गलफत्ती

BOOKकेहिदिनअघि एउटा ‘ठूलो’ भनिने दैनिक पत्रिकाका सम्पादकले लेखेको मोटो र दुब्लो दुइथरि खोल भएको एउटा पुस्तक कृति ठूलै तामझामका साथ लोकार्पण भयो अर्थात लोकमा अर्पण भयो, निकै राम्रो मूल्यमा। मूल्य अर्थात ‘भाउ’, राम्रो अर्थात लोकको खल्तीमा सामान्यतया पुस्तकका लागि नहुने दर वा परिमाण ।

एकछिन घोत्लिऔं ।

यहाँ पुस्तकमा के लेखिएको छ भन्नेबारे कुरा गर्दिनँ । कारण भन्छु ।

यहाँ पुस्तकका लेखक वा लेखकको पृष्ठभूमिबारे कुरा गर्दिनँ । यसको पनि कारण भन्छु ।

कुरा चैं अर्थोकै गर्न खोजेको हो तर यसरी’ सुरु गरियो भने धेरैले पढ्न सक्छन् वा यसप्रति पाठकहरु आकर्षित हुन सक्छन् भनेर यो प्रसँग उल्लेख गरिएको हो । पुस्तकभित्रको कुरा र लेखकको पृष्ठभूमिबारे कुरा गर्दिनँ भन्नुको मूल कारण यहि हो । जसरी बुझ्नुभए पनि हुन्छ ।

अब चुरो कुरातर्फ लागौं है त ।

देशको कुरा नगरौं, शहरमा यो साता चर्चामा रहेका प्रसँगमा माथि उल्लेख गरिएको प्रसँगका साथसाथमा अरु केहि पनि रहे । माथि उल्लेख जेबारेमा गरियो, त्यो यस मानेमा पनि चर्चित रह्यो कि पुस्तकमा जुन शक्तिको गोप्य र सनसनीपुर्ण सम्बन्धहरुबारे मथिंगल हल्लाउने गरी लेखियो, त्यसै शक्तिका मुख्य मान्छेले पुस्तक दुई हातले उचालेर विमोचन गरे र भने ‘हो, हामी त्यस्तै हौं, म त्यस्तै हुँ ।’ त्यति भनिसकेपछि पुस्तकको विज्ञापन अरुले गरिरहनुपर्ला त? लौ म पनि गर्दिनँ ।

पुस्तककै कुरामा नियमित जस्तै यसपालि पनि एकजना लेखक मदन पुरस्कारबाट विभुषित हुने भए । यति भनिसकेपछि भन्नु नपर्ला, कि यो खबर आउनेवित्तिकै धेरैजना छक्क परे । कारण त छक्क पर्नेहरुलाई ज्यादा थाहा होला । एकजना होचो नाक भएका लेखकले पुरस्कार पाउने खबर सुन्दा, उँचो नाकहरु खै किन, खुम्चिहाल्छन् । त्यहि मेसोमा जगदम्बा श्री पुरस्कारबाट विभुषित हुने भनिएका गीतकारको नाउँ भने धेरैलाई स्मरणमै पसेन (उनको नाम चैं म बताइदिन्छु, गीतकार रत्नशमसेर थापा) । मान्छेको मस्तिष्क भन्या गजबकै चुम्बकीय क्षमताको अधातु रहेछ । साउथ पोल र नर्थ पोल एकअर्काप्रति आकर्षित भएजस्तै मान्छेको दिमागले पनि त्यस्तै विधिमा विषय र चर्चा ग्रहण गर्ने ।

