हामीले सुन्ने र सुनाउने कथाहरु फेर्ने बेला भएन?

माघको अन्तिम शनिबार ३० वर्षमुनिका युवाहरुको एउटा राष्ट्रिय सञ्जालले आफ्नो वार्षिक सभामा मलाई ‘नयाँ उद्यमीहरुका लागि सञ्चार सीप’ विषयमा प्रस्तुति दिन बोलाएको थियो। युवाहरुका लागि विभिन्न तालिम गरिरहने भएकाले मेरा लागि यो अवसर पनि थियो।

चितवनको सभामा पुग्दा कार्यक्रमको उद्घाटन समारोह बल्ल सुरु हुँदै थियो। देशभरिबाट करिब ८ सय युवा सहभागी कार्यक्रममा मञ्चमा बोलाइएका करिब सबै ३० वर्ष हाराहारीकै थिए। मञ्चमा कार्यक्रम सञ्चालन गर्ने र बोलाइएका अतिथिहरुलाई खादा र फूलमाला लगाइदिने महिला थिए भने आसन ग्रहण गराइएका सबै जना पुरुष थिए। अर्थात् सम्मान गरेर बोलाउनेहरु सबै महिला, बोलाइएका चाहिँ पुरुष।

युवाहरुको कार्यक्रममा समेत यस्तो देख्दा मेरो पुरुष आँखालाई समेत खट्कियो। उद्घाटन समारोह सकिएपछि मेरो प्रस्तुति थियो। प्रस्तुतिको अन्त्यमा मैले मुखै फोरेर मञ्चबाटै आयोजकलाई भनिदिएँ– तपाईंहरु जेन्डर बायस्ड हुनुहुँदो रहेछ, मलाई राम्रो लागेन।

लैङ्गिक समताको जति चर्का कुरा गरिरहे पनि खासमा राजनीति होस् वा आर्थिक, कर्पोरेट होस् वा बौद्धिक, कुनै पनि क्षेत्रमा समतामूलक दृष्टिकोण राखिएको पाइँदैन। महिला सबलीकरण र समावेशीकरणका लागि निकै ठूलो लगानी भइरहेको हामीले हाम्रै वरिपरि देखेका छौं।

अखबारमा हरेक दिन महिला सहभागिता र सबलीकरणबारे एउटा न एउटा लेख प्रकाशित भइरहेकै छन्। सार्वजनिक रुपमा र कोठे भेलाहरुमा बहस र छलफल भइरहेकै छन्, पैसा खर्च भइरहेकै छ। त्यसले व्यवहारमा ल्याएको सकारात्मक परिवर्तन कति छ भन्नेबारे तपाईंलाई राम्रै जानकारी होला।

यो छोटो लेखमा सहभागिता र समावेशिताको वकालत गरिएको छैन। बरु हामीभित्र विभेदको बिउ कसरी रोपिएको छ भन्नेबारे केही कुरा राख्न खोजिएको छ। खासमा लैङ्गिक भूमिका र समताबारे हाम्रा सोच र व्यवहारहरु कसरी निर्माण भइरहेका छन् र आउने पुस्तामा तिनको बुझाइ र धारणा हामी कसरी हस्तान्तरण गरिरहेका छौं भन्नेबारे सानो दृष्टान्त यहाँ पेश गर्छु।

शनिबार शहरको एउटा राम्रै स्थापित विद्यालयको वार्षिक कार्यक्रमको दर्शक बन्ने मौका  मिल्यो। निकै व्यवस्थित रुपमा आयोजित कार्यक्रममा स्वाभाविक रुपमा विद्यालयका विद्यार्थीको नृत्य, गीत, नाटक लगायतका प्रस्तुतिहरु राखिएका थिए। कार्यक्रममा देखाइएका दुई वटा नाटकले मलाई अलि आकर्षित गर्‍यो। बालबालिकाका लागि घर पहिलो विद्यालय हो भन्ने मूल सन्देशसहितको नाटकमा असल परिवार र खराब परिवारबीचको फरक देखाइएको थियो।

