दर्शकजस्तै भएर

२०६२ भाद्र २३

आकांक्षाको झिसमिसे क्षितिजको पृष्ठभूमि, क्षितिजको केन्द्रमा प्रसँगको केन्द्रीय पात्र, सजीव पात्र, आशाको दिप्तीले प्रफुल्ल ज्योति, इन्द्रेणी-वादल-सूर्य-चन्द्र-ताराहरु-खोला-नदि नाला-बोटबुट्यानजस्ता प्रकृतिका सुन्दर अवयवहरुको चित्ताकर्षक अनि उत्कृष्ट समायोजन।
शेक्सपीयरियन परिभाषाको साँचोमा ढालिएको जीवनको अजीव तर यथार्थ चित्रण, मेरो कथामा आधारित नाटकको यो दृश्यांस ।


यहाँनेर मेरो भुमिकाको कुरा गर्दा न म आफुलाई नाटकको सुत्रधारको रुपमा उभ्याउन सक्छु, न निर्देशक, न त कुनै विशिष्ट भुमिकाको पात्र । आफ्नै कथा, आफ्नै नाटक तर मञ्चको कुनै कुनाको हिस्सेदार बन्ने सौभाग्य प्राप्त छैन । कतै पर, दर्शकदीर्घामा बसेर दूरदर्शी यन्त्रमार्फत् मञ्चमा आफ्नो उपस्थिति जनाएको कोरा कल्पना साँचेर बसेको छु कि जस्तो लाग्छ, जो बेला बेला मञ्चको दायाँबायाँ बल्ने दीपहरु, नृत्य मुद्रामा प्रकट हुने मायावी खलपात्रहरु, ओहोरदोहोर गर्ने पट्यारलाग्दा छायाहरुबाट विकर्षित हुन खोज्छ । केन्द्रीय पात्रसम्म पुग्ने मेरो कामना हुन्छ, नेपथ्यमा निरन्तर बजिरहने कल्याङ्बल्याङ् अनि खैलाबैलाबीचबाट चुहिएर मेरो अन्तरकामना त्यो ज्योतिरुप-कान्त, मेरो स्वसिर्जित पात्रसम्म पुग्न सक्दैन । बरु उसको श्रवणको दायरा अझै कुण्ठित हुँदै जान्छ, वरिपरिका विकर्षक माझमै, जसलाई म प्रमुखतम खलपात्रका रुपमा ठहर्याउन बाध्य हुन्छु ।

बालापनमा वर्षातको बेला कागजको सुन्दर डुंगा बनाउँथेँ, सडकको भेलमा हुर्याउँथेँ, एकछिन तैरिन्थ्यो, केहिबेरपछि वर्षातले फतक्क गलेर पछि हिलाम्मे हुन्थ्यो । अनि त्यतिबेला वर्षातलाई नै सत्तोसराप गर्न पुग्थेँ । दृश्य फरक, तर ठहर्याई झण्डै उस्तै उस्तै ।

मिलनको समागम नबिथोलियोस् भनी, चाँदनी रात अन्त नहोस् भनेर कामना गर्ने प्रीयतमा, चन्द्रमा र चाँदनीलाई सम्भव हुने भए आफ्नै विस्तरामुनि लुकाउँथिन् होली । म पनि अन्तरमनको कामनास्वरुप दुरदर्शी यन्त्रमार्फत मेरो नाटकको त्यो पात्रको पारदर्शी कवजभित्रको कोमलता स्पर्श गर्न खोजीरहन्छु तर चाँदनी र चन्द्रमालाई त्यो प्रीयतमाले आफ्नो विस्तरामा लुकाउन नसकेझैँ मेरो प्रयास पनि प्रयासमै मात्र सिमित रहन्छ ।

