तिम्रो सम्झनामा

यस्तो होस् भन्ने थियो जिन्दगी, चल्तिको बेलगाम रेलगाडी जस्तो, रफ्तारको हावाको बेपर्वाह वेगजस्तो । तर त्यस्तो हुँदो हो त यस्तो महसुस कहाँ हुन्थ्यो, जस्तो यहाँ भइरहेछ, अलिकति पिडाजस्तो, अलिकति मिठास जस्तो । हो, मभित्र एउटा नमेटिने भावको रँग पोतिएको छ, अजीवको रमाइलो । मभित्र आशाले कुतकुती लगाइरहेको छ- अनौठोको आनन्द । प्रतिक्षाले मभित्रको ढोका ढकढक्याइरहेको छ, अलमलको उत्तेजना । तर बाटो बिर्सिएको मुसाफिरजस्तो कता कता हराइरहेको छ मन र सरकार नभएको देश जस्तो तिमीमा अवरुध्द छ जिन्दगी ।

तिमी यसै आयौ र गयौ । यस्तो मोड आयो, जहाँ तिम्रो मेरो भेट स्वभाविक भयो । अर्को त्यस्तै मोड आयो जहाँ तिमी र म उस्तै स्वभाविकतामा छुट्टियौं । एउटा मोडदेखि त्यो अर्को मोडसम्मको यात्रा उत्तिकै स्वभाविक । तिमीसँगको भेटबाट पन्छिने कुनै बहाना थिएन मसँग, सायद कुनै पल मैले साँचेको सपना नै पनि हुन सक्छ । तिमीसँगै अरु केहि पल सँगै हिंड्ने बाटो थिएन मसँग, मैले खोजेको पनि नहुन सक्छ । त्यो यात्रालाइ अविस्मरणीय नबनाउने चाह भएन मसँग, चाह हुँदो हो पनि सायद सफल हुने थिइनँ म । रेडियोमा बजिरहने गीतका पंक्तिहरु गुञ्जिरहेका छन् मेरो वरिपरि अहिले । भेटिएर छुट्नुभन्दा नभेटिएकै जातिऽऽऽ तर त्यसमा म सहमत हुन र सन्तुष्ट रहन सक्दिनँ । नभेट्नु मेरो वशको कुरा होइन र छुट्नु पनि मेरो काबुको कुरो रहेन, न त त्यो संक्षिप्त यात्राको स्मरण मेरो नियन्त्रणमा छ ।

तिम्रो बुझाइ के छ थाहा छैन । हुन सक्छ, त्यो संक्षिप्त यात्राका पलहरु तिम्रो स्मरणबाट धुमिल भएर बिलाइसके होलान् । त्यसो नभए त्यो भेटको अवसरका बारेमा तिमीले विवेचना गर्ने आवश्यकता नै ठानेकी छैनौ । त्यसो नभए त्यो आकस्मिक सहयात्राको अन्त्यमा तिम्रो कुनै गुनासो नरहेको हुन सक्छ । तिमी स्वतन्त्र छौ र तिम्रो स्वतन्त्रताको भरपुर सदुपयोग गर्न तिमीलाइ कसैले वाधा पुर्याउन सक्दैन । त्यो तिम्रो निजी कुरा, नितान्त व्यक्तिगत कुरा । नियन्त्रणमा त म छु । यो के को नियन्त्रण हो, यो कस्तो अवरोध हो म यसै बताउन सक्दिनँ ।

तर कसैले मलाई बताइदओस् न! तिमीसँगको त्यो सहयात्राका रँगीन छायाँहरु म भरि भरि नाचिरहन्छन् भने मेरो के दोष ?  त्यो अनपेक्षित भेटलाई सम्झि सम्झि प्रीय ठानेर म आफैंमा उन्मत्त हुन्छु भने मेरो के दोष ? मैले हिंड्ने गोरेटोहरुमा तिम्रो उपस्थितिको कामना मेरा आँखाहरुले गर्छन् भने मेरो के अपराध ? सायद मेरो गतिले सिमापार गर्यो,  तर त्यो मेरो गतिलाई तिव्रता दिने र सिमापार गराउने त त्यो तिमीसँगको सन्निकटता हो जुन सन्निकटताको म आज पनि उत्तिकै प्रतिक्षा गरिरहेछु । आज सिमापार म अलपत्र छु र फेरि पनि तिम्रो सन्निकटताको अपेक्षा राख्छु भने मेरो के गल्ति ?