हिजो भर्खर क्यान्टिनमा चिया पिउँदै गर्दा कुरैकुरामा पुस्तककै कुरा निस्कियो । थोरोको एउटा प्रचलित भनाइ छ, पुरानो कोट लगाउ नयाँ पुस्तक किन (खासमा यो भनाइ चाहिं एक अमेरिकी अध्यापक अस्टिन फेल्प्सको रहेछ, नेपालमा चैं थोरोकै नाममा यो भनाइ प्रचलित छ)। एकजना दाजुले यहि उद्गार उद्गारेको भुईंमा खस्न नपाउँदै अर्को साथीले रिमेक गरिहाले,”पुरानो कट्टु लगाउ, नयाँ जिन्स किन!” यसको अर्थ के भने मनस्थिति पुस्तकबाट गुडुल्किएर जिन्समा पुगिसकेको छ । तर यो पुस्ताले पुस्तकलाई पुज्न छोडिसकेको छैन, पुस्तक पूजनको पूनरावृत्ति पनि भइरहेको छ । ठूला सत्यहरु लेखिएको पुस्तकको चर्चा होस् या सानो जिवनबारे लेखिएको पुस्तकको चर्चा होस्, चर्चा हुनु राम्रै हो । तर पनि हाम्रा विडम्बनाहरुको हविगत तंग्रिएकै चाहिं भन्न सक्दिनँ । विभिन्न तर्कशास्त्रीहरुले ठाउँ ठाउँमा पेश गरेका तर्कहरु अनि खुद्रा-मसिना केहि गतिविधि यहाँनेर सान्दर्भिक होलान् ।

जस्तै; एउटा तर्कमा शास्त्रीहरु भन्छन्, “एक बसाईमा ३-४ हजारको रक्सी सकेर मापसे छल्न हजार तिरेर ट्याक्सीमा कुद्नेहरुलाई ७ सयको किताब महँगो भयो रे!”

साझा प्रकाशनले पुस्तक प्रदर्शनी गरिरहेको छ जहाँ नयाँ पुराना सबैखाले पुस्तक किन्न पाइन्छ, नराम्रो मूल्यमा (यहाँ नराम्रो मूल्य भन्नुको अर्थ माथिको पहिलो अनुच्छेद हेरेर लगाउनुहोला)। बाइ दि वे प्रदर्शनी चाहिं चर्चामा छैन । यो अर्को गति नभएको विधि । यहि प्रसँगमा कसैले भन्न सक्छ, थोरोले त नयाँ पुस्तक पो किन भन्छन् त, पुरानो किताब किन किन्नु त ?

एउटा प्रकाशन संस्थाका हाकिमले केहि साताअघि भने, “त्यो पुस्तक सम्पादन गर्न मैले ४-५ पटक लेखकलाई अनुरोध गरें । लेखक परे सेनाका मान्छे । छाप्ने भए त्यहि छाप, हैन भने पर्दैन भने । अनि क्यार्नु ! जे दिए, त्यहि छाप्न परिहाल्यो । फेरि नबिक्ने हैन क्यारे! आखिर त्यहि बेस्ट सेलर भो।” उहि क्या त, काजीसाबको पुस्तकको कुरा गरेको नि !

प्रसँग बदलौं है ।

प्रसँग के त ? बिक्ने त राजनीति हो । न्यायमूर्तिको सत्तालाई सरापेर गन्थन गरौं कि मूर्ति स्थापना गर्ने शिलाकार नेताहरुको, बजार पिटिहाल्छ । अलिकति पाँचतारे होटलका रसमाधुर्य र गोप्य स्रोतलाई उदृत गर्दै अन्तरँगका किस्सा पनि मिसाउन सकियो भने त यहि लेखेको भरमा आउने साल २-३ पुरस्कार नपाइएला भन्न कहाँ सकिएला र ? संस्थान, निगम, प्राधिकरणका अनेकानेक प्रकरणहरुबारे सनसनीपुर्ण खुलासा गर्न सके त सत्य होस् नहोस्, झनै बिक्ला । कुनै आयोगले सत्यता छानविन गरेर बाहिर निकालुन्जेल त रिटायर्ट भइसकिएला । तर यो सब त मान्छेहरुले गरिरहेकै छन्, सनसनी मच्चाइरहेकै छन् । कसैले १ सय ४० अक्षरमा गरेका छन् त कतिले हजारौं पन्ना भरेर ।

