विन्टरचोक, वार सेन्सेसन र फ्रीकहरु

Winter Fireside: an abstract contemporary painting by Nancy Eckels.
Source: http://nancyeckels.blogspot.com

विन्टरचोकमा मुढा सल्काएर राखिएको छ। ५-६ थान ‘विन्टर फ्रीक’ हरु राउन्डका राउन्ड चियाको चुस्की लाउँदै आगोको रापमा ‘डिसेम्बर ट्वेन्टी वन’ को गफ सेकिरहेका छन्।

चोकहरुमा तिथिमिति र मौसमी चर्चाहरु खूब हुन्छन्। अझ भनौं, यसपालि विशेषगरि विन्टरचोकमा यस्ता तिथिमिति ‘टक अफ दि टाउन’ भएका छन्। यसपालि ‘टक टु वाच’ भएका ‘इस्यु’मा ‘डिसेम्बर ट्वेन्टी वन’ शिर्ष स्थानमा छ भने ‘सीजनल प्राइम मिनिस्टर’को ‘भ्याकेन्सी एप्लिकेशन’को ‘डेडलाइन’ले लामो समयदेखि ‘टप थ्री’मा आफ्नो स्थान बनाएको छ। यस्तै अनेक तिथिमितिमाथि ‘विन्टर फ्रीक’हरुका बहसहरु, अझै भन्नुपर्दा वाक युध्द ‘भर्बल वार’ ले तातिने गर्छ अचेल विन्टर चोक।

खैर, विन्टरचोकमा एकखालको ‘वार सेन्सेसन’ छ यहाँ हुँदो हिउँदमा।

सेन्सेसनको कुरा गर्ने वित्तिकै याद आयो, धुर्वे उर्फ ‘एङ्ग्री योङ एलिफेन्ट’ को प्रसँग पनि विन्टरचोकमा ट्रेन्डिङ छ। ‘हु इज धुर्वे?’ को हो धुर्वे? भारतीय न्युज च्यानलका एंकरहरुले झैं फ्रीकहरु आपसमा प्रश्न सोध्छन्।

कसैले भन्छ,’प्रधानमन्त्रीको क्यान्डिडेटलाई माला लाएर नोमिनेट गर्न आएको एउटा विलक्षण हात्ती!’

अर्कोले भन्छ,’नो, हि इज प्रीन्स ध्रुव। विष्णुको भक्त!’

प्रतिप्रश्न उब्जिन्छ ,’विष्णुको भक्त भए किन मान्छे मार्यो त?’ जवाफ,’वेल द्याट्स मिस्टेरीयस्!’

‘हैन, त्यो इन्डियन एजेन्ट पनि हुन सक्छ नि।’ शंका र अनुमान एकैपटक। ‘ट्वेन्टी फस्ट सेन्चुरीमा एनिमललाई पनि त टुल बनाउन सकिएला नि.. आइ मिन, पोलिटिक्समा जे पनि हुन सक्छ! एण्ड पोलिटिक्स इज नट डिफरेन्ट द्यान एनि वार दीज डेज!’ देवकोटा शैलीमा सीगरेटको धुवाँ तान्दै एकजना तक्लु बोल्छ।

अरु फ्रीकहरु चाहिं ‘सरप्राइज’ र ‘सस्पेन्स’को आँखीभौं एकैपटक माथि सार्छन्, इन्स्पेक्टर शेखावतको शैलीमा। कसैले थ्री डी फिल्मको कनसेप्ट मनमनै बुनीहाल्छ र फिल्मको नाम पनि राख्न भ्याउँछ, ‘अनसीन मीस्ट्रीज अफ धुर्वे’। नेपालीमा फिल्म बनाउने गरी कन्सेप्ट ट्रान्सलेट गरिभ्याउँदा उसको दिमागमा नेपाली नाम पनि आउँछ फिल्मको, ‘धुर्वे’। तर ट्यागलाइन त अंग्रेजी चाहिहाल्यो.. ‘धुर्वे, दि टाइगर’।

विन्टरचोकलाई अलिक नोस्टाल्जिक भएर हेरौं।

वेसनको घोलमा उसिनेर थिचथाच पारिएका आलुका गाँसहरु चोप्दै कराहीको कान कानसम्म च्वार्रर च्वार्रर गर्दै उम्लिरहेको तात्तातो तेलमा छिटोछिटो गरी खसालिन्छन्। आलुलाई लगाइएका वेसनका लुगा झीर्रझीर्र गर्दै राता हुँदै जान्छन् र आलुका वास्नादार चप बनेर बाहिर निस्कन्छन्, सौन्दर्य प्रशाधन गृहमा पसेर निस्किने युवतीहरु बास्नादार सुन्दरी बनेर निस्किएजस्तो।

बाटोमा स्युऽ स्युऽ गर्दै हिंडिरहेका बटुवाहरुसमेत एकपटक यो होटेल पसलका अगाडि सजाएर राखिएका राता आलुका चपहरु नहेरी अघि बढ्न सकिरहेका छैनन्। ठाँटिएर मम्मीको हात समाउँदै स्कुल जान हिंडेका साना साना नानीहरु, ‘दोज फ्रिकिङ् किड्ज’ भने ‘मम्मीऽऽ चप.. चप.. ‘ भन्दै पसलतिर औंलाले देखाउँछन्। गम्म ज्याकेट ट्राउजर टोपीमा छोपिएका फ्रीक मम्मीहरु भने सुने नसुनेझैं गरी नानीहरुलाई तान्दै अघि बढ्छन्। कुनै अमेरिकी एलिमेन्टरी स्कुलमा बच्चा सुम्पिन हिंडेजस्ता तनावग्रस्त देखिन्छन् तिनीहरु। तैपनि चपका शिरमाथिबाट उडिरहेका बास्नाको स्वाद त मम्मीहरुले पनि चाख्न कहाँ छोड्नु र?

