टापुमा सीतादेवी

राक्षसी ‘रावण्य’ बाढीले उमारेको

एक्लो हिले टापुमा

निस्सार उभिएकी छे सीतादेवी ।

दुई खुट्टा टेक्दा

अर्थोक टेकाउने माटो छैन

गुहार माग्न हात फैलाउँदा

भास्सिन्छ टापु ।

सीतादेवी रुन सक्दिन

आँसुको भेलले बगाउन सक्छ टापु

बढ्न सक्छ बाढीको भेल ।

धोतीको सप्कोले भिजाउँछे

आशा सुकेका आँखाहरु

मैलो पानीको पींधमा पौडिन्छ चेतना

डुबेर खोज्छ लव-कुशहरु

मनमनै गुहार्छे रामभरोसलाई ।

क्षितिजको पारितिर नाउ लिएर खोज्छ ‘लक्ष्मण’

सीतादेवी हिलो भएर बग्न खोज्छे

वायु भएर ‘हनुमान’ आकाशै आकाशै कुद्छ

सीतादेवी वाफिएर उड्न खोज्छे

तर रामभरोसको भरोसाले बनेकी सीतादेवी

न हिलो हुन्छे न वाफ बन्न सक्छे

बस्–

छातीमा रामभरोस बोकेर

माटोको टापुमा भास्सिन तयार बस्छे

‘लक्ष्मण’को नाउ भेलको रेखा काटेर उँभो चढ्दैन

‘हनुमान’ले सीतादेवीको सुगन्ध भेट्दैन ।

जसरी बिलाउँछन् वर्षामा हावाका झोंक्काहरु

त्यसरी बिलाउँछ क्षितिजपारिको नाउ

जसरी फुट्छन् पानीका फोकाहरु

त्यसरी नै फुट्दै जान्छ रामभरोसको नाउँ

जसरी बगाउँछ भेलले खोक्रा मुढाहरु

त्यसरी नै बग्दै जान्छन् सीतादेवीका गोडाहरु ।

आखिरीमा

‘रावण्य’ बाढीको वेगमा

बग्दै गयो टापु, हराउँदै गयो टापु

बग्दै गई सीतादेवी, हराउँदै गई सीतादेवी ।

सरकार जस्तै

हो, ठ्याक्कै सरकार जस्तै

बानर सेनाको माझ

वर्षा थामिउन्जेल कुर्दै बस्छ

दूर किनारामा रामभरोस

जतिन्जेलमा पग्लेर पानीमा

हिलो बनिसक्छे सीतादेवी ।

३ भदौ ०७४ मा बाह्रखरीमा प्रकाशित

Advertisements

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s