भिमे – २

भिमेको ‘मितेरी’को कथा सुने/पढेपछि धेरैले भिमेलाई कुटिल माने। त्यति सानो उमेरमा भिमेले जसरी रविन्द्रेलाई चक्मा दियो, त्यो गजबकै थियो।

रविन्द्रेलाई खाँद्न भिमेलाई कुनै आइतबार कुर्नु पर्दैनथ्यो। रविन्द्रे त के, म र रविन्द्र भएर पनि भिमेलाई डेग हल्लाउने आँट गर्न सकिन्नथ्यो। तर भिमेले त्यसो गरेन। अनाहकमा रविन्द्रेलाई गोदेर पेटी खोस्ने काम उसले गरेन। कारण, त्यसरी खोस्दा उसले खोसेको पेटी अर्को दिन फिर्ता गर्नुपर्ने हुन सक्थ्यो, स्कुलका मास्टरका अघिल्तिर वा रविन्द्रेको बाउको अगाडि निरिह भएर। त्यो रिस्क भिमेले लिएन।

तैपनि भिमेले रविन्द्रेबाट ससम्मान पेटी पाउनको लागि अपनाएको रणनीतिको प्रत्यक्षदर्शी म मात्रै भएँ। भिमेको भाइ त्यति बुझ्ने थिएन।

भिमे हिरो भयो। खासमा त्यसभन्दा अघि भिमेलाई मन्दबुध्दि भन्थे मास्टरहरुले। मैले निकै पछि मात्र मन्दबुध्दिको अर्थ बुझें तर मास्टरहरुले भिमेलाई मन्दबुध्दि मान्नुको कारण पत्ता लगाउन सकिनँ।

एकदिन मास्टरहरुले मन्दबुध्दि मान्ने भिमेले मलाई चिठी लेख्यो। कस्तो लेख्यो भन्ने महत्वपुर्ण भएन, ठूलो कुरा २ कक्षामा सँगै पढेको साथीले म ५ कक्षा पुगेपछि चिठी लेख्यो। चिटिक्क परेको खाममा चिठी आयो, स्कुलको ठेगानामा।

****

यो चाहिं भिमेको मूल कथाको उपकथा हो, चलनचल्तीको भाषामा कास्टिङ्। तर यसैलाई पूरा कथा मानेर पढ्नुभयो भने कथाकार बनी टोपल्नेले त्यसको जिम्मेवारी नलिन सक्छ।

भिमेको कथा: वेपत्ता

bhime bepatta

‘भिम बहादुर तामाङ् भन्ने को हो?’ पाले दाईले कक्षाको बिचमा ढोकाबाट सोधे। सबैले भिमेलाई हेरे। यसले आज धुलाई भेट्ने भएछ भनेर रविन्द्रे मख्ख पर्यो।

‘म हो।’ भिमेले बेन्चबाट नउठी जवाफ दियो।

”तिम्रो फोन आ’को छ। प्रिन्सिपल सरको कोठामा जाउ।’ पाले दाई त्यति भनेर गए। सबले अचम्म माने। विद्यार्थीका लागि स्कुलमा फोन आउनु ठूलो कुरा थियो। भिमे वाल्ल पर्यो एकछिन अनि सरलाई सोधेर क्लासबाट निस्कियो। हामी खासखुस गर्न थाल्यौं तर के खासखुस गर्यौं भन्ने कुरा चाहिं बिर्सें। मख्ख परेको रविन्द्रे ट्वाँ पर्यो होला तर मैले उसको अनुहार त्यतिबेला हेरेनछु।

एकछिनमा भिमे कुदेर आयो क्लासमा। ब्याग भिर्यो र कसैलाई नहेरी उस्तै गरी वायु वेगमा बाहिरियो। हामी फेरि हेरेको हेर्यै भयौं। पढाइरहेका सर ‘भिम… भिम…’ भनेर बोलाउँदै बाहिर निस्किनुभयो।

त्यसदिन भिमेलाई कसले फोन गर्यो, किन फोन गर्यो, के भन्यो.. कसैलाई थाहा भएन। तर त्यहि दिन साँझ भिमे कालो निलो अनुहार पार्दै मेरो घरको आँगनमा टुप्लुक्क आइपुग्यो, स्कुल ड्रेसमै। ब्याग चाहिं थिएन। घरछेउ उसको भाइ कर्ण उभिरहेको थियो।

‘ए भिमे, कता हिंडेको?’ मैले सोधें झ्यालबाट।

‘तँलाई भेट्न आएको। तल आइज न!’

