भिमे – १

नाम: भिमे।

पूरा नाम: भिम बहादुर तामाङ्।

(भिमे भन्ने नाम सुन्दा पक्कै अजँगको मान्छेको आकृति तपाईंको मगजमा आयो होला। अथवा महाभारतको सिरियलमा देखेको भिमको अनुहार वा कुनै नेताको अनुहार वा तपाईंले चिनेका अरु कोहि भिमे। यस्तो पनि हुन सक्छ कि भिमे तपाईंकै बोलाउने नाम वा नागरिकताको नाम होस्।)

वर्ष: साढे १२।

उचाइ: बढिमा साढे ३ फीट।

वर्ण: गहुँ गोरो, कसैकसैले चाहिं काले नि भन्छन्।

(अब चाहिं तपाईं लाइनमा आउनुभयो। जीउडाल महाभारतको भिमजस्तै बलिस्ठ देखिएपनि भिमेको गोलमोल अनुहार भने तपाईंले चिनेका भिम बहादुर नामका नेताको झैं निर्दोष देखिन्थ्यो। उचाइ चाहिं उ समान उमेरका केटाहरु अर्थात हामीभन्दा अलिकति थोरै।)

स्थायी ठेगाना: बिर्सें। पहाड भन्थ्यो।

अस्थायी ठेगाना: भक्तपुर जिल्ला, बालकोट गाविस।

परिवारमा: बाउ र भाइ। आमा उसको भाइको भाषामा ‘मामाघरमा छिन्’। गाउँलेको भाषामा ‘पोइल गई’। उसको बाउको भाषामा ‘मरी’। उसकै भाषामा चाहिं ‘फोटोमा छिन्’।

पेशा: विद्यार्थी।

रुचि: नपढ्ने। पाङ्ग्रा गुडाउने। कुरा गर्ने।

अब कथा सुरु गरौं क्यार!

भिमेको कथा: मितेरी

Bhime ko katha

यो भिमेको पूरा कथा होइन।

एकदिन पानी पर्यो। स्कुल छुट्टी भएर फर्किने बेला पानी रह्यो। राम्रै भयो। नत्र मेरो रेनकोट भिमेलाई र भिमेको भाईलाई समेत ओढाउँदा मेरो ब्यागसमेत भात हुन्थ्यो। रविन्द्रेले त उसको छाता कसैलाई छुनसमेत दिंदैनथ्यो।

भिमेको घर आइपुग्न लाग्यो। उसको घरतिर जाने बाटो छुट्टिने दोबाटोमा हाम्रै स्कुलका केटाकेटीले लाउने बेल्ट भेट्टायो रविन्द्रेले। खुसी भयो रविन्द्रे।

भिमेसँग आफ्नो बेल्ट थिएन। कारण टाइ-बेल्टका लागि स्कुलमा तिर्नुपर्ने ४ सय रुपैया उसको बाउसँग थिएन।

भिमेले रविन्द्रेलाई भन्यो, ‘तँसँग त छ है तेरै पेटी! मलाई दे न त्यो भेट्टाको चैं!’

रविन्द्रेले के दिन्थ्यो, ‘मैले भेट्टाको, तँलाई किन दिने?’

भिमे ठुस्स पर्यो र भाईलाई डोर्याउँदै हिड्यो घरतिर।

मैले सोचें, ‘भोलि भिमेलाई मेरो दाईको पुरानो बेल्ट ल्याइदिन्छु।’ घर पुगेपछि बिर्सेछु।

रातभरि पानी परेकोले अर्को दिन ग्राभल बाटो चिसै थियो। भिमेले मलाई मितेरी साइनोको बारेमा सुनायो। मित मित भएपछि खूब रमाइलो हुन्छ रे। एकअर्काको घरमा जाने आउने गर्न पाइने, जसकोमा सुते पनि हुने, अनि मामाघर पनि दुई दुई वटा हुने। एकअर्कालाई नमस्ते भन्नुपर्ने। एकै थालमा भात खाँदा पनि जुठो नलाग्ने रे।

रविन्द्रेले खूब चाख मान्यो मितेरी साइनोमा। ‘म नि मित लाउँछु अब।’

‘सँगसँगै घर हुनेहरुले मित लाउन हुन्न रे। टाढा टाढा घर भएकाहरुले लाउने हो मित।’ भिमेले बुझायो।

‘एऽऽ तँसँग लाउँछु नि त्यसो भए। तेरो घर पहाडमा हो क्यारे।’ रविन्द्रे उत्साहित भयो।

‘हाम्रो पहाड घर जान्छस् त?’ भिमेले सोध्यो।

‘जान्छु नि। मलाई कस्तो पहाड जान मन लाग्छ।’ रविन्द्रे तयार जस्तै भयो मित लाउन।

“ल त्यसो भए.. यो बाटोको माटो चिसै छ। यो माटो चोखो हुन्छ। यसकै टिका लाएर हामी मित लाम्। रुपे तेरो मान्छे, मेरो भाई मेरो मान्छे। हुन्छ?”

