स्मृतिबाट आधा घण्टा

कथा/२ सेप्टेम्बर २००८
यो बिहान उ गएपछि जब म उहि ब्राण्डको बास्ना उडाइरहेको थिएँ, म उस्तै अनुभवबाट गुज्रिरहेको थिएँ जुन भावमा प्राय: गरी म रन्थनिने गर्छु। हिजो राति त्यसैबारे केहि लेख्न खोजिरहेथें तर सकिन ।

त्यहाँ मान्छेहरु यत्रतत्र हिंडिरहेका थिए, आफ्नै खालका गति र स्टाइलमा । कलेज युनिफर्ममा केहि ह्याङ्की फ्याङ्की केटाकेटीहरु एकअर्कासँग गफ्फीरहेका थिए, मस्कीरहेका थिए। एक अधबैंसे पुरुष आफ्ना समयवहरुसँग चियाको चुस्की लिंदै सरकारी कार्यालयहरुमा कर्मचारीहरुले गर्ने व्यवहारबारे कड्कीरहेको थियो, घाँसे चौरमा बसेर। अनि बेला बेलामा राजनीति र आफ्नै घरायसी व्यवहारबारे पनि कुरा गर्दै थियो।

मैले बच्चाहरु भने आज देखिनँ त्यहाँ ।

मेरो टेबलमा चियाको कप बिसाएपछि त्यो पातलो फुच्चे वेटर भुतभुताउँदै गयो। “साला, हिजो उन्नाइस सयको व्यापार भयो रे एउटै ग्रुपबाट। आज ब्यानै आठ सयको व्यापार भैसक्यो। मलाई चाहिं सुक्को दिदैन । साला आफुसँग कट्टु किन्ने पैसा नि छैन।“ (अन्तिम वाक्य भने अलिक सानो स्वरमा) । उसले त्यसो भनेर भुतभुताइरहँदा मैले पछाडि फर्केर उसको अनुहार हेर्न भ्याइनँ।

केहि मिनेटमा मैले अर्को खिल्ली सल्काएँ । एउटा ३५-४० को मान्छे मेरो अगाडि आयो र मलाई केहि सोध्यो । मैले म ‘त्यहि’ मान्छे हो भनेर उसको अगाडि मुस्काउने प्रयास गरें । उसले आफ्नो बारेमा केहि बताउँदै थियो तर मेरो दिमागमा अर्थोकै केहि चलिरहेको उसले पत्तो पाएन। पछि मैले थाहा पाएँ कि उसले मलाई आफु पनि मेरै पेशामा रहेको सुनाउनु रहेछ। म चुपचाप बसेर पढिरहेको अभिनय गर्न उसले बाध्य बनायो उसले। टेबलमा पहिल्यैदिख एउटा ब्रोडसीट एक्लै परिरहेको थियो।

हिजो राति ठूलो पानी परेको थियो।

मैले आकाशतिर हेरें। खासै वादल लागेको थिएन आज न त घाम नै उस्तो लागेको थियो। मभित्र पनि त्यस्तै मौसम । म बसेको टेबल पछाडिबाट एकजोडी भित्री कोठामा पस्यो। मैले तत्कालै एउटा प्रेम कथा बनाएँ । त्यो केटाले आफ्नो इच्छा पुरा गरेपछि केटीलाई छोडेको एउटा जबरजस्त कहानी बुन्न मलाई समय लागेन। पछि त्यो केटीले आफुभित्र हुर्किरहेको ‘प्रेम’को नाउँमा जीवन बर्बाद गरी रे। वाह! क्या कहानी! अँ, थीम चाहिं उही मसालेदार फिल्मी त हो।

