छयालिस थोप्लो छ माइल

stock-photo-319035-empty-milestoneएउटा शहरदेखि अर्को शहरसम्मको दुरी छयालिस थोप्लो छ माइल । थुप्रै गाउँहरु छिचोलेपछि आउँछ अर्को शहर । बिचमा शहरजस्तो देखिने गाउँहरु पनि आउँछन्, गाउँजस्तो देखिने शहरहरु पनि आउँछन् ।

साँच्चै के हुँदा एउटा गाउँ शहर बन्छ ? के नहुँदा गाउँ गाउँ नै रहन्छ ? फराकिला काला सडकहरुले, अजंगका भवनहरुले, व्यस्त बजारले वा मान्छेका रुपरंगले ? वा तीनै मान्छेहरुबिचका सन्बन्धका पर्खालका उचाइले ? यसको मापन समाजशास्त्रीले गर्लान्, म सानो यात्राको बयान गर्छु छयालिस थोप्लो छ माइलको यात्राको ।

सडक जीवनको पर्याय पनि बन्छ कैलेकाहीं । सपाट, अल्छिलाग्दो, फुंग रंग उडेको सडकको रुपले त्यस्तै देखाउँछ । कैलेकाहीं यहि सडक जीवनको शत्रु पनि हुन्छ । ‘अत्यधिक दुर्घटनाग्रस्त क्षेत्र’ भनेर लेखिएका साइनबोर्डहरुले यहि संकेत गर्छ ।

तर जीवनसँग यस्को जस्तोसुकै मेल अनमेल भएपनि हिंड्नुको विकल्प कहाँ छ र ? सडक छोडेर अन्यत्रैबाट हिंड्दा पनि त त्यसलाई बाटो नै भनिदिन्छन् मान्छेहरु । आखिर बाटोलाई नै त हो शहरीयाहरुले सडक भन्ने ।

हो त्यहि बाटो अर्थात सडकमा देखिने सबै कुराहरु याद राख्न कत्ति गाह्रो हुन्छ । सबै कुराहरु बुझ्न र चिन्न अझ कठिन । मान्छेले आफ्नैबारेमा बुझ्न र याद राख्न त सक्दैन, अरु के कुरा भो र ! झन् लेख्न त कहाँको महाभारत ! किनकि लेख्नु भनेको आफ्ना लागि त हो नै, अर्काको लागि ज्यादा हो । रस पुगेन भने पढ्नेलाई निस्तोपनले कोक्याउने, मसला नपुग्दा फेरि खल्लो हुने । कमेन्ट्रीको युगमा जोकोहि पनि टिप्पणी र विश्लेषण गर्न पोख्त भइसकेका छन् । यस्तो युगमा सपाट बयानले काम चलाउन कहाँ सकिंदो हो ?

सडक र जीवन यति गम्भीर विषय हुन् जसमाथि कमेन्ट्री गर्नु सामाजिक संजालमा अटोमेटेट स्टाटस अपडेट गरेजस्तो कहाँ सजिलो हुनु, कमसेकम म सक्दिनँ ।

आँट छैन । जे देखें, त्यसलाई सरसर्ती बयान गरेर हेरौं है त ।

मझधारदेखि किनारसम्मको दुरीमा लम्बेतान वेपर्वाह सुतिरहेको थियो सडक । सडकमा लापर्वाह जागिरहेका देखिन्छन् मान्छेहरु । खास खालको मदहोसीमा भैंसी चराउन हिंडेकी छे मस्त तरुनी । रकेट उडाएजस्तो मोटरसाइकल कुदाइरहेको पट्ठोले मभन्दा वा सबैभन्दा धेरैअघि आफ्नो यात्रा टुंग्याउने लक्ष्य लिएको हुँदो हो ।

साँझको बेला किशोर केटो ठेला ठेलिरहेको भेटिन्छ । ठेलामा ठेलिरहेको बंगुरको ताजा लास । बंगुरको त्यो ताजा लासको गन्ध कस्तो होला अनुमान गर्नुस् । अनि अनुमान गर्नुस् त्यो गन्धमा त्यो किशोरको पसिनाको गन्ध मिसिंदाको नयाँ गन्ध ।