‘हुन्छ।’

‘तर मित लाइसकेपछि तैंले मलाई तपाईं भन्नपर्छ। अनि नमस्ते नि गर्न पर्छ। मेरो लुगा पनि तेरै लुगा हुन्छ, घर पनि तेरै हुन्छ। अनि तेरो पनि। हुन्छ?’

‘हुन्छ।’ पहाड जाने कुराले, दुई दुईवटा मामाघर भन्ने कुराले रविन्द्रे अघि नै मित लाउन तयार भइसकेको थियो।

भिमेले रविन्द्रेको निधारमा हिलोको टिका लाइदियो। रविन्द्रले पनि टिका लाइदिन खोज्यो। तर भिमेले लाउन दिएन। भन्यो, उसले पहिले लाइदिएको भएर उसलाई लाउनुपर्दैन।

भिमेको भाइ र मैले ताली बजाइदियौं।

रविन्द्रेले भिमेसँग मित लगायो।

स्कुलभरि चर्चा भयो। साथीहरु सबैले हात मिलाएर उनीहरुलाई बधाई दिए। दुवै खुशी भए। अझ रविन्द्र बढि खुशी देखिन्थ्यो। मास्टरहरुले पनि थाहा पाए। उनीहरुलाई देखेर मास्टरहरु मुसुक्क हाँस्थे। उनीहरु भने दिनभरि हात समाएर बसे-हिंडे-खाए।

घर फर्किंदै गर्दा पनि भिमे र रविन्द्र हात समाएरै हिंडिरहेका थिए। कुरा गर्दा तपाईं भनेर कुरा गर्थे। दोबाटो पुगेपछि भिमेले भन्यो,’ल मित, अब भोलि भेटौंला। बा आमालाई नमस्ते भनेको छ भन्दिनुस् है। अनि साँच्ची, तपाईंको पेटी निकाल्नुस् त एकचोटि।”

रविन्द्रे अलमल्ल पर्यो। पेटी खोल्यो। भिमेले रविन्द्रेको हातबाट पेटी लिंदै भन्यो, ‘ल त मित, आजदेखि तपाईंको पेटी म लाउँछु। तपाईं चैं हिजो भेट्टाको पेटी लाउनुस् है!’

रविन्द्रेले के बुझ्यो कुन्नी, खुशी भएर हस् भन्यो र नमस्ते गर्दै मेरो अघि अघि लाग्यो। भिमे भाईलाई डोर्याउँदै घरतिर लाग्यो।

मैले फर्केर हेरें। भिमेले पनि फर्केर हेर्यो, मलाई आँखा झिम्काएर मसुक्क हाँस्यो र उफ्रिंदै हिंड्यो। रविन्द्रे चाहिं ढुंगालाई लात्ती हान्दै हिंडिरहेको थियो।

भोलिपल्ट म स्कुल गइनँ। पर्सीपल्ट स्कुल जाँदा थाहा पाएँ, भिमेले रविन्द्रेलाई म नगएको दिन खै किन हो, भकुर्नु भकुरेछ।

***

5 responses to “भिमे – १

  1. भिमे, मेरो बुझाइमा हाम्रो समाजको एउटा प्रतिनिधि पात्र हो । जीवनमा मानिसले २ अवस्थामा ठग्छ रे चाहे आफैंलाई होस् वा अरुलाई
    १) कुनै कुरा/व्यक्ति/बस्तु अत्यन्तै मन परेको अवस्थामा त्यो प्राप्त गर्न ।
    २) जब गरिबी र अभावले ग्रस्त हुन्छ अनि त्यसबाट बच्न पनि ।
    यो कथामा, कथाको पात्र ‘भिमे’ सायद दुवै अवस्थाको शिकार भएको थियो । त्यसैले उसले सजिलो बहाना खोज्यो आफ्नै साथीलाई ठग्ने- ‘मितेरी’ र अनि त्यहि साथीलाई भाकुर्यो आफ्नो अभिस्ट पुरा भएपछी ।
    कथा राम्रो छ अनि कथाले दिन खोजेको संदेश पनि । बास्तबमा रुपेश दाजुले लेखेको कथा उहाँको आफ्नै कथा हो, मेरो कथा हो अनि हामि समग्र मानिसहरुको कथा हो । किनभने हामि स्वभावैले ‘स्वार्थि’ छौं जसले यो कथाको पात्र ‘भिमे’ ले जस्तै निकै धेरै व्यक्तिहरुसंग मितेरी गान्स्छौँ र अफ्नो स्वार्थ पुरा गरेपछी लात हान्छौं ।
    कथा मन पर्यो अब छिट्टै अर्को भाग पनि पढ्न पाइनेछ भन्ने आशा छ

    • @छुचो केटो – कथाभन्दा जोडदारको कमेन्ट आएपछि कम्ति गाह्रो हुन्न! धन्यवाद। यति केलाइदिनुभएकोमा।

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s