कस्तो विद्यालय ? कस्तो शिक्षा ?

Education-Graphics-5acd84289ada77.24598551

स्कुलहरूमा नयाँ भर्नाको मौसम सुरु हुँदैछ। ‘नवीनतम र आधुनिक तथा विश्वस्तरीय शिक्षा’ को नारा लिएर आउने मौसमी विज्ञापनहरूले अबको केही महिना हाम्रा कान पाक्नेछन्। अभिभावकहरूले विभिन्न नाम चलेका र जबर्जस्ती नाम चलाउन खोजिएका स्कुलमा आफ्ना केटाकेटीलाई दसैं बजारमा खसीबोका जोखेजस्तो जोख्न लैजानेछन्। पैसा र पावर दुवै भएका अभिभावकले जसरीतसरी तौल पुर्‍याउनेछन् र छाती फुकाएर निस्कनेछन्। खल्तीमा पैसा नभएका र पावरका नाउँमा ‘जनसम्पर्क’ नभएका अभिभावक निन्याउरो मुख लगाएर फर्किनेछन् र छोराछोरीलाई घरनजिकको स्कुलमै पढाउनुपर्ने वकालतमा उत्रिनेछन्।

अमेरिकाका मुस्लिम नेता माल्कम एक्सले भनेका थिए, ‘तपाईंहरूसँग विद्यालय र विश्वविद्यालय छ भन्दैमा तपाईंहरूसँग शिक्षा पनि छ भन्ने अर्थ लाग्दैन।’

हाम्रोमा प्रवेशिका परीक्षाको परिणामकै आधारमा विद्यालयहरूको ‘रेटिङ’ हुने गरेको छ। ‘सर्वोत्कृष्ट नतिजाका साथमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल’ वाला रेडियो–टीभी विज्ञापनमा म आफैंले पनि धेरैपटक आवाज दिएको छु। त्यसबाहेक विद्यालय भवनलगायतका भौतिक पूर्वाधार, त्यसको सञ्चालक समितिको सूचीमा रहने दुईचार ठूला नाम अनि विद्यालयले लिने शुल्कजस्ता आधारमा पनि विद्यालय कति राम्रो भन्ने ठहर गर्ने गरिन्छ। कस्तो विद्यालय राम्रो र कस्तो शिक्षा राम्रो ? विद्यार्थी भर्नाको यो मौसममा नित्यकर्मजस्तो यो विषयमा बहस पनि हुन्छ। कस्तो विद्यालय राम्रो र कस्तो शिक्षा राम्रो भन्नेबारे बहस गर्न देशभरि हजारौं विद्वान् छन् र युगौंसम्म यो बहस चलि पनि रहला।

सम्बन्धित तर अलिक फरक प्रसंग कोट्याऔं।

एकजना सहपाठी मित्र थिए, स्कुल पढुन्जेल ‘नेभर सेकेन्ड’। उनका बुबाआमा, विद्यालय र हामी सहपाठी भइखाएकाले पनि उनीबाट निकै आशा गरेका थियौं। प्रवेशिका परीक्षामा उत्कृष्ट नतिजा ल्याएसँगै काठमाडौंका सबैजसो नाम चलेका कलेजले उनलाई पूर्ण छात्रवृत्ति दिन उत्सुक देखिए। त्यसमध्ये एउटामा उनी दाखिल भए। ११ कक्षा पूरा नहुँदै बेलायती एक विश्वविद्यालयमा पूर्ण छात्रवृत्ति पाएपछि ती मित्र विश्वस्तरीय विश्वविद्यालयमा ‘मेडिसिन’ पढ्ने र नेपाल फर्केर देशको सेवा गर्ने उद्देश्यसहित उडे। किशोरावस्थाको उद्देश्य जे भए पनि अहिले बेलायतमा उनको गजबको कमाउ पेसा छ। सहपाठी हामीलाई कताकता ईष्र्या पनि लाग्छ। केही वर्षअघि विवाह गर्नका लागि नेपाल आउँदा उनले नेपाल नागरिकता त्यागे। ती मित्र विदेश भास्सिनुमा व्यक्तिगत कारण आफ्नै ठाउँमा होलान्। मलाई भने लाग्यो, हाम्रा विद्यालयहरूले ‘ब्रिलियन्ट विद्यार्थी’ त उत्पादन गरेका छन् तर ‘ब्रिलियन्ट नागरिक’ उत्पादन गरेका छैनन्। सम्भवतः हाम्रा विश्वविद्यालयको अवस्था पनि उही हो।

