सद्दामको कुनादेखि जुठेल्नोसम्म

पुराना कविताहरुको डायरीबाट

वरिपरि जर्ज बुसका अमेरिकी छडहरु
टाउकोमाथि आकाशको नीलिमा छपक्क छोप्ने
ब्लेयरका भीमकाय अंग्रेज छानाहरु
माटोको वाष्प चिस्याइदिने
मुसर्रफका ओसिला पाकिस्तानी भुइँहरु
यी ज्वालामुखीका राता लाभाहरु
यी फनफनी फन्किने समुद्री वेगका हावाहरु
उ दाह्री झुस्स पालेर
आरोपले मैलिएको कालो कोटमा
दुनियाको एक कुना
ढस्समस्स ढुसी परेको छ
सद्दाम हुसेन ।

छि छि र दुर दुर
ती हेर्नेका
ति झेल्नेका
कर्णकटु वाणीहरु
यसलाई झुण्ड्याइदे
यसलाई सिध्याइदे
यसलाई निमिट्यान्न पारिदे
हामीलाई फेरि ती घाउहरु सम्झाइ नराख्
हामीलाई फेरि ती चिराहरु चहराइ नराख्
यो सद्दामलाई जलाइदे !

त्यो सद्दामको कुनाको परिधिमा
स्वचालित प्युसाहरु
त्रुस्त छन्
तर्सिएर ब्युँझन्छन्
झल्यास्स-झल्यास्स
रातमा
कतै लुकी लुकी धम्क्याउने लादेन
पड्काउने ताकत त गर्दैन ?

भग्नावशेष
काश्मिरी मृत वस्तीहरु
अचेल हेर्दैनन् लडाकूका काला अनुहारहरु
देख्दैनन्, सुन्दैनन्
बुस-ब्लेयर,
मुसर्रफका दुद्कारहरु
सद्दाम-लादेनका ललकारहरु
त्यो युगका
अलेक्जेण्डर दि ग्रेटका उद्गारहरु
“मेरो राष्ट्रमा घाम अस्ताउन्नँ !”
ती वस्तीहरु
मंगलका फोटा हेर्छन्,
जुनका माटो हेर्छन्,
कतै त्यहाँ गुरिल्ला छापामारका
पदचिन्ह त छैनन् ?

अचेलभरि म पुतलीसडकको पीचमा रुमल्लिन छोडेको छु
अचेलभरि म शान्तिवाटिकाको बगैंचामा भुल्न छोडेको छु
अचेलभरि म असनका चोकहरु छल्न छोडेको छु
अचेलभरि म नयाँ सडकका पीपल बोटहरुमा झुल्न छोडेको छु
म तर्सिन थालेको छु
बेला कुबेला बर्षिने
विद्रोही ढुंगाहरु
अर्थ न बर्थ नाच्ने
सरकारी लाठीहरु
कतिबेला बज्रिएला मेरो सपनाको घैलामाथि
छताछुल्ल होलान् मेरा कल्पनाका तलाउहरु
भताभुङ्ग होलान् मेरा घैलाका सुबुट्टाहरु ।

अचेलभरि म किन्दिनँ विश्वबजारका महँगा आइटमहरु
बुस्, ब्लेयर, मुसर्रफ
सद्दाम, लादेन अनि काश्मिरी वस्तीहरु
सुनको भाउ सुन्तला भारी भएको बेला
सिंहदरबारको लिलाम बढाबढ तीतो लाग्न थालेको छ
बसपार्कभरि छरिएका रोडम्यापका रेखाचित्रहरु किनेर
राता काला धर्साहरु खोज्ने
मेरो बानी
आफैंलाई घीन लाग्न थालेको छ ।

मैले रोल्पा, रुकुम, सल्यान, कैलालीहरुमा
किशोरी शान्तिलाई खोज्न चाहेको थिएँ
बग्दाद, रावलपिन्डी, काश्मिरहरुमा
शान्तिका चुलबुले सखीहरुलाई हेर्न चाहेको थिएँ
किनकि मनैमनले
अद्भूत स्वयम्भूका आँखासँग मैले
मन साटेको थिएँ
पिरतिको कसम खाएको थिएँ ।

हिजोआज समाधिमा लीन छु
मेरी बुढी आमाको काखभरि
विपुल सुन्दर धरती खोजिरहेछु
बुवाका विरताका कथा सुनाउने
मेरी आमाको मकै भुट्ने हाँडीभित्र
सेता उज्याला हिराका मन खोजिरहेछु ।

म अचेलभरि चोटा, मटान, बुइँगलभरि
छिडी र पिँढीमा
आँगन र रछानभरि
भान्सा र जुठेल्नोभरि
आशाको कुचो लाउँदै
शान्ति खोजिरहेछु ।
*******

6 responses to “सद्दामको कुनादेखि जुठेल्नोसम्म

  1. लेख्ने बानी त गर्नुपर्छ नि! अलि सुहाएन है! अब सम्झना राखौँ, गज्जब हुन्छ!

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s