कोपर्निकसले पृथ्वी गोलो छ भनेर सबैलाई भनिदिए। यसैले त प्रत्येक कुरामा मोड भेटिन्छ । मोड द्वन्द्व हो र द्वन्द्व रचनाको सारभूत तत्व । यहाँनेर मोड, द्वन्द्व र रचना्, यी तीन कुरालाई नाटकसँग जोडेर हेर्दा भन्न सकिन्छ कि यी विना नाटक रहन्न, बन्दैन । जहाँसम्म पूर्व उल्लिखित नाटकको प्रश्न छ, यसमा यी तीनमध्ये दोस्रो, अर्थात द्वन्द्वको मात्र प्रभुत्व छ भने रचनाको स्थानमा विग्रहले राज जमाएको छ । यसमा कुनै उत्कर्ष छैन, छ त हजार शिखरहरु सिसिफसको शिखरजस्ता, जहाँ ढुंगो उकाल्नुको कुनै अर्थ छैन ।

यो रंगमञ्चीय चित्रण मेरो सडकको, जहाँ हरेक पचास मिटरमा ठडिएका ल्याम्प पोस्टहरुमा हजार वाटका बत्ती बल्छन्, अनि सडकमा कुद्ने प्रत्येक गाडीका दुई शक्तिशाली हेडलाइट बली नै रहन्छन्, अनि प्रत्येक बटुवाका साथमा कहिल्यै ननिभ्ने टर्च लाइटहरु छन् । त्यतिले मात्र नभएर हरेक साँझजस्तो मसाल र्याली हुन्छन् त कहिले दीप प्रज्ज्वलन- मैनबत्ती प्रज्ज्वलन । अरु त अरु पुत्ला जलाउने अविछिन्न कार्यक्रमका तालिकाहरु बनिरहेका हुन्छन् । तर पनि एउटै जाबो सूर्यले दिन बनाएजस्तो, उज्यालो रात बन्न सक्दैन यसैले त मेरो नाटकमा अन्धकार बढि हुन्छ । द्वन्द्व अन्धकारमै हुन्छ, अनि विग्रह पनि । कहिलेकाहीं स्वभाविक लाग्छ, नत्र चाँदनी, रातभर उमँगीत हुने प्रीयतमाको सिरानी प्रत्येक बिहानी भिज्ने थिएन होला, न त अन्धकारीय वादलकृत वर्षातलाई सराप्नुपर्थ्यो ।

कहिलेकाहीं अघिल्लो पंक्तीको दर्शकदीर्घामा बसिरहेको म जुरुक्क उठी सरासर मञ्चको केन्द्रमा लम्किएर त्यो दीप्त पात्रलाई बलात्कार गरुँ जस्तो खलनायकीय योजना कोर्न थाल्छु, ताकि त्यो बलात्कारीय चित्कारले अब उपरान्त त्यो पात्र मेरो व्यक्तिगत नाटकको मात्र पात्र हुने घोषणा गरोस् । तर छि: … मेरो नायकीय छवि शसक्त रुपमा मेरो खलनायकीय छविमाथि हावी हुन सफल हुन्छ । तापनि यहि नायकीय छवि गतिशील भइदिन्छ… कातर-लाछि-डरपोक-पानीमरुवाको घीनलाग्दो दीनहीन रुप धारण गरिदिन्छ र त म आफ्नै कथाद्वारा सिर्जित नाटकमा नायक हुन सक्दिन । अनि नायकहीन नाटकमा मोड कसले ल्याओस्, रचनालाई उत्कर्षमा कसले पुर्याओस् ।

म दुर-दर्शक यन्त्रले नाटक होइन, मेरो प्रीय पात्रलाई सकेसम्म नजिकबाट नियाल्ने प्रयास गरी नै रहन्छु…. दर्शक होइन, दर्शकजस्तै भएर ।

सुन्नको लागि यसमा क्लिक गर्नुहोस् । 

4 responses to “दर्शकजस्तै भएर

  1. सारै सुन्दर शब्द को मिश्रण . सारै मन पर्यो . तर मैले सार चै बुझ्न सकिन, दर्शक हुनु र दर्शक जस्तै हुनु मा के फरक देखौना खोजेको हो ?

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s