शिक्षाको पश्चिमा शैलीलाई अपनाइरहेका हामीलाई पनि प्रस्ट हुने गरी पश्चिमकै एक शिक्षाविद्को भनाइ यहाँ सान्दर्भिक हुन्छ। ‘खासमा विद्यालयले नियम पालना कसरी गर्ने भन्नेबाहेक अरू केही सिकाउँदैनन्।’ जोन टेलर नामक अमेरिकी लेखकको भनाइ अझ रोचक छ, ‘हाम्रा विद्यालयको शिक्षा दिने शैली कस्तो छ भने कुनै विद्यार्थीले दत्तचित्त भएर कविता लेखिरहेको बेला विद्यालयको घन्टी बज्यो भने उसले चुपचाप आफ्नो कापी बन्द गर्नुपर्छ र अर्को विषयको किताब निकाल्नुपर्छ वा अर्को कोठामा प्रवेश गर्नुपर्छ।’

हामीले पढेको विद्यालय यस्तै हुन्। हाम्रा नानीले पढिरहेको विद्यालय पनि यस्तै छन्। यस्तै परम्परामा पढेका साढे चार लाख विद्यार्थीले भर्खरै प्रवेशिका परीक्षा दिइसकेका छन्। प्रवेशिका परीक्षा दिएका विद्यार्थी अहिले खुब रमाइलो गर्दैछन् मानौं उनीहरूले वर्षौंसम्मको बन्दी जीवनबाट उन्मुक्ति पाएका छन्। १० कक्षा प्रवेश गरेपछि उसको काँधमा अभिभावकको मात्र नभई विद्यालयको ‘इज्जत’ को पनि भारी थपिएको हुन्छ।

परीक्षामा उसको नतिजाले विद्यालयको आउने वर्षको व्यापार नै प्रभावित हुन्छ। त्यहीकारण इज्जत र किताबको भारी बोकेर बिहान सबेरैदेखि राति अबेरसम्म घर–स्कुल गर्नमा उसको एक युगबराबरको वर्ष दिन बित्छ। यसबीचमा जोन टेलरको भनाइजस्तै ती लाखौं विद्यार्थीले सिर्जना गर्न गालेका आफ्नै कति कथा र कविता विद्यालयको घन्टीले अपूरा भए होलान्, थाहा छैन। यही बीचमा अब आउनेछ परीक्षाको ‘वर्गीकृत’ नतिजा। त्यही नतिजाको आधारमा विद्यालय, परिवार र वरिपरिको समाजले उसको भविष्यको ‘वर्ग’ किटान गरिदिन्छ।

विद्यालयबाट ‘वर्गीकृत’ नतिजाको प्रमाणपत्र लिएर माथि चढ्ने विद्यार्थीको सोच पनि ‘वर्गीकृत’ नै बनेको हुन्छ। १३ वर्षको विद्यालय शिक्षाले गरिदिएको वर्गीकरणकै कारण उसले सोच्ने र सोध्ने हिम्मत गुमाइसकेको हुन्छ। हुन त हाम्रो परम्परागत शिक्षा र परीक्षण प्रणाली युगौंदेखि उही त छ, एकै प्रणालीबाट आएको अघिल्लो पुस्ता सबल र नयाँ पुस्ता कमसल कसरी हुन्छ भन्ने प्रश्न पनि होला। तर हरेक पुस्ता र हरेक युगमा सोच्नुपर्ने र सोध्नुपर्ने प्रश्न नवीन र फरक हुन्छन्।

हरेक जेठो पुस्ताले आफूभन्दा कान्छो पुस्ताको क्षमतालाई नजरअन्दाज गरिरहेको हुन्छ। भनिन्छ, ‘पुरानो पुस्तालाई अनुभवको धाक हुन्छ। नयाँ पुस्तासँग नवीन ढंगले सोच्ने क्षमताको अभिमान हुन्छ।’ यथार्थ भने यसको विपरीत छ। हरेक नयाँ पुस्ता भविष्यको शक्ति सञ्चालक हो, भविष्यको संसार उसको काँधमा हुन्छ, यही नयाँ पुस्ताबाट भविष्यको नेता जन्मिने हो र यही नयाँ पुस्ताले सृष्टि सञ्चालनको अभिभारा ढिलोचाँडो बोक्नेछ।