म आँगनमा निस्किएँ। माथि आइज भन्ने सुध्दि पनि आएन।

तल झरेर दिउँसो कहाँ हराएको भनेर सोध्न नभ्याउँदै उसले मसँग सोध्यो,’तँसँग १० रुप्पे छ?’

म छक्क परें। १० रुपैयाँ किन चाहियो यसलाई? कारण सोध्न नपाउँदै मेरो मुखबाट निस्कियो,’छ।’

‘मलाई सापट्टी दिन्छस्?’ उसले सोझै भन्यो।

‘पख्’ भन्दै कोठामा गएर सिरानीमुनी मैले साँचेर राखेको १ रुपैयाको एउटा, दुई रुपैयाँका दुइवटा र पाँच रुपैयाँको एउटा नोट लिएर तल झरें।

‘म भोलि फिर्ता दिन्छु है!’ भनेर उसले मेरो हातबाट पैसा लियो र कुद्यो, भाइलाई पछि लगाउँदै।

मैले दायाँ बायाँ हेरें, कोहि थिएन। बा-आमा बरन्डामा बसेर गफ गर्दै हुनुहुन्थ्यो, देख्नुभएन।

भोलिपल्ट न भिमे स्कुल आयो न उसले मसँग लगेको १० रुपैयाँ फिर्ता आयो। पर्सीपल्ट पनि भिमे स्कुल आएन। अनि भिमे कहिल्यै स्कुल आएन । उसको भाइ पनि आएन।  उनीहरु दुवै बाटोमा धरी भेटिएनन्। अरुले भिमेका बारेमा के सोचे कुन्नी, मैले चाहिं भिमे फटाहा रहेछ, चोर रहेछ भन्ने बुझें। भिमेले मलाई पनि चक्मा लगायो, ठगले मेरो १० रुपैया ठगेर भाग्यो।

भिमेलाई फोन आउनुभन्दा केहि दिन अघि स्कुल विदा थियो। गर्मी विदा। म घरमा कोठामा चित्र बनाइरहेको थिएँ। बुवाले बोलाएर तेरो साथी भेट्न आएको छ भन्नुभयो। तल आएर आँगनमा हेर्दा भिमे ङिच्च दाँत देखाएर मुसुमुसु हाँस्दै उभिइरहेको रहेछ। इजारवाला रातो कट्टु र मैलो गन्जी लाएको भिमे साइकलको टायरलाई लठ्ठीले कुदाउँदै आएको रहेछ।

‘ए पानी खान दे न!’ देख्नेवित्तिकै उसले पानी खान माग्यो।

मैले भान्साबाट करुवामा पानी ल्याइदिएँ। उसले पैला करुवालाई नै खाउँला झैं हेर्यो र अलक्कै पानी घटघट पियो। करुवा भरिको पानी उसले एकै खेपमा खाइ सिध्यायो। अलिकति पानी मुखबाट पोखिएर उसको पातलो गन्जी पनि भिजायो।

करुवा मलाई दिएर उ केहि नभनी टायर कुदाउँदै भाग्यो।

‘कस्तो साथी हो तेरो यो? कहाँको साथी हो?’ बुवाले उ गएपछि सोध्नुभयो।

‘भिम हो। स्कुलको साथी।’ मैले यत्ति भनें। कस्तो साथी हो भन्ने चाहिं मलाई पनि थाहा थिएन।

भोलिपल्ट भिमेले दालमोठ चीउरा खाजा ल्यायो, प्लास्टिकमा पोको पारेर। अरु दिन प्लास्टिकको पोकामा बिहानको भात र नुन खुर्सानी हुन्थ्यो, जुन उ एक्लै खान्थ्यो। त्यसदिन हाफटाइममा उसले मलाई उसको पोकाबाट आधी दालमोठ चिउरा मेरो कापीमाथि राख्दियो। हिजो पानी खान दिएको गुन तिरेको रे उसले। म पनि खुशी नै भएँ। बुवाले खाजा खान दिनुभएको दुई रुपियाँ जोगियो।

अँ म भन्दै थिएँ, भिमे स्कुल आएन। किन आएन त?

