हिंड्दै गर्दा…

कथा

र आखिरमा भारी सुटकेश घिसार्दै म रेल चढें। सुटकेश भन्दा पनि भारी यो मनलाई रेलमा चढाउन सकस भयो। जसोतसो रेल चढें।

****

“जुनीऽऽऽ”

केहिदिन अघि घर जाँदै गर्दा हामी चुपचाप हिंडिरहेका थियौं। उसले सानो स्वरमा बोलायो।

“हजुर”

उसले केहि बोलेन त्यसपछि। केहि भन्न खोजेजस्तो तर केहि भनेन।

“गौतम!” एकछिनमा उसले जस्तैगरि मैले बोलाएँ।

“हजुर”  मैले जस्तै मतिर हेर्यो। म केहि बोलिनँ फेरि।

म जाने भएपछि उसको अनुहारको चमक हराएको थियो तर यति चुपचाप हामी कहिल्यै थिएनौं। विदाइको दिन नजिक आइरहँदासम्म पनि उसले त्यसबारे केहि प्रतिक्रिया जनाएको थिएन न मैले माग्ने साहस गरें। सायद हामी दुवैलाई त्यो भारी विषय थियो। साँझ ढलिसकेको थियो। हात समाउँदै हामी हिंडिरह्यौं। कतिबेला उसले मलाई विदा गर्यो, मैले चाल पाइनँ।

*****

अँ… म अन्तत रेल चढें। फर्केर प्लेटफर्मतिर हेर्न सकिनँ। सोचेकी थिएँ,  रेल चढेर ढोकाबाट पछाडि फर्केर अन्तिमपल्ट विदाइको हात हल्लाउनेछु। तर मनको भारले फर्केर हेर्ने मौका दिएन। यस्तो पनि लाग्यो कि फर्केर हेरें भने म जुन सफरका लागि स्टेशनसम्म आइपुगें, त्यो सफरले स्टेशनबाटै मसँग विदा लिनेछ।

विदाइको यो पल कुनै सिनेमाको दृश्य भइदिएको भए कस्तो हुन्थ्यो होला?

रेलमा चढिसकेर पनि सामान छोडेर म प्लेटफर्ममा बेस्सरी कुदेर उ भए ठाउँसम्म पुग्थें। उ आँखाभरि आँसु लिएर बाहु फैलाइरहेको हुने थियो। म उसको छातिमा टाउको लुकाएर बेस्सरी रुने थिएँ। उसले सुस्तरी मेरो चिउडो उठाएर मेरो अनुहार हेर्थ्यो र चुम्थ्यो अनुहारभरि। म चुपचाप उसलाई ग्रहण गर्थें धीत मरुन्जेल। एउटा पूरा जीन्दगी प्लेटफर्ममै बितेपछि विस्तारै रेल गुड्थ्यो र म बल्ल रेल चढ्थें, खुशी खुशी। म उसलाई आँखाले देखुन्जेलसम्म हात हल्लाइरहन्थें, रेलको ढोकामा अडेसा लागेर। उ पछि पछि आउँथ्यो कुदेर रेलसँगै। रेल गुड्दागुड्दै उसले मेरो हात समाएर चुम्थ्यो र विदा हुन्थ्यो। वा हुन सक्थ्यो, उसको छातिमा लुक्दालुक्दै मेरो रेल छुटोस् वा छुटाउँ र म रेल नै नचढूँ या यस्तो पनि हुन सक्थ्यो कि उ मसँगै रेलमा सँगै सफरका लागि आओस्। तर यो सिनेमाभन्दा धेरै परको दृश्य हो। यहाँबाट सिनेमा घरसम्म पुग्न पनि २-३ माइलको यात्रा तय गर्नुपर्छ।

यस्तो कहिल्यै लागेको थिएन मलाई। यो स्टेशन आज यसै अप्रीय लाग्दैछ मलाई। अझ यो स्टेशनमा बेला बेला बजिरहेको ध्वनि कति बेसुरको लाग्दैछ। रेल आउने जाने संकेत गर्दै बज्ने यहि ध्वनि हो जसले बग्रेल्ती कथाहरु जन्माउँछ र बग्रेल्ती कथाहरुको समापन गर्छ। कथाको सुरुवातले त्यसको अन्त्य पनि साथै लिएर आएको हुन्छ। मलाई कथाहरुको समापन मनपर्दैन। जति मन नपरे पनि केहिबेरमा बज्नेछ त्यो विरक्तलाग्दो ध्वनि र उस्तै विरक्तिका साथ यो ध्वाँसे रेल यहाँबाट हिंड्नेछ मलाई लिएर त्यो अन्जान शहरतिर। अघिपछि मलाई अनेकन कथाहरुको कोलाज लाग्ने यो स्टेशन फोहरको विसर्जन स्थल जस्तो लाग्दैछ जहाँबाट वैरागको गन्ध उडिरहेको छ निरन्तर।