शहरका चोकचोकमा यो विन्टरचोकको यो होटेल पसलका साथी पसलहरु छन्। साथी पसलहरुमा कतै प्याजी पकौडा, कतै पाउरोटीका चप, कतै डुनट, कतै समोसा र कतै जेरीहरु सजाइएका छन्। सबै साथी पसलका अगाडि विन्टर फ्रीकहरु त्यसैगरि घाँटी घुमाउँदै, कोहि कोहि टक्क अड्किएर हेर्दै र कोहि पसलमा पसेरै अघि बढिरहेका छन्। यसरी भनौं, होटल पसलहरुका शो केशहरुबाट उडिरहेका बास्नाका फोकाहरुले हिउँदको हुस्सुलाई बिहान बिहानै चुनौति दिइरहेका छन्। हिउँदे हुस्सुको बटालियन र बास्नाका फोकाहरुका टुकडिबिच कुनै पनि बेला युध्द छेडिन सक्छ। जीत कसको होला, त्यो महत्वपुर्ण भएन। उत्तर आधुनिक युगमा हुने युध्दहरु हार जितका लागि भन्दा पनि ‘पावर एक्सपेरिमेन्ट’ का लागि हुन्छन्।

यो युध्दको सम्भावनाको प्रसँगलाई एकछिन विश्राम दिउँ र कुरा गरौं बाटोमा त्यसरी टाउको घुमाउँदै हिंडेका ‘विन्टर फ्रीक क्यारेक्टर’का मथिंगलमा चलिरहेको युध्दका बारेमा।

शान्ति शान्ति भन्दै दिनरात भजन गाउने मण्डलीहरुले सत्ताको फेर फेरमा समातेर हुच्ची खेलिरहेका बेला शान्ति कहाँ हुन्छ? मान्छेका मथिंगल त युध्दका लागि सबैभन्दा बढि प्रयोग हुने प्रयोगशाला हो जहाँ जस्तोसुकै युध्दको सफल परीक्षण र अभ्यास हुन्छ। यी फ्रीक बटुवाहरुका मथिंगलमा पनि त त्यस्तै हो नि! सागको भाउ र खल्तीको गक्ष, बत्तिको सेड्युल र भात पकाउने सेड्युल, पानी आउने पालो र निद्रा लाग्ने पालो, अफिस टाइम र जामको टाइमदेखि लिएर घर बनाउने चटारो र ऋण दिने बैंकको पारो, त्यसमाथि जिरो ब्यालेन्समा फ्री एकाउन्ट खोल्न उक्साउने ति बैंक र तिनले माग्ने ‘फ्यामिलि हिस्ट्री’जनित ‘बायो डाटा र एट्याच्ड कपीज अफ प्रुभन डकुमेन्टस्’ बिच घमासान युध्द त छ नि!

त्यो भन्दा पनि फ्रीकहरुले कतै रिभल्भर लिएर घुमिरहेका त छैनन्? भन्ने पनि लाग्छ। मथिंगलमा युध्द हुनेहरुले जुन सुकै बेला फायरिङ् सुरु गर्न सक्छन्। अझै विन्टरचोकमा कोहि नेता वा प्राइममिनिस्टरको क्यान्डिडेट आइपुग्यो भने त झन् त्यो प्रोब्याबिलिटिले लिमिट नै क्रस गर्छ।

हर बिहान पत्रिका पढिरहँदा र बेलुका रेडियो टिभीमा समाचार हेर्दा सुन्दा यी मथिंगलमा चल्ने युध्द त झन् हिंस्रक हुन्छ।

ओहो… माफ गर्नुस्, नोस्टाल्जिक एंगलमा गर्न खोजेको विन्टरचोकको पोर्ट्रेयल अर्कै भएछ।

विन्टरचोकको सेन्ट्रल ब्युरो अफ साइबर क्याफेको क्याबिनमा बसेर म दुई चार ट्वीट ठेल्दै छु अहिले। ‘दि नेक्स्ट क्याबिन’मा आऽऽ र उऽऽऽ को आवाज ट्रेन्ड्रिङ् रहेछ। हुन त जे फलो गर्यो, त्यहि ट्रेन्डिङ् हुने त हो। फेरि हु नोज, ‘डिसेम्बर ट्वेन्टीवन’मा जे पनि हुन सक्छ भन्या छन्। यहि मेसोमा दुई चार हजार ‘दि लास्ट किस’ वा अरु केहिको सहाराले मथिंगलमा युध्दविराम किन नगर्ने भन्ने ‘ब्रिलियन्ट आइडिया’ पनि फ्रीकहरुले लिएका होलान्।

म भने नेपाली ट्वीटेकै शैलीमा ‘दि लास्ट ट्वीट टील नेक्स्ट ट्वीट’ भन्दै ट्वीट्छु ‘विन्टर सक्स इन विन्टरचोक!’

2 responses to “विन्टरचोक, वार सेन्सेसन र फ्रीकहरु

प्रतिकृया लेख्नुहोस्