भिमेको बाउ ज्यामी काम गर्थे। ज्यामी भन्नाले ज्यालादारीमा मजदुरी। दुवै छोरालाई बोर्डिङमा पढाउने धोको पुरा गर्न चाहिं महाभारत नै थियो क्यारे उनलाई। जे होस्, कसैगरि भनसुन गराएर आधी शुल्क तिर्न नपर्ने गरी दुवैलाई हामी पढ्ने स्कुलमा हालेका रे उनले। तर भिमे र उसको भाइ अचानक स्कुल आउन छोडे। भिमेको किस्सा सबका लागि सकियो। दुई सकेर तीन, तीन सकेर चार र चार सकेर पाँच कक्षामा पुग्दा भिमेलाई सबैले बिर्से। तर मेरो १० रुपैया ठग्नेलाई मैले बिर्सिनँ।

*****

‘रुपेश भन्ने को हो?’ पाले दाइले ३ वर्षअघि भिमेलाई खोजेजस्तै गरी मलाई खोज्न आए क्लासमा। पाले दाई सधैं त्यस्तै, कहिल्यै कसैको नाम याद नहुने।

‘म हो।’ मैले भनें।

‘ए तिमी हो? तिम्रो चिठी आ’को छ। लाउ!’ भन्दै उनले मलाई एउटा पातलो खाम हातमा थमाए। खामको बाहिर सबैभन्दा माथि ओमकार बनाइएको थियो, पेन्सीलले। तलपट्टि मेरो नाम लेखिएको थियो र ठेगानामा स्कुलको नाम। पठाउनेको नाम भने लेखिएको थिएन तर त्यो चिठी भिमेले लेखेको भनेर चिन्न मलाई कत्ति गाह्रो परेन। उसको ह्याण्ड-राइटिङ यसै पनि क्लासभरि चर्चित थियो। नेपाली पढाउने सरले बेला बेला “छेर हो कि अक्षर?” भनेर भिमेलाई गाली गर्नुहुन्थ्यो सधैं।

मैले चिठी नखोली पट्याएर खल्तिमा राखें।

प्रीय साथी रुपेश,

आराम रहि आरामीको कामना गर्दछु। म भिम हो। मलाई बिर्सेको त छैनौ होला। तिमीहरुको मलाई धेरै याद आउँछ। म अहिले धेरै टाढा छु। म भागेर यहाँ आएको हुँ। मलाई समात्न पुलिस आएको बेला म भागेर आएको हुँ। तिम्रो घरमा आउँदा भाइ पनि पछि लागेर आएको थियो। तर तिमीसँग लिएको पैसाबाट १ रुपियाको चकलेट किनिदिएपछि उ घर गयो। अहिले कहाँ छ थाहा छैन। मलाई मेरो बाउले पनि लिन आएन। म अहिले स्कुल पनि जाँदिन। घरबाट किताब पनि नलिइकन भागेको हो। म यहाँ कारखानामा काम गर्छु। भात खान र लुगा लगाउन दिन्छन्। तिमीले दिएको पैसा मैले सकाइदिएँ। भोलि पर्सी म एक दिन फर्केर आउँछु अनि तिम्रो पैसा फिर्ता दिन्छु। यति धेरै वर्षसम्म सापट्टी फिर्ता दिन सकिनँ। माफी दिन्छौ भन्ने आशा गर्छु।

धन्यवाद।

तिम्रो उहि अभागि साथी

भिम तामाङ्

स्कुलबाट घर फर्किंदै गर्दा चिठी पढेर म एकातिर छक्क परें भने अर्कोतिर खुशी भएँ। खुशी यसकारण कि भिमेले मसँग माफी माग्यो। अनि मलाई ‘तँ’ भन्ने भिमेले ‘तिमी’ भनेर लेखेको रहेछ। सँगसँगै भिमेलाई पुलिसले किन समात्न आएछ भनेर छक्क पनि परें।