स्टेशनमा मलाई विदा गर्न उसले आउँछु भनेको थिएन। त्यस अर्थमा खास आशा पनि थिएन उसलाई देख्ने या भेट्ने। जाने बेलामा भेट्दिनँ भनेको पनि होइन। यस अर्थमा भने भेट्ने आशै नभएको पनि होइन। जीन्दगीमा उसको आश गर्नु र नगर्नुबिचको यो तनाव कहिल्यै भएन। तर आशाको सिमाना पनि नहुँने रहेछ। यसकारण पनि कि उ भरोसा योग्य थियो। एउटी सामान्य केटीले निसंकोच विश्वास गर्न सक्ने पुरुष। त्यहि कुराले त हो, रेलभित्र चढिसकेर पनि म आफ्नो क्याबिनसम्म पुग्न रोकिइरहेको। यो भिडमा अनेकका मान्छेहरुसँग ठोक्किनु सामान्य हो। भीड छिचोल्न मलाई कुनै अप्ठ्यारो छैन। कठिन त उसमाथि मैले अकारण आश गर्नु र अकारण आश नगर्नुबिचको अलमल छिचोल्नु हो।

कतिबेला क्याबिनसम्म पुगुँ र झ्यालबाट प्लेटफर्मतिर हेरुँ भन्ने हतारोमा मैले त्यो अजँगको जुँगेलाई कस्तरी ठेलिछु।

“कति हतार हौ?” मैले सुने नसुनेझैं गरिदिएँ। क्याबिनसम्म आइपुग्दा अरु कतिलाई धक्का दिएँ, कतिको खुट्टा कुल्चिएँ, याद छैन। झ्यालबाट चिहाएर हेरें। बुबा आमा अघि जहाँबाट मलाई विदा गर्नुभएको थियो, त्यहिं उभिरहनु भएको रहेछ। आमा पछ्यौरीले आधी मुख छोपेर उभिरहनुभएको थियो। बुबा मेरो झ्यालतर्फ हेर्दै हुनुहुन्थ्यो। मैले गाह्रोसँग हाँसेर दुवैलाई हात हल्लाएँ र हातैको इसाराले जानुस् भनें। प्रतिक्रिया कुरीनँ। प्लेटफर्मभरि फेरि एकपटक हेरें। उसलाई कतै देखिनँ।

कति ढीट मान्छे छ उ। कमसेकम जाने बेलामा एकचोटि बाई भन्न आउन सक्थ्यो। वा फोन गर्न सक्थ्यो। मैले गर्न पनि सक्थें तर उसले नै गरेको राम्रो हो नि मैले आज जाने भनेर बताइसकेपछि। भुल्ने मान्छे पनि त हैन नि उ। मेरा हरेक कुरा याद राख्ने, यतिसम्म कि कुन दिन मैले के भनें भन्नेसम्मका कुरा ख्याल राख्ने मान्छे। मेरो आमाबुबा स्टेशन आउने कुराले उसलाई के समस्या? खुरुक्क आए हुन्नथ्यो? के फरक पर्थ्यो र?

आखिर यतिबेलासम्म पनि आएन। आऽऽऽ म मात्र किन पारो बनेर बस्नु? बसोस् उहि देवदास बनेर। मेरो पनि त नयाँ जीन्दगी सुरु हुँदैछ। अब २२ घण्टाको सफरपछि म एउटा बेग्लै दुनियामा पुग्नेछु। जहाँ उ मसँग हुनेछैन। उसको याद चाहिं भन्न सक्दिन। तर आखिर किन आएन उ मलाई विदा गर्न?