आजकाल धेरैले लेख्न थालेका छन् र आजकाल धेरैले लेख्न छोडेका छन् । पहिला पहिला लेखेर पैसा कमाउन सकिन्नथ्यो रे । अचेल लेख्नलाई पैसा आउँछ । आँट्न मात्रै पर्दो रहेछ । पैसा कहाँबाट आउँछ भन्ने टुंगो हुन्न । उदाहरणका लागि, लेख्छु भन्नुभयो भने तपाईंलाई प्रकाशन संस्थाले नै अग्रिम भुक्तानी गरिदिन्छ । त्यो अग्रिम भुक्तानी तपाईंले चुरोटको धुवाँमा उडाउनुहोस् वा घर बनाउनुहोस् तपाईंको स्वेच्छा । प्रकाशकले कहाँबाट ल्याउला त पैसा ? केहि स्रोतहरु यस्ता हुन सक्छन्, उदाहरणका लागि स्वदेशी दातृ निकाय जस्तै राजनीतिक पार्टी, विदेशी दातृ निकाय जस्तै अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, व्यक्ति विशेष जस्तै उद्योगपति, नेता, वा अन्य कोहि, विशेष वा नाम नखुलेको स्रोत जस्तै विदेशी खुफिया एजेन्सी, स्वदेशस्थित विदेशी दूतावासहरु, विदेशी सरकार, आदि इत्यादि । हो, विषय मिलाउने, तथ्य यताउता पार्ने वा उतायता गर्ने, जिम्मा चाहिं लेखकले लिनुपर्छ । तर लेखक हुनका लागि व्यक्तिको वजन अर्थात लोकप्रीयताको गिन्ती चाहिं भरमार हुनुपर्छ, अझ भनौं जति हेभिवेट लेखक, त्यति हेभी मनिब्याग । यहाँ उपन्यास, निबन्ध, कथा, गीत-गजल, आदिको कुरा गरिएको होइन । आजको यथार्थ वा हिजो थाहा नभएको यथार्थ भनेर छ छापिनछ, हो त्यस्को कुरा गरेको । तर यो अनुसन्धानमा आधारित कुरा होइन । यति लेख्रन त्यत्रोविघ्न रिसर्च, सर्वे वा अन्तर्वार्ता पनि गरको छैन । यद्यपि माथि उल्लेख गरिएका दुवै पुस्तक र लेखकको सन्दर्भसँग यो प्रसँगको कुनै नाता साइनो छैन, कुनै पनि अर्थमा यी विषयलाई जोडिएको छैन ।

अपितु धेरैले यसकारण लेख्न थालेका छन् कि पैसा आउँछ भनेर अनि धेरैले यसकारण लेख्न छोडेका छन् कि पैसा आउन थाल्यो भनेर । बडो अलमलको अवस्था । संक्रमणकाल भनेको यहि हुनुपर्छ ।

शहरभरि ६-८ लेनका सडक बन्दै छन्, तैपनि आफ्ना लागि हिंड्ने बाटो नभेटेकाहरुको हुल छ । चुनाव आउँदैछ । म्यादी प्रहरीका लागि भर्ना खुलेको छ । उमेर पुगेका लेख्नपढ्न जान्नेले आवेदन गर्दा हुन्छ भनेका छन् । पार्टीमा कार्यकर्ता बन्नको लागि आवेदन नै दिनपर्दैन । कुनै सी क्लासका नेताको पछाडि कुदे पुग्छ । अबिर माला हातैमा लिएर देशभरि नेताहरु घुमिरहेका छन् । दशैंलाई घर जाने टिकट पाइएको छैन । बरु चुनावकै लागि टिकटको चाँजो मिलाउन त्यति सकस नहोला भन्छन् साथीहरु । यस्ता यस्ता किस्साहरु चर्चामा छन् शहरमा । ढंगका कुरा केहि भए पो । मान्छेको मुटु ढुंगा भएको बेला रगतको नाम पानीमा बदलिन्छ । अरु कुरा के भो र! यस्तै रहेछ संक्रमणकाल भनेको ।

अस्ति कविजीले शहरको बारेमा गन्थन लेख्न सुझाइरहेका थिए । शहरको खास गन्थन अर्को पालि लेखौंला । अहिलेलाई चैं यो गलफत्ती यत्ति नै ।

3 responses to “गलफत्ती

  1. नाक को कुरामा थपुं जस्तो लाग्यो. यो आफ्नो कमजोरी लुकाउने वा आलोचना सुन्न डराउने रुन्चे तर्क हो. म.पु. जहिले पनि विवादित भएको छ एक दुइ अपवाद छाडेर, जस्तो कि संसारका जुनसुकै प्रतिष्ठित पुरस्कार पनि हुने गर्छन्. आलोचना त सिद्धिचरण, गोठाले, विजय मल्ल, भूपी, पारिजात, धुस्वा सायमी, बैरागी काइंला, बिमल निभा, श्रावन मुकारुङ का पनि भए होलान तर इनले नाक समाएर रोएको त थाहा पाइएन.

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s