स-साना केटाकेटीले बुबा, आमा, हजुरबुवा, हजुरआमा लगायतको भाँती पारेर गरेको अभिनयका कारण पनि नाटक हेर्नलायक थियो। तर, सँगसँगै विभेदपूर्ण सोचहरु कसरी पुस्तान्तरण भइरहेको छ भन्ने नाटकले मलाई बुझायो।

नाटकमा देखाइएका दुवै परिवारमा संयुक्त परिवार देखाइन्छ। बुबा, आमा, छोराबुहारी र नातिनातिनासहितको परिवार अनि दुवै परिवारमा एक जना काम गर्ने सहयोगी। पहिलो त त्यति धेरै सदस्य रहेको परिवारमा काम गर्ने सहयोगीको भूमिका देखाइएकोमा म छक्क परेँ।

अब मूल मुद्दामा कुरा गरौं।

असल परिवारका सबै सदस्यले एकै ठाउँ भेला भएर पूजा गरेर दिनको सुरुवात गर्छन्। त्यसपछि बिहानको चिया खाने समय हुन्छ। बुबाले चिया खाने इच्छा जाहेर गर्नेबित्तिकै काम गर्ने सहयोगीले चिया लिएर आउँछिन्। हो, यतिबेला नजानिदो तरिकाले देखिएको दृश्यमा परिवारको छोरा, बुबा-आमाको छेउमा सोफामा बसेर पत्रिका पढ्न थाल्छ र बुहारी भने चिया बाँड्न सघाउँछिन्। चिया सबैले पाइसकेपछि केटाकेटी किताब समाएर भुइँमा बसेका हुन्छन्। बुबा, आमा र छोरा सोफामा बसेका बेला बुहारी भने उभिइरहन्छिन्।

पूजापछि ‘हाम्रो सेवा गरेकोमा धन्यवाद’ भनेर टीका लगाइदिने सासूले बुहारीलाई ‘बस’ भन्दिनन्। बुहारी उभिएको उभियै हुन्छिन्। त्यसपछि केटाकेटीले पढ्न सिकाइमाग्छन्। छोराले केटाकेटी पढाउन थाल्छ, बुहारी भने सहयोगीलाई काम सघाउन भान्सातिर जान्छिन्।

खराब परिवारमा चाहिँ सदस्यहरुको पारा बेग्लै छ। बुहारीको बिहानैको एरोबिक्सको संगीतले सासू-ससुराको बिहानी प्रार्थनामा खलल पुग्छ। गुनासो गर्दा बुहारी भन्छिन्– ‘मलाई स्लिम हुनु छ।’ छोराले समर्थन जनाउँछ।

दृश्यमा संवादको निष्कर्ष अर्कै भए पनि ‘स्लिम हुनुपर्ने आवश्यकता’लाई भने स्थापित गर्छ। तर, त्यो अरुका लागि होइन, बुहारीका लागि मात्रै।

अर्को दृश्यमा बुबाको मुख हेर्ने दिन हुन्छ। दुवै परिवारमा छोराहरु र नातिनातिनाहरु बिहानै बुबाको मुख हेर्छन्। छोराहरु अफिस जान्छन्, नातिनातिनाहरु स्कुल।

यसपछिको सिलसिलाले फेरि झक्झक्याउँछ। घरका सबै आ-आफ्नो कर्ममा लागेपछि असल परिवारकी बुहारी भने घरधन्दा सकेर बुबाको मुख हेर्न सासू-ससुरासँग माइत जाने अनुमति मागेर हिँड्छिन्। उता खराब परिवारकी बुहारी भने सासू-ससुराका लागि खाना नपकाई माइत जान्छिन्।

मलाई यो दृश्यले किन झस्कायो भने, दुवै परिवारका छोराहरु बिहानै बुबाको मुख हेरेर अफिस जान्छन् भने बुहारीहरु भने आरामले माइत हिँड्छन्। खराब परिवारमा बुहारीले सासू-ससुरालाई खाना नखुवाई माइत हिँड्न लागेको कुराले केहीबेर कलहको स्थिति समेत उत्पन्न हुनुले नाटक रमाइलो त देखिन्छ, तर सँगसँगै तीतो पनि लाग्छ।

