धन्यवाद लेखक साथीहरुलाई

लेखन साँच्चै चुनौतिपुर्ण कला हो । लेखनका जुनसुकै विधा हुन्, हरेकका आआफ्नै सीप र कौशल हुन्छन् । कतिले लेखनलाई पेशै बनाएका छन् त कतिले रुचि । त्यसबाहेक मान्छेका स्वभाव र स्वार्थ अनुकुल लेखनका फरक फरक उद्देश्य हुन सक्छन् । तर पेशा होस् वा रुचि, उद्देश्य जुनसुकै होस्, लेखनले पाठकमा प्रभाव पार्न सकेन भने त्यसको खास ‌औचित्य हुँदैन । लेखनका क्रममा उठान गरिने विषयबारे सुचना/भाव र त्यसले लक्षित प्रभाव पाठकमा त्यतिबेला सहि अर्थमा पर्छ जब सार्थक लेखनका आवश्यक कौशलहरुको उचित प्रयोग हुन्छ (यहाँ ती कौशलहरुबारे चर्चा गर्न खोजिएको होइन)।

मलाई सधै‌ आफुमा खट्किने धेरै कुरामध्ये यो पनि एक हो कि लेखनलाई मैले आफ्नो जीवनशैलीको हिस्साका रुपमा अघि बढाउन सकेको छैन । खोतल्ने हो भने यसका थुप्रै कारणहरु हुन सक्छन् । केहि साथीहरु लेख्नको लागि मलाई प्रेरित गरिरहेका हुन्छन् तर अधिकतर ‘व्यस्तता’लाई म रेडिमेड बहानाका रुपमा उभ्याउने गर्छु, व्यस्त हुँदा पनि र नहुँदा पनि । कहिलेकाहीँ सोच्छु, के म साँच्चै लेखनमा रुचि राख्छु त? र यहि प्रश्नले मलाई थिलथिलो बनाइदिन्छ । फाट्टफुट्ट कविता, त्यो पनि छोटा, केहि मनोवादहरु र केहि हितैषीहरुको आग्रहमा केहि लेख लेख्दैमा सिमित छ, मेरो लेखनयात्रा । यसले मलाई पटक पटक हीनताबोध गराउँछ र म किन मेरा समकक्षी साथीहरुजस्तो राम्रो लेख्न सक्दिन भनी आफुलाई सोध्ने गर्छु ।

लेखनका लागि यथेष्ट अध्ययनको आवश्यकता पर्छ । साथै त्यतिकै अनुपातमा अनुभव भयो भने मौलिक लेखनमा टेवा पुग्छ । अनुसन्धान, पर्याप्त र निरन्तर जनसम्पर्क अनि हरेक कुराहरुको सुक्ष्म अवलोकन आदिले लेखन क्षमतालाई सशक्त र प्रभावकारी बनाउँछ । तर अर्कोतर्फ अभ्यास नहुँदा भने विषयमा जतिसुकै दक्ष हुँदा पनि लेखन सफल नहुन सक्छ । जस्तो एउटा चलचित्रकर्मीलाई चलचित्रकाबारेमा जतिसुकै धेरै ज्ञान भएपनि लेखनको अभ्यास नहुँदा चलचित्रका विषयमा लेख्न सक्दैन । तर अभ्यास भएको खण्डमा केहि अवस्थामा विषयका बारेमा थोरैमात्र जानकारी राख्ने व्यक्तिले पनि राम्रै लेख्न सक्छ । हिजोआज दैनिक पत्रपत्रिकामा प्रकाशित हुने केहि लेख र स्तम्भहरु त्यसका नमूना हुन सक्छन् ।

आफ्नै कमजोरीबारे लेख्दै गर्दा यहाँ एउटा कुरा उल्लेख गर्नु सान्दर्भिक ठान्दछु किनभने यी सन्दर्भबाट मलाई लेखन शील्पको विकासमा केहि आवश्यक गुणबारे ज्ञान दिएका छन् । यो वर्षको सुरुमै मैले तीन नयाँ लेखकका पुस्तकहरु पढ्ने अवसर पाएँ । ती सबै पुस्तकहरु लेखकहरु स्वयंको हातबाट उपहारस्वरुप प्राप्त भए । तीनवटा पुस्तकमध्ये दुईवटा फिक्सन थिए भने एउटा ननफिक्सन । फिक्सनमा कल्पना शक्तिशाली हुनु अत्यन्त आवश्यक हुन्छ । भाषा र प्रस्तुती शैली त्यसपछिका आवश्यक कुरा हुन्छन् । कल्पना बेजोड नहुन्जेल भाषा र शैलीले मात्रै लछारपाटो लगाउन सक्दैन भन्ने मलाई लाग्छ । प्राप्त दुई फिक्सनमा एउटामा कल्पनाको अधिक प्रयोग पाएँ । सो पुस्तक लेखकको कल्पनाले म जस्तो सामान्य पाठक त चकित नै हुन्छ । तर त्यहि पुस्तक मेरा लागि खासै पठनीय रहेन, कारण त्यसमा उभ्याइएका काल्पनिक पात्र कुनै पनि कोणबाट पनि स्वभाविक लाग्दैनन् । पुरै स्टोरीमा, जुनसुकै प्रसँगमा पनि र जुनसुकै पात्रमा लेखक नै हावी भएको देखिन्छ र त्यो साह्रै उदेकलाग्दो देखिन्छ । तर प्रतिक्रिया दिनैपर्ने बाध्यताका कारण अगाडिदेखि पछाडिसम्म पढेपछि केहि समय त अरु केहि पढ्नै मन नलाग्ने भयो ।