फेरि आफैं प्रसँग बदल्ने चेस्टा।

हिजो मेरो एक सहकर्मीले आफ्नो म्यागेजिनको आगामी अंकको लागि केहि लेखिदिन भनेको थियो । मैले वरिपरि हेरें, लेख्न सकिने केहि भेटीहालिन्छ कि भनेर । वरिपरि कथा बन्न सक्ने थुप्रै कुराहरु थिए । तर मैले लेख्न सक्ने कुनै भेटिन। आफ्नै बारेमा लेख्न खोज्छु म। अरुको बारेमा कमै लेख्न सक्छु । प्रयास किन नगर्ने ?  उसको याद आयो। उ कामका गएकी, पुग्न लागी होली। उसले भिसाको लागि एप्लाइ गरेकी छ। उसले मलाई एक्लै छोडेर जान पनि सक्छे। वा नजान पनि सक्छे। यदि गइ भने त्यो सदाका लागि पनि हुन सक्छ वा केहि वर्षका लागि मात्र पनि हुन सक्छ। जे पनि हुन सक्छ । उ बदलिन सक्छे। म बदलिन सक्छु। सबैभन्दा ठूलो कुरा, समय बदलिन सक्छ, हामी नबदलिन सक्छौं।

विश्वव्यापीकरण राम्रो विषय हो लेख्नको लागि । हामीसँग हाम्रो आफ्नै कला संस्कृति रितिरिवाज छ। कहिलेकाहीं यो वकवास विश्वव्यापीकरण र यी मृत संस्कृतिको कुराले दिक्क पनि लाग्छ। यी सब कुराले नै पो मलाई बदलिदिने हो कि भन्ने पनि डर लाग्छ । उ पनि बदलिइ भने? माने पनि नमानेपनि बदलावदेखि सबलाई डर लाग्छ।

मैले तेस्रो खिल्लीमा आगो लगाएँ। उ गएको आधी घण्टा बितिसकेछ। एकत्रित हुन सकिन। त्यो अधबैंसे दारीवाल अझै कड्कीरहेको थियो, चश्माको डाँडीमाथिबाट हेर्दै। दायाँ बायाँ कुनै जोडी देखिन्नन्। ती कलेजका केटाकेटी अब पारिको बगैंचामा पुगेछन्। अघिको त्यो मान्छे अगाडिको टेबलमा उसको साथीलाई गफ दिइरहेको थियो। त्यो फुच्चे वेटर अझै पनि आफ्नो मालिकलाई गाली गर्दैछ कि कसो? कि मलाई पो गाली गरिरहेको हो त्यसले?

उफ्… म परीक्षाको लागि ढिलो भइसकेछु।

2 responses to “स्मृतिबाट आधा घण्टा

  1. मलाई जसले पनि किन रूहाउछ
    सायद मेरो आखामा आशु सुहाउछ
    नरोएको रात छैन ,आशु पुछ्ने हात छैन
    आशुले मेरो सिरानी सधै नुहाउछ ,
    दुख धेरै भोगे मैले ढुंगा धेरै ढोगे मैले ,
    त्यही दैब देब्रे भएर धोका खुवाउछ
    मलाई जसले पनि किन रूहाउछ ,
    सायद मेरा आखामा आशु सुहाउछ

  2. जसरी नि सम्हाल्नु छ भाँडिएको मनलाई।
    आँफैबाट पर पर टाढिएको मनलाई।।

    आधा मुटु यतै छाडी आधा चुँडि लयो,
    एउटै गाँठो पार्नु छ बाँडिएको मनलाई।।
    आँफैबाट पर पर टाढिएको मनलाई।।

    त्यहीँ चोट त्यहीँ पिडा घातमाथी घातहरु,
    आँशुबाट उखेल्नु छ गाढीएको मनलाई।।
    आँफैबाट पर पर टाढिएको मनलाई।।

    आउ झिक पिडाहरु उद्धार गर्देउ मेरो,
    तिमी नै हौ हाँसो दिने फाँडिएको मनलाई।।
    आँफैबाट पर पर टाढिएको मनलाई।।

    जसरी नि सम्हाल्नु छ भाँडिएको मनलाई।
    आँफैबाट पर पर टाढिएको मनलाई।

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s