमाथि विभिन्न आक्षेप लगाउने र प्रेसमाथि प्रहार गर्ने काम यसअघि पनि नभएका होइनन् ।

धेरैपटक पत्रकार र सञ्चार संस्थामाथि उनीहरूले गरेका प्रश्नकै आधारमा कित्ताकाट गर्ने र आक्रमण गर्ने प्रयास राज्यबाट र सडकबाट भएका छन् । तर, प्रश्न सोध्ने अधिकारको समुचित उपयोगबाट मात्रै नागरिकको मौलिक हकका रूपमा स्थापित अभिव्यक्तिको स्वतन्त्रताको महत्व बढ्छ ।

प्रश्न कसले सोधिरहेको छ भन्ने त्यति महत्वको कुरा हुँदै होइन । महत्वपूर्ण कुरा त प्रश्न कति वस्तुनिष्ठ र तथ्यमा आधारित छ भन्ने हो । नागरिकले प्रश्न सोधिरहँदा सधैँ वस्तुनिष्ठ नहुन सक्छ, तथ्यपरक नहुन सक्छ । नागरिक भावनामा बग्न स्वतन्त्र हुन्छन् । तर, प्रेसलाई त्यो छुट छैन ।

सरकारको महत्वपूर्ण पद र जिम्मेवारीमा रहेका वा सार्वजनिक ओहदामा रहेकाहरूका क्रियाकलाप र गतिविधि नागरिकको सरोकारका विषय हुन् । यस्ता विषयमा नागरिकले जान्न–बुझ्न पाउनुपर्छ । यस्तो विषयमा प्रमाण र तथ्यका आधारमा सोधिएका प्रश्न गलत हुन सक्दैनन् । यस्ता प्रश्नको बुद्धिमत्तापूर्ण र जिम्मेवारीपूर्वक जवाफ दिन सक्दा राज्य आफैँ विश्वसनीय बन्ने हो ।

असल नेतृत्वको गुण

अर्कातिर, असल नेतृत्वले आफूलाई गरिएका प्रश्न गलत छन् भने प्रश्नकर्तालाई सही प्रश्न र विषयतर्फ डोहो¥याउन सक्छ । विषयान्तर गर्ने सामथ्र्य असल नेतृत्वको गुण हो, जुन नेतृत्वले अनावश्यक र असान्दर्भिक ठानेका वा लागेका विषयमा गलफती गरेर बस्दैन । असल नेतृत्व उत्तरदायी हुन्छ, झगडिया हुँदैन ।

यति हुँदाहुँदै पनि समग्र नेपाली मिडियाले सोधिरहेका प्रश्न सही छन् कि छैनन् भन्ने विषयमा भने मिडियाले आत्ममूल्यांकन गर्नु जरुरी छ । हामीले सोधिरहेका प्रश्नले बृहत्तर समुदायको प्रश्नको प्रतिनिधित्व गर्छ कि गर्दैन ? बहसमा आउनुपर्ने विषय उठिरहेका छन् कि छैनन् ?

वा हामीले सोधिरहेका प्रश्नले कुनै दल वा समूहविशेषको स्वार्थ र कुण्ठा मात्रै बोकिरहेको त छैन ? यसबारे मिडिया आफैँ चनाखो हुनुपर्छ । व्यावसायिक पत्रकारिताको रक्षा र उत्थानका लागि भन्दै दलहरूको छायामा चलिरहेका पत्रकारका संघ–संगठनले यसबारे गम्भीर रूपमा सोच्नुपर्छ ।

भनिन्छ, महाभारतमा अर्जुनले ठीक र शक्तिशाली प्रश्नहरू नगरेको भए सनातन हिन्दू धर्मको सबैभन्दा ठूलो ग्रन्थ भागवत गीताको जन्म नै हुने थिएन । अर्जुनका सही प्रश्नका कारण नै कृष्णले जीवनजगत्माथि त्यति गहन जवाफ दिन सके ।

पत्रकारिताको कुरा गर्दा राजनीतिक नेतृत्वलाई सोधिने त्यस्तो प्रश्न कहिल्यै गलत हुँदैन । जसले जनताको चासो, विधि र प्रक्रियाको विषयलाई उठाउँछ । यसो भनिरहँदा प्रश्न गर्ने विषयमै नेपाली पत्रकार विभाजित हुनु भने दुर्भाग्यपूर्ण हो ।

नागरिकप्रति जवाफदेहिता र प्रश्न

नागरिकप्रति जवाफदेही हुनुपर्ने शक्तिलाई प्रश्न गर्ने पत्रकारको सांगठनिक संलग्नतालाई आधार बनाएर उसमाथि शंका गर्नु र उसको कामलाई नै नियोजित मान्नु पत्रकारिताका लागि सुखद पक्ष होइन । त्यसरी सोच्ने हो भने निष्पक्ष रूपमा व्यावसायिक धर्म निर्वाह गरिरहेका सारा पत्रकारले गरिरहेको कामको अवमूल्यन हुन जान्छ ।

राजनीतिक आस्थामा आधारित संगठनमा पत्रकारको संलग्नतामाथिको बहस एकातिर छँदै छ, त्यस्ता संगठन आफैँमा कति व्यावसायिक र निष्पक्ष छन् भन्ने आफैँमा अर्को प्रश्न हो । तर, पत्रकारले निर्वाह गरिरहेको भूमिकाको मूल्यांकन हुनु अन्यायपूर्ण हुन्छ ।

मूल कुरा, फेरि पनि पत्रकारले पत्रकारिताका आधारभूत मूल्य र सिद्धान्तको परिपालना गरेको छ कि छैन भन्ने नै हो । आफूलाई स्वतन्त्र मान्ने पत्रकार र व्यावसायिक मान्ने मिडियाले आज कसैको प्रश्न र आवाजमाथि अंकुश लगाउँदै छ भने भविष्यमा जोकसैको आवाज पनि दबिन सक्छ ।

नेपालजस्तो राजनीतिक संक्रमणबाट बल्लबल्ल मुक्त हुँदै गरेको र आदर्श राजनीति फगत नाराको विषय बनिरहेको मुलुकमा आफ्ना निहित स्वार्थ र प्रचारका लागि मिडिया र पत्रकारलाई परिचालित गर्न राजनीतिक नेतृत्वले चाहिरहन्छ ।

स्वार्थसिद्ध भइसकेपछिको अवस्था के हुन्छ, हामीले भलिभाँती देखेकै छौँ, कतिपय त भुक्तभोगी पनि छौँ । कुनै पत्रकार र मिडियामाथि आक्षेप लगाइरहँदा त्यो आक्षेप कति नागरिकपक्षीय छ भन्ने बुझ्न सकिएन भने पत्रकारितामाथि रहेको नागरिकको विश्वास उठ्न धेरै समय लाग्दैन । जब लोकतन्त्रको अक्सिजन मानिने पत्रकारितामाथि नागरिकको विश्वास गुम्छ निश्चय नै त्यसले लोकतन्त्रलाई नै खतरामा पार्छ ।

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s