अन्जान यात्रीहरु एउटै गोरेटो हिंडे पनि सधैंभरि अन्जान रहन सक्छन् । गोरेटो एउटै भएपनि उनीहरु बारबार नभेटिन सक्छन् । गन्तव्य उस्तै भएपनि गति फरक हुन सक्छ उनीहरुको । यस्तोमा तिमी मेरा लागि अन्जान थियौ र म तिम्रो लागि अन्जान । तिमीले फर्केर हेरेकी छ्यौ छैनौ, म जान्दिनँ तर मैले पटक पटक फर्केर हेरेको छु तिमीले हिँडेका पाइलाहरु । फेरि पनि त्यो क्षणिक सहयात्रा नै हाम्रो पहिलो र अन्तिम हुने हो कि म तर्सिन्छु भने मेरो के दोष ?

हो,  मलाई त्यस्तो नहोस् भन्ने लाग्दैछ । अन्जान यात्रीहरुको नियति व्यहोर्न म तयार छैन । म एउटा क्षणिक सहयात्राको स्मरणमा जीन्दगीको यो सफरभरि आत्मरतिले रंजित हुन चाहन्नँ न त त्यो स्मरणको भारीले व्यथित भएर प्रेमकविको झुत्रे डायरी नै बन्न चाहन्छु। मेरो चल्तिको बेलगाम रेलगाडीको सफरमा हर स्टेशनमा तिम्रो आगमनको चाहना हुन थालेको छ भनें भने तिम्रो प्रतिक्रिया के होला ? मेरो बेपर्वाह वायु वेगमा तिम्रो सुवासको कामना मैले गरें भने परिणाम के होला ? मैले चाहना राख्नु नराख्नु मेरो कुरा । मैले कामना गर्नु नगर्नु मेरो कुरा । तिमीले बुझ्दा पनि हुन्छ, नबुझ्दा पनि हुन्छ । जसरी लिए पनि, जसरी बुझेपनि तिम्रो कुरा । यस्तो पनि हुन सक्छ कि मेरो आशय मैभित्र रहोस्, मेरो अलमलाइ मभित्रै रहोस्, मेरो डरले मैंलाइ खाओस्… अलिअलि तयारी पनि चल्दैछ ।

सुन्छु, मान्छेहरु त्यो अलौकिक प्रीतको कथा भन्छन् । सुन्छु, मान्छेहरु बाजारु प्रेमको लिलाम पनि गर्छन् । म कता छु, मेरो प्रतिक्षाको वजन नाप्ने त्यो तुला कोसँग छ ?

12 responses to “तिम्रो सम्झनामा

  1. nikai bhawuk gajal lagyo malai ni yestai bhako thiyo jab usle chhadi gaki thiee but yesto bhawana lai prathamikta nadinu nai besi hola bhanne sallaha dine bichar matrai garna khojeko ho anyatha nalinu hune chha bhanne aasha rakhna chahahnchhu

    • धन्यवाद देवजी ! आउँदै गर्नुहोला मेरो ब्लगमा ।

  2. Speechless with your writing, u have said it so beautifully…..Feels so special to read sumthing like this…..whoso eva he/she is I pray you guys always have nice journey through out the life….

    • धन्यवाद रोजी । आउँदै गर्नुहोला मेरो ब्लगमा ।

  3. हाहा हो है जनकजी… तर मनको रँगलाई साँच्चै जीन्दगीमा उतारियो भने त साह्रै रँगीन पो हुन्छ त हौ !

  4. khai k bhanau ra sir…yasta Bhuwa jasta naram bhawana man ma aauchhan janchhan bhanne sochnu parla…jindagi mulo nirapkshya kaha chha ra, sapakshya chha ni. mod, ghumti, parichaya, samaya anusar man badalinu samanya kura manchhu ma chai. manchheko dimag badalinu hunna…man bhanya “Amiwa” jasto po ho ta hau….

  5. Awesome !!! You and your Feelings…

    It’s reality: अन्जान यात्रीहरु एउटै गोरेटो हिंडे पनि सधैंभरि अन्जान रहन सक्छन् । गोरेटो एउटै भएपनि उनीहरु बारबार नभेटिन सक्छन् ।

    Just enjoyed this piece…. Nostalgic…

    Bhakkano; the reality…🙂

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s