म त रात हुँ !

Image

म त रात हुँ
अँध्यारो र एकाङ्की !

मसानमा जन्मिएँ
घनघोर जंगलमा खेलें खाएँ
गुफामा हुर्किएँ
जवान भएपछि बस्ती पसें
तैपनि आजीवन भूमिगत छु म!

मेरो अनुहारको कुनै नक्सा छैन
मेरो शरिरको कुनै रँग छैन
मेरो आवाजमा कुनै ओज वा क्रोध छैन
र पनि मेरो बस्ती प्रवेशमा सुटुक्क भाग्छ दिन
मान्छेहरु लुक्छन् ।
म बस्ती पस्दा
दिनलाईजस्तो स्वागत गर्न
पूजा थाली लिएर निस्किंदैनन् स्वास्नीमान्छेहरु
हालखबर बुझ्न चौतारोमा आउँदैनन् लोग्नेमान्छेहरु
रुमाल लुकाई खेल्न मसँग आउँदैनन् भूराभूरीहरु
म सुस्केराको शितल लोरी गाउँदै
गस्ती गरिरहन्छु बस्तीमा
तैपनि त्रासको आग्लो ठोकेर
गुटमुटिन्छ बस्ती
निर्दोष मेरो बस्ती प्रवेशलाई बिथोल्न
दिनले पठाउँछ दलाल चोरहरु, डाँकाहरु, व्यभिचारीहरु
सायद दिनको यस्तै घुसपैठले
बदनाम छु म बस्तीमाझ ।

म ठान्छु
मेरो कोहि शत्रु छैन
कोहि मित्र हुन खोजेनन्
र पनि मसँग दिनको के को दुश्मनी?
किन पछ्याउँछ आकार फेरिरहने जून मलाई?
किन पठाउँछ ढुकेर बस्ने सुराकी लाटोकोशेरो?
दिन सेलाउने चौतारोमा म सुस्ताउँदा
किन वमन गर्छ पिपलले विष?

म रात न हुँ
अँध्यारो अनि एकाङ्की
किन डराउँछन् मान्छेहरु मसँग?
दिनजस्तो कहाँ छु र
कपटी उज्यालो, बहुरुपी, निर्लज्ज!

म मान्छेको पछाडि छायाको जासुस लाउँदिनँ
साँचेर राखिएका अन्तरँगहरुमा घाम छोड्दिनँ
बरु छोडेर हिंड्छु दैलाहरुमा
सपनाका सुनौला उपहारहरु
चोख्याएर हिंड्छु करेसाका सुन्दर गुलाफहरु
म सक्दिनँ बस्तीको चैन खोस्न ढ्याङ्ग्रो बजाउन
म सक्दिनँ सपनाका पत्रपत्र उघारेर घामले डढाउन
यत्ति हो,
मसँग दिनको जस्तो फेरिरहने अनुहार छैन
झुटहरुलाई छोप्नेगरी खैलाबैला गर्ने आवाज छैन
जीन्दगीसँग खेल्ने घाम र छायाँ छैन ।

भलै मान्छेहरु मसँग तर्सिउन्, आत्तिउन्,
मदेखि भागून्, लुकुन्
म मान्छेलाई धीत मरुन्जेल रुन दिन्छु
ढोका ढप्काएरै सहि, हाँस्न दिन्छु, माया साट्न दिन्छु
दिनसँगको पौठेजोरीमा
सपना हारेका मान्छेहरुलाई
धुलाम्य मस्तिष्क विस्तरामा टकटक्याउन दिन्छु ।

म त रात हुँ
चुपचाप आउँछु जान्छु
भूमिगत भएरै सहि
म बस्तीलाई माया गर्न थालिसकेको छु !

******

इटहरीमा बैशाख २१ मा आयोजित क्याफे कवितामा यो कविता वाचन गर्दाको भिडियो

 

One response to “म त रात हुँ !

  1. मेरो अनुहारको कुनै नक्सा छैन
    मेरो शरिरको कुनै रँग छैन… Lovely line

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s