आजको मानिसले भन्दा जति भोलिको मानिसले नवीन र सिर्जनशील ढंगले सोच्न सक्छ, त्यति नै संसार सुन्दर हुँदै जानेछ। यसो भनिरहँदा विद्यालयमा विद्यार्थीले पढिरहेका पाठ्यक्रमले नयाँ सोच्न सिकाउँछ कि सिकाउँदैन त ? मलाई लाग्छ, वर्षौंदेखि पढाइँदै आएको पुस्तकको ठेलीले मात्रै नवीन सोच विकास गर्न सघाउँदैन। यसको पुष्टिको आधार के हो भने मेरा बुबाले पढेका कथाहरू र मैले पढेका कथाहरूमा खास भिन्नता छैन। न त त्यसका पाठको व्याख्या गर्ने तरिकामै धेरै विविधता छ। हरेक व्यक्तिको क्षमता र सीमितता फरक हुन्छ। समान पुस्तकका समान कथाको वाचनबाट फरकफरक क्षमताका विद्यार्थीको मनोविज्ञानको सम्बोधन हुन सक्दैन। त्यसो भए हरेक विद्यार्थीका लागि फरक पाठ्यक्रमको व्यवस्था गर्नुपर्ने हो त ? हुन पनि सक्छ।

परीक्षण पनि फरकफरक तरिकाले गर्ने हो त ? हुन पनि सक्छ। वैज्ञानिक शिक्षा प्रणाली भनेर हल्ला गर्नेहरूले बुझ्नुपर्ने के भने मस्तिष्कको सामान्य विज्ञान आधारभूत रूपमा समान भए पनि मस्तिष्कले सोच्ने र काम गर्ने विज्ञान भने व्यक्तिपिच्छे फरक र विशिष्ट हुन्छ।

पूर्वीनेपाललाई कर्मथलो बनाएका प्रख्यात कवि मनु मञ्जिलले एउटा बसाइमा भनेको सम्झिन्छु, ‘हामीले सोध्नै छोडेका छौं। लौ, सोध्न कठिन भयो होला, तर हामीले सोच्न पनि छोडेका छौं। देश नबनेको यही भएर त हो नि !’

एउटा उदाहरण पेस गरौं।

केही दिनअघि एउटा विद्यालयका प्रधानाध्यापकले आफ्ना स्कुलका अभिभावकका लागि दिएको प्रवचनको विज्ञापनमिश्रित भिडियो पठाउँदै मलाई फेसबुकमा भने, ‘माछा मारेर दिनेभन्दा माछा मार्ने कला सिकाउने शिक्षा हो यो।’

सानैदेखि सुनेको यस्तो उक्तिमा मलाई शंका लाग्यो। आजको शताब्दीमा जीविकाको प्रश्न ठूलो होइन। माछा मार्ने कला जान्नु भनेको जीविकाका लागि हो। आजको युगमा भौतिक अस्तित्वको प्रश्न पनि ठूलो होइन। आफैं माछा मारेर खाने सीप भौतिक अस्तित्वका लागि मात्रै हो। भिडियो हेरेपछि मैले प्रतिक्रिया जनाएँ, ‘अब माछा मार्ने कला सिकाउने होइन, माछा उत्पादन उद्यम गर्न सिकाउने शिक्षा चाहिन्छ।’

मैले जनाएको प्रतिक्रिया पूर्णतः सही नहुन सक्छ। तर सही बोध के हो भने आजको समय साँच्चै फरक छ। विद्यार्थी भर्नाको रेसमा कुदेका विद्यालय र तिनका पूज्य ‘गुरु’ हरूले बदलिएको यो समयलाई आत्मसात गर्नैपर्छ। स्मरण रहोस्, किताब पढाउने गुरुभन्दा जीवन पढाउने गुरु पूज्य हुन्छन्। इतिहास र उक्तिबाट पाठ सिकाउने शिक्षाभन्दा इतिहास र उक्ति सिर्जना गराउन सक्ने शिक्षा अब्बल हुन्छ।

२८ चैत २०७४ मा अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित

 

Advertisements

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s