क्याबिनमा म एक्लै थिइनँ। म पुगेको एकैछिनमा एउटा सानो नेप्टे फुच्चे केटा अघि लाउँदै उसको दाजु या काकाजस्तो देखिने केटा पस्छ। क्याबिनमा पस्ने वित्तिकै अर्को झ्यालबाट त्यो फुच्चेले सकिनसकि टाउको र हात एकैचोटि बाहिर निकाल्यो। पर उभिरहेको उसको बाउ हुनुपर्छ। एक सय असी डिग्रीमा त्यो फुच्चेले हात हल्लायो। उसको बाउले मुखबाट गलबन्दी तल सार्दै हात हल्लाउँदै केहि भन्यो। यहाँसम्म सुनिएन। त्यो फुच्चेले के सुन्यो थाहा छैन। मैले उसको बाउको दाया बायाँ हेरें। कतै उ आइहाल्यो कि! अहँ छैन।

*****

एकदिन उसले मलाई भनेको थियो,”तिम्रो विहेमा पनि आउँछु म त।” मैले सोधेकी थिएँ,”किन आउँछौ?” उसले भनेथ्यो,”कन्यादान गर्न।” म रिसाएकि थिएँ। “कन्यादान तिमीले किन गर्नुपर्यो? जन्ती लिएर आउँछु भन्न सक्दैनौ? काँतर… डरछेरुवा।” उसको जवाफ,”म किन आउनु जन्ती लिएर? म त तिमीपट्टीकै मान्छे हो नि। जन्ती त उसैले ल्याउला नि!” कसले जन्ती ल्याउने कुरा गरेको हो उसले, न मलाई थाहा थियो न उसलाई। तर त्यो दिन हामीले अरु कुरा केहि गरेनौं। अर्को दिन अरु नै कुरा गरेर हामीले अघिल्लो दिनलाई भुल्ने प्रयत्न गर्यौं तर उसले भुलेन सायद र मैले पनि भुलिनँ।

विहेमा धरि आउँछु भन्ने मान्छे अहिलेसम्म आइपुगेन।

क्याबिनमा अर्को टोली पनि आइपुग्यो। ओहो, अघि मैले बेस्सरी घचेटेको जुँगे पो आइपुग्यो त। उसको पछि पछि उसको हात समाउँदै म भन्दा पनि ४-५ वर्ष कान्छी झैं लाग्ने केटी पनि आइपुगी। कपालभरि अधबैंसे बाक्लो सिउँदो भरेकी त्यो केटीका आँखा यति चंचल थिए कि अघिदेखि क्याबिनमा छुकछुक गरिरहेको त्यो फुच्चेभन्दा पनि चंचल। वैंश हराएको त्यो डरलाग्दो जुँगे त्यो केटीको बाउ हो कि लोग्ने? हात यसरी समाएको थियो कि पुलिसले चोरलाई हतकडि लाएजस्तो।

यो स्टेशनमा गौतमसँग म धेरैपल्ट घुम्न आएकी छु। प्लेटफर्मको त्यो कुनामा चिया खाँदै हामीले घण्टौं बिताएका छौं अनेकथरि कुरा गर्दै। यहाँ देखिने अनेकथरि मान्छेका संख्या भन्दा बढिपटक हामी बाझेका छौं र पनि बारबार बाझ्नको लागि हामी यहिं आउँथ्यौं। स्टेशनमा रेल चढ्ने र रेलबाट ओर्लने मान्छेहरु सधैं नयाँ लाग्थे। म बसेको क्याबिनमा यो केटीसँग आएको यो जुंगेजस्तै एउटा मान्छे चाहिं यस्तै साना साना केटीहरुसँग यसैगरि रेल चढ्थ्यो र हप्ता दश दिनमा एक्लै झर्थ्यो।

“यो सामान कस्को? तिम्रो हो बैनी?”

हँऽऽ म झसँग भएँ। झ्यालबाट आशाका आँखा कुदाइरहँदा मैले त आफ्नो सामानसम्म थान्को लाउन बिर्सेछु। “हो हो।” मैले सुटकेश सकीनसकी उचालेर माथि राखें। त्यो मान्छेले मलाई खाउँलाजस्तो गरी हेर्यो। उसको मुखबाट र्याल पनि बगिरहेजस्तो लाग्यो। हरे… यो केटी कस्को फन्दामा परी?