नाटकमा अरु थुप्रै दृश्य देखिन्छन्। तर, परिवारमा महिला, अझ विशेषगरी बुहारीको भूमिकालाई देखाइएको दृश्य देख्दा धेरैलाई सामान्य लाग्न सक्छ। कारण, समाजमा ‘चलेको’ त्यही छ। तर, नाटकमा देखाइएका त्यस्ता दृश्यले लैङ्गिक भूमिकाबारे युगौंदेखि स्थापित सोचलाई नै बल दिन्छ। जसका विरुद्ध महिलाहरु त्यति नै समयदेखि कुनै न कुनै रुपले संघर्ष गरिरहेका छन्।

कार्यक्रममा अर्को एउटा नाटक पनि देखाइयो, ‘मुसीको बिहे’। तपाईंले पढ्नुभएको भए याद हुनुपर्छ, संसारकै सबैभन्दा शक्तिशालीसँग मुसीको बिहे गराइदिने इच्छा मुसीका बाउआमाले राख्छन्। तर, अन्त्यमा घुमिफिरी मुसीका लागि सबैभन्दा शक्तिशाली वरका रुपमा मुसा नै हो भन्ने निष्कर्षमा कथा सकिन्छ।

यही कथामा रमाइलो नाटक मञ्चन भइरहँदा ‘महिलाले विवाह गर्दा सकेसम्म शक्तिशाली वर रोज्नुपर्छ’ भन्ने बुझाइ नाटकमा मुसीको भूमिका गर्ने सानी बालिकाको मस्तिष्कमा बसेन होला त? नाटक हेर्ने हामीलाई त रमाइलो दियो, तर रमाइलो सँगसँगै सुषुप्त रुपमा भने महिला कमजोर हुने र सुरक्षाका लागि शक्तिशाली पुरुष चाहिन्छ भन्ने आशय पनि व्यक्त गर्‍यो। महिलालाई कमजोर ठान्ने सोचको जग पनि निर्माण गर्‍यो।

दुवै नाटकले महिलाको स्थान र भूमिका कस्तो रहँदै आएको छ भन्ने विम्ब त देखाए, तर परिवर्तन देखाएनन्। जरुरी कुरा नै जरुरी ठानिएन। हुन त नाटक बनाइरहँदा र सिकाइरहँदा शिक्षक-शिक्षिकाहरुले यति गढेर सोच्न फुर्सद समेत कहाँ मिल्यो होला र?

यति भनिसकेपछि भन्न पर्दैन होला, ज्ञानका मन्दिरहरुले समेत विभेदलाई कुनै न कुनै रुपमा स्थापित गरिरहेका छन्। त्यसो भनेर विद्यालयहरुलाई मात्र दोषी ठहर्याहउन खोजिएको भने होइन। बस्, एउटा उदाहरण मात्र देखाउन खोजिएको हो।

हामीले तिनै कथाहरु अरुलाई भनिरहेका छौं, जसले हामीले कुनैबेला सिकेका संस्कारगत (खराब) व्यवहारहरुलाई बल दिन्छन्। महिलाहरुले जेका विरुद्ध युगौंदेखि संघर्ष गर्दै आएका छन्, त्यही सिकाउने कथाहरु भावी पुस्तालाई सुनाइरहेका छौं। यस्ता कथाहरुबाट उनीहरुले भोग्ने र बाँच्ने कथा हाम्रोभन्दा कति फरक र कति सकारात्मक हुन सक्लान्?

भनिन्छ, हामीले सुन्ने र सुनाउने कथाहरु नबदलिईकन हामीले भोग्ने र बाँच्ने कथाहरु बदलिँदैनन्। त्यसो भए सुन्ने र सुनाउने कथाहरु फेर्ने बेला भएको होइन?

Advertisements

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s