अलिक पछि पिडुँलाका नशा फुलाउँदै गरेको रिक्साचालक हामीतिर आउँदै गरेको देखिन्छ । नजिकै पर्दा उसको रिक्सामा देखिन्छ उपरखुट्टी लाएर कालो चस्माले साँझको बतास सुँघिरहेको स्वदेशी पर्यटक । दुवैले भर्खर काटेको चोकमा उभिएका तीन थान शालिकहरुलाई घुमेर आए । शालिकहरुको मन हुने भएको भए के सोचेका हुँदा हुन् ?

यहि यात्राको बिचमा सडक किनारमा अघि बढिरहेकी देखिन्छे पछ्यौराले मुख छोपेर म गएकै दिशातिर उन्मुख अधबैंसे आइमाइ । अलिक अघि उसको लोग्ने हुनुपर्छ, काँधमा छोरो बोकेर ठमठम कस्सिंदै हिंडेको देखिन्छ । लोग्ने स्वास्नीबिचमा ४-५ मिटरको दुरी । त्यहि बिचमा कलिलि केटी हिंडिरहेकी देखिन्छे एक्लै । म चित्रकार भएको भए त्यो परिवारको चित्र बनाउँथें हुँला र बिचमा हिंडिरहेकी त्यो केटी लोग्नेस्वास्नीबिचको पर्खाल हुँदी हो ।

अब अलिकति रोचक दृश्य (दृश्यमात्रै रोचक)।

राजधानीदेखि बगेको नदिमाथि पुल । पुलको मुखमा यात्रुका बगली छामिरहेका र चोर औंलामा थुक लाउँदै गाडी रोकिरहेका पुलिसहरु देखिन्छन् । तीनै मध्ये नथ्थी लाएकी पुलिसनी आकर्षणको केन्द्रजस्तो देखिन्छे । उसले घण्टौंदेखि (सायद) चपाइरहेको चुंइगमजस्तै थिलथिलो भएका मभन्दा अघि कुदिरहेका यात्रुहरुको अनुहार पढ्न नसकिनेगरी खजमजिएका देखिन्छन् ।

नजिकै ‘सुरक्षा चेकजाँच भइरहेको छ’ अंकित बोर्डलाई टेको लगाएर खैनी माडिरहेको पुलिसको अनुहार पढ्न चैं खूब सजिलो । पढें, अघि बढें । के पढें ? भन्नुपर्ला र ?

लेखेर कहाँ सक्नु सडकको कहानी ! कहानी त कहाँ हो कहाँ, टिपोटसम्म पनि सकिन्न । यो छयालीस थोप्लो छ माइलभित्र हरेक थोप्लाहरुमा फरक जीवन छ, फरक रंग छ, फरक परिवेश र अनुभव छ । देशको अनुहार हर विन्दुमा बदलिन्छ । अनि हरेक विन्दु कोट्याएर अक्षर बनाउन सकिन्छ ?

यो झण्डै सत्चालिस माइलभित्रको यात्रामा सिंगो देशको विम्ब छोपिरहेका भेटिन्छन् रित्ता अपार्टमेन्ट र हाउजिङ्हरुले, भिडले छेलिएका सुकुम्बासी वस्तीहरुले, सिमसारले छोपेका खेतहरुले, बालुवा पग्लिन छोडेका रुखा बगरहरुले, जेठमै तिहारको उज्यालो मनाइरहेका शपिङ् मलहरुले, बिजुलीको खम्बामुन्तिरका अँध्यारा छाप्राहरुले र पार्टी कार्यालयको फरफराइरहेको राता निला झण्डाहरुले ।

म देशको कहानी लेख्न बसूँ कि आफ्नै यात्राको ?

One response to “छयालिस थोप्लो छ माइल

  1. “रस पुगेन भने पढ्नेलाई निस्तोपनले कोक्याउने, मसला नपुग्दा फेरि खल्लो हुने ।” कथामा यो कमजोरी देखिनँ ।

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s