मैले वास्ता गरीनँ। फेरि झ्यालबाहिर आँखा पुग्यो। घामले छोपेको प्लेटफर्ममा मान्छेहरुको भिडमाथिबाट पिडाको धुवाँ वाफ्फिइहरेको थियो। रेलतिर फर्केर हल्लिहरेका हातहरु पानी उम्लिएर छचल्किएका पानीका फोका जस्ता देखिन्थे। परबाट उसकै छायाँजस्तो केहि देखें। मतिर हेर्दै चुपचाप उभिरहेको थियो त्यो छायाँ। अहँ मैले उसको अनुहार केलाउन सकिन, बस छायाँ उभिरहेको थियो हात बाँधेर चुपचाप… ।

*****

रेल झिक झिक गर्न थाल्यो। म आत्तिएँ। उसलाई खोजिरहेका आँखा अघिदेखि रसाउन थालिसकेका रहेछन्। मैले चालै पाइनछु। अब विस्तारै भेल पो बग्न थाल्यो। झ्यालको डण्डी समाइरहेका हातमा पसिना हो कि आँसु? या आँखाबाट बगेको भेल? यस्तो लाग्यो यो भेलले स्टेशन बगाउँदैछ। स्टेशनमा हात हल्लाइरहेका मान्छेहरु बाढीले बगाउँदा उल्लि बिल्ली भएर सतहमा तैरिन खोजिरहेका जस्ता देखिन थाले… किरिङ् मिरिङ्… किरिङ् मिरिङ् । स्टेशन अँध्यारो हुँदै गयो। कान शुन्य हुँदै गयो। अघिसम्मको स्टेशनको त्यो कल्याङ्बल्याङ् सबै विस्तारै हराउँदै गयो। मात्र धमिला आकृतिहरु देख्न थालें र कतै परबाट उसले मेरो नाम लिएर बोलाइरहेजस्तो मात्र सुनीरहें… जुनीऽऽऽ जुनीऽऽऽ

मृत्युको अघिल्तिर छटपटिरहेको मान्छेको अँग प्रत्यँगले काम गर्न छोडेझैं म कमजोर हुन थालें। भित्रैदेखि सुक्न थालें। ओंठहरु पनि कामिरहे झैं हुन थाल्यो। तर मलाई मृत्युदेखि डर भएन। बगाओस् पुरै स्टेशन यो भेलले । सँगै लैजाओस् यो रेललाई पनि। म यो भेलमा बग्न राजी भएँ तर उसलाई हेर्दै नहेरी, उसले विदा नगरी कसरी?

कसैले मलाई बेस्सरी अँगालो हालेर आड दिए हुन्थ्यो झैं भित्रदेखि भइरहेका बेला कसैले मेरो कुममा विस्तारै समायो। सकि नसकि फर्केर हेरें। गौतमले मलाई कम्मरमा बेस्सरी समाएर उठायो र अँगालो हाल्यो। त्यसपछि अघिदेखि मभित्र गुञ्जिरहेको त्यो उसको आवाज एकदम नजिक आयो।

म सुनीरहें…

जुनीऽऽऽ जुनीऽऽऽ

****

रेलले आफ्नो गति समायो।

*****

14 responses to “हिंड्दै गर्दा…

  1. गजब ! रुपेशजिको लेखाइ अलिअलि पढेको थिएँ, फेसबुकमा । पहिलोपटक ब्लगमा पढेँ । कविता राम्रो लाग्थ्यो । कथा पनि उस्तै गतिलो पाएँ । म बेकारको Flattery गर्न जान्दिनँ । मन पर्यो र मन पर्यो भने ।🙂

  2. हरेक पटकको वियोगमा यस्तै यस्तै हो ….यो पटकको वियोगमा जाने मान्छे फर्की फर्की हेरेको चै मजा लाग्यो….नत्र सामान्यत: रहने मान्छेले जाने मान्छे फर्कन्छ कि भनि आँखा नझिम्काई हेर्नु परेको स्थिति छ

    seemu

  3. Nice job sir, liked your writing as I always Had, I read this twice, but still i found it a little bit confusing for background of the plot, if was little clarified would have been better, but still its a wonderful piece of short writing, liked the composition of words, flow of feeling are awesum and presentation style are able to capture the reader till the end. and ya, I always like happy endings….
    Great work …

  4. कथा राम्रो लाग्यो, यसका लागि धन्यवाद । तर कतिपय ठाउँमा संगति नमिलेको हो कि जस्तो लाग्यो । कतै ‘गरेकी थिएँ’ र कतै ‘गरेको थिएँ’ लेख्दा Narrator को लिंग छुट्टिदैन । यद्यपि Narrator महिला हो भन्ने छुट्याउन कुनै समस्या छैन🙂

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s