****

निमबहादुर तामाङ्, भिमेको बाउ। मजदुरी गरिखानेको कामको कुनै टुंगो नहुने। कुनै बेला बिहानदेखि रात नपरेसम्म काममा जोतिनुपर्ने। कुनै दिन दिनभरि चहार्दा पनि सिन्को भाँच्ने सम्मको काम पनि नपाइने। आधा महिना त यस्तै खालका दिन हुन्थे।

चक्रे उर्फ चक्रलाल, भिमेलाई आक्कल झुक्कल काम दिने ठेकेदार। चक्रेको ठेकेदारी व्यापक थियो। घर बनाउने, सडक पुल बनाउने त सामान्य भए।  घर-जग्गा किनबेच, गाडी किनबेच,  आदि सबथोक गर्ने। कसै कसैले चक्रे तस्कर हो पनि भन्थे। तर उसका घरमा ठूल-ठूला मान्छेहरुको आउजाउ हुन्थ्यो। चक्रेको छोरोलाई कसैले छुरी हानेर मारेको थियो केहि वर्षअघि। त्यसपछि त्यत्रो घरमा चक्रे र चक्रेकी स्वास्नी मखमली मात्रै बस्दै आएका थिए।

भिमेको बाउले केहि समय यता चक्रेकै घरमा इनार खन्ने काम पाएछन्। त्यहि काम नै निमबहादुर र उसको परिवार अर्थात भिमे र उसको भाइ कर्णसहितको जीन्दगी बदल्ने कसी बन्यो। त्यहिंबाट मोडियो भिमेको यो कथाको बान्की।

भिमेको कथामा यस्तो एउटा विन्दु आयो, जुन विन्दुमा २ कक्षामा पढ्ने भकुल्ले भिमे गाउँमा मात्रै नभएर जिल्लामै नामी चक्रलाल र उसकी अर्धाङ्गिनी मखमलीको टाउकोमा साबेलले बजाउन पुग्छ। हो, त्यो त्यहि दिन थियो जुन दिन भिमेलाई स्कुलमा कसैले फोन गरेको थियो र भिमे स्कुलबाट निस्किएको थियो। त्यो त्यहि दिन हो जुन दिन भिमे मेरो घरमा मसँग १० रुपियाँ माग्न आएको थियो र १० रुपियाँ पाएपछि वेपत्ता भएको थियो।

One response to “भिमे – २

  1. म बुझ्दिन ठुला-ठुला कुराहरु त्यसैले पनि हुनुपर्छ मैले “भिमे” कथा अलि बुझिन । भाग-१ जसरि आयो त्यो भन्दा निकै गहन रूपमा भाग-२ आएको छ । अब तेस्रो भाग पनि आउनेछ भन्ने आशा छ तर आएन भने मैले गालि गर्नेछु रुपेश दाजुलाई कि मलाइ किन घोत्लिने बनायौ ? किन सोच्ने बनायौ तिम्रो कथाको पात्रको बारेमा ? भनेर । बाल्यकालको मितेरी अनि चकचके स्वभावलाई देखाउन खोजिएको कथाले समग्रमा सामाजिक पीडा र हुनेखाने र हुँदा खानेहरुको फरक खालको भोगाइलाई इंगीत गराउन खोजेको देखें मेरो हेराइमा । सायद, अलि हुनेखाने परिवारमा जन्मेको भए अहिले “भिमे” पनि “रूपेश” जस्तै ठुलो मान्छे बन्ने थियो । उसले पनि हामि आम युवाले जस्तै एउटा आफ्नै छुट्टै सपना पाल्ने थियो । तर बिचरा “भिमे” कहाँ होला ? के गर्दै होला ? बिभिन्न प्रश्नहरुको ओइरो लागेको मेरो दिमागमा पनि । अन्त्यमा, भाग-१ मा जसरि “भिमे” समाजको एउटा फटाहा पात्रको रूपमा आएको थियो, त्यसको बिपरित भाग-२ मा आएर सामन्ती संस्कारको बिरुद्धमा आवाज उठाउन खोज्ने एक इमान्दार युवाको रूपमा देखिएको छ फेरी एकपटक । कथाले निरन्तरता पाओस र भिमेको जीवनले लिएका हरेक मोडहरु पढ्न पाइयोस । रूपेश दाजुलाई शुभकामना ।।।

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s