पहिलो भन्दा ठिक विपरित थियो अर्को फिक्सन । एकदम थोरै कल्पना, एकदम बाँधिएको विषय परिधि । लेखकले केहि ठाउँमा पाठकलाई भावनामा बगाउन प्रयास गरेको पाइन्छ तर विषय र सन्दर्भको एकदम खराब संयोजनले गर्दा ठिकै लागिरहेको पठनमा पनि विराम हुन्छ । र त्यसैकारण पछिल्लो फिक्सन मैले पूरा गर्न सकिनँ ।

तेस्रो थियो ननफिक्सन । व्यक्तिगत अनुभवका आधारमा लेखिएको पुस्तकमा भाषा साह्रै सरल । पुस्तकमा लेखकले जस्तो भोगेका छन् त्यस्तै लेखेका छन् । आफ्नो भ्रमणहरुका क्रममा देखेका शहरहरु, भेटेका मान्छेहरुका बारेमा लेखकले आफ्नै तरिकाले सहजै लेखेका छन् । देशमा भएका परिवर्तनहरुलाई लेखकले जस्तो रुपमा देखेका छन्, त्यस्तै लेखेका छन् लेखकले । बनावटी कुरा कतै पाइदैनन् । बढाईचढाई जसलाई हामी एक्जाजेरेसन भन्छौँ, त्यस्तो अवस्था कतै पाइदैन । त्यसैले मलाई पछिल्लो ननफिक्सन पठनीय लाग्यो । पुरै पढिसकेपछि पुस्तक पुन दोहोर्याउँदैछु ।

त यसरी फरक पुस्तकहरुमा मैले पाएका सबल र दुर्बल पक्षले मैले आफुमा भएका कमजोरीहरु पहिल्याउने अवसर पाएँ । मेरा तीनै नवलेखक साथीहरुमा सादर धन्यवाद ।

5 responses to “धन्यवाद लेखक साथीहरुलाई

  1. अरू जस्तो लेख्‍न सकिराखेको छुइनँ भन्ने प्रसङ्ग उप्काइ-उप्काइ कति सजिलो गरी गहन कुरा लेख्‍नुभयो । यो लेखोटभरि फेलिँदा मैले तपाईँमा लेखकीय इमानदारी भरपूर पाएँ । आफ्नो सीमा र व्यापकताबारे यति खुलस्त्याइँ प्रकट गर्न सकेपछि त्यो व्यक्ति पक्कै लेखक बन्न सक्छ-सक्छ ! उदार सोच र आत्मसमीक्षा नै लेखकको खुड्किलो हो । “के म साँच्चै लेखनमा रुचि राख्छु त?” भन्ने प्रश्‍न पनि आफैँमा लेखकीय चासोकै अभिव्यक्ति हो जस्तो लाग्छ । लेखनमा रुचि नराखी को पो घोत्लिएला यस किसिमका विचारमा ? को पो प्रश्‍नले आफैँलाई रन्थन्याउँला ?

    हो, परिस्थिति, समय नमिलेर सधैँ लेखनलाई साथी बनाउन साद्य चल्दैन । त्यसो त लेखन नै जीवन भएकाहरूको हातबाट पनि यदाकदा कलम टुट्न सक्छ । यसमा हीनताबोधको के कुरा, समय र व्यवहारसँग सामाञ्जस्य ,मिलाउने विविध यत्‍न हुन् ती बाहिरी काम ।‍

    प्रयोजनपरक लेखन लेखक बन्ने बाटोमा तगारो हो कि भन्ने लाग्छ । अर्थात् फर्मायसी लेखन । अह्रनखटनमा मात्र लेख्‍ने । अनि लेखनमा जाँगर नचल्नुको अर्को जड चाहिँ लेखाइको प्रयोजन र औचित्यको रनभुल्ल अवस्था पनि हो । लेखेर के गर्ने ? कहाँ छाप्ने, कसका लागि लेख्‍ने आदि । यसै तिरीमिरीले लेखाइको क्रममा तुवाँलो उभ्याइदिन्छ । तर लेख्‍ने हो आफ्नै लागि, आफ्नै तृप्‍तिका लागि । यो भएपछि जसरी पनि लेखिन्छ । र तृप्‍तिको ले्खाइमै बाँधिएर समाज र सामूहिकताका भावहरू हाम्रो प्रस्तुतिमा नआई कहाँ जालान् र ?

    बाँकी, लेख्‍नका लागि अध्ययनको ऊर्जा त अकाट्य नै हो ।

  2. कुन-कुन किताब हुन् र कस्का हुन् भन्ने थाहा लागेन, तर तपाईँको लेख भने मन प-यो। धन्यबाद तपाईँलाई! जय होस्!

    • Dhanyabaad. Pustak ko samikshya lekh ko udeshya nabhaeko hudaa pustak kaa naamharu ullekh garnu aawasyak laagena.

      • पुस्तकका नामहरू उल्लेख गरिदिनुभएको भए अरूलाई पनि लाभान्वित हुने बाटो खुल्थ्यो, पढेर तपाईँको पाठकीय ठम्याइसँग तुलनाँको मौका मिल्थ्यो । सुनमा सुगन्ध । र पनि ठीकै छ ।

    • बसन्त दाइ , त्यो नन फिक्शन चै देवेन्द्र भट्टराई को “”रेगिस्तान”” हो …..others i don’t know !!!!

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s