हुस्सु-सेतो अँध्यारो

लेख्न बस्नु र लेख्नुमा ठूलो अन्तर छ कमसेकम मेरा लागि। अक्सर लेख्न बस्दिन म। बाध्यता कहाँ छ र? बाध्यताले लेख्न बस्नुले कति सार्थक लेखिएला र जस्तो पनि लाग्छ। यसै पनि सार्थक लेख्न त सार्थक भोग्नु र सार्थक बाँच्नु पनि त पर्ला, जसमा म पारंगत पनि त छैन। कहिलेंकाहिं बिजुली चम्केजस्तो मस्तिष्कमा तरंग पैदा हुन्छ र लेखिन्छ अनि पो मजा हुन्छ बेजोडको। बेजोडको यस्तो मजाको अनुभव नभएको पनि निकै भइसक्यो। सायद त्यति भाग्यमानी छैन म।
सामाजिक संजालमा खेल्दै गर्दा चम्किएको बिजुलीलाई अलिकति साँचेर एउटा नयाँ कविता जन्माएको छु। अघिल्लो दिन फेसबुकमै हालेको कवितालाई अलिकति मलजल गर्न खोजेको छु। राम्रो भयो भएन, भन्न सक्दिन। तपाईंको लागि पस्किएको छु ब्लगमा जुन बितेका चार महिनामा गरेको यो पहिलो पोस्ट हुनेछ।

हुस्सु-सेतो अँध्यारो

राजधानीमा हुस्सु छ
हुस्सुभित्र राजधानी-राजधानीभित्र हुस्सु!

अन्धकारको रँग सेतो देखेका छौ?

हुस्सुको फेदसम्म
घामको निशानी मात्रै छ
सेतो-सेतो
भुवा-भुवाजस्तो हुस्सु।

यो सुकिलो हुस्सु
बन्दुकको नाल अघिल्तिर छाएको
त्रस्त सन्नाट्टाजस्तो छ ।

एक बथान परिचित कलाकारहरु
यो हुस्सुको सेतो क्यानभासमा
पुराना निजी ब्रसहरु घोट्छन्
काँच रंगाएजस्तो
र मान्छेहरु देख्छन् रंगीन राजधानी
कालो राजधानी
निलो राजधानी
पहेंलो रातो राजधानी
तङ्ग्रीएको घामले क्यानभास सुकाउन्जेलमा
सायद हुस्सु पानीजस्तो संग्लो हुनेछ
तर कलाकारहरु ब्रस घोट्न छोड्दैनन्
बस्
राजधानीमा अचेल घाम बिरामी छ।
कसैले देखेका छौ रंगीन हुस्सु?

रंगीन राजधानीको रंगमा रंगमंगिदैछन्
र बटुवाहरु आपसमा ठोक्किएर रगतपच्छे हुँदैछन्
सवारीहरु आपसमा ठोक्किएर क्षतिग्रस्त हुँदैछन्
राजधानीभरिका घण्टाघरहरु चुपचाप छन्
राजधानीबाहिर कस्तो छ?

हुस्सुले चलाएको हुकुमतमा
आँखाको डिलैमा बसेको चश्मासमेत देखिंदैन यता
देखिन्छन् त बदलिरहने रंगहरु।

राजधानीका छिद्रा छिद्रामा हुस्सु पसेको छ
यसैभित्र राजधानी विलय छ
सेतो अँध्यारोमा रंगीला राजधानी।

हुस्सुभित्र राजधानी-राजधानीभित्र हुस्सु!

सुन्नको लागि यहाँ क्लीक गर्नुहोस्।

6 responses to “हुस्सु-सेतो अँध्यारो

    • Thank you Ashik for visiting. Ya, I do write love poems, but very few. Check out कुनै दिन and others posted earlier. There are some love stories too if you like.

      Like

  1. “आँखाको डिलैमा बसेको चश्मासमेत देखिंदैन यता” साँच्चै कविताको एउटा उत्कृष्ट लाइन हो यो । कविता मनपर्यो । लेख्दै जानूस् । चार महिनाको लामो खाडललाई पुर्ने कोसिस गर्नोस् ।

    Like

प्रतिकृया लेख्नुहोस्