गन्थन-३

गर्मी र लामखुट्टेको संयुक्त कारबाही सुरु भएको छ काठमाडौँमा । राम्रो तालमेल गरेका छन् यी दुईले । आक्रमण कुनै फरक विद्रोही समूह वा सैन्य दस्ता माथि होइन, भेडा प्रजातिका सबैभन्दा उन्नत जीवमाथि अर्थात नागरिक भनिने मान्छेमाथि गर्छन् यिनीहरु । क्रसफायरमा अरु पनि पर्लान्, त्यो त हरेकजसो युद्धमा हुने कुरा भैहाल्यो । जे जस्तो भएपनि खासमा यीनको तालमेल खास्साकै देखिन्छ । भवितव्यले पनि यीनको आक्रमणलाई पूर्ण सफल बनाउन कुनै कसर छोड्दैन ।

भनिहालेँ, यीनको प्राथमिक शिकार भनेको मान्छे हो । पहिलो आक्रमण गर्मीले सुरु गर्छ । गर्मीको आक्रमणले आहत हुन्छ शिकार । त्यसपछि गर्मीमाथि प्रत्याक्रमण गर्ने हेतुले शिकार अर्थात् मान्छेले घरका झ्याल, ढोका, भेन्टीलेटर जे छन्, सबै खुला गर्छ । तर यो प्रत्याक्रमण भन्दा पनि थप आक्रमणका लागि निमन्त्रणा बन्छ, लामखुट्टेको ठूलै दस्ताका लागि यो निशुल्क प्रवेशाज्ञा सावित हुन्छ । र सुरु हुन्छ लामखुट्टे चरणको अर्को भीषण कारबाही ।

यो संयुक्त कारबाही यस्तो संयोगमा हुन्छ, जतिबेला राज्यले नागरिकको बाँच्न पाउने अधिकारमाथि अनाहकमा धावा बोलिरहेको हुन्छ, देशभरि बत्ती निभाइदिएर । यस्तोमा राज्यले सुरक्षा दिनु त कपोलकल्पित कुरा हुन्छ या कसैले भनेजस्तो ‘हाइपोथेटिकल’ । नागरिकले आफ्नो स्तरबाट यो संयुक्त कारबाही विरुद्ध प्रत्याक्रमण गर्ने मौका समेत पाउँदैन । त्यसमाथि कतिसम्म हुन्छ भनेँ यो अत्यासलाग्दो युद्धमा लामखुट्टेहरुका लागि गजबको आश्रयस्थलहरुको स्रीजना गरिन्छ, युद्ध मोर्चामा खडा गरिने क्याम्पजस्तो । कतैतिर एउटा समूहले ‘आन्दोलन’ भनेर गर्जन गर्छ र शहरमा फोहरका त्यस्ता ठुल्ठुला क्याम्पहरु निर्माण हुन्छन् । झण्डै ६-७ महिनासम्म भूमिगत बसेर दुब्लाएका मरन्च्याँसे लामखुट्टेको फौज यसप्रकारको व्यवस्थाले खुबै तन्दरुस्त हुने सौभाग्य पाउँछ । र ती तन्दरुस्त लामखुट्टेको आक्रमणमा नागरिकहरु निरिह बन्छन् । हत्तपत्त यस्तो सहज वातावरणमा कुनै पनि सैन्य दस्ताले आक्रमण बुन्न पाउँदैन, अमेरिकी सेनाले पनि पाउँदैन । वास्तवमा यसले गर्मी र लामखुट्टेको यो संयुक्त कारबाही रणनीतिक रुपमा अत्यधिक सफल भएको मान्नैपर्छ ।

यस्ता आक्रमण शहरका सबैजसो भागमा झण्डै एकै समय हुने गर्छ । दूरदरारका गाउँमा आक्रमणको आकारप्रकार कस्तो हुन्छ भन्नेबारे यहाँ उल्लेख गर्न सकिँदैन किनकि यस्तो बेला अधिकतरजसो संचारसाधनको प्रयोग वर्जित त होइन, प्रयोगविहिन हुन्छ । सायद शहरमा भन्दा पनि भीषण हुन्छ होला, राजधानी शहरभन्दा बाहिर । शहरमा पनि डरलाग्दै कारबाही हुन्छ । मेरो झुपडी अपवाद कसरी हुन सक्छ ?

मेरो झुपडीको अलिक परतिर भने एउटा शानदार भट्टी छ । अरुहरु त्यसलाई ‘बार’ भन्दा रैछन् । त्यहाँ पनि यस्तो आक्रमण हुँदो हो-होओइन, थाहा छैन । तर धेरैजसो जब मेरो झुपडीभित्र आक्रमणले म घाइते भएर थलिन्छु, अनि त्यो बार नामको भट्टीबाट एउटा बेसुरको धूनमा एउटी केटीले गाएको सुनिन्छ,” अजिव दासता है यहऽऽऽ”

यो गन्थनको तेस्रो श्रीङ्खला हो । पहिलो र दोस्रो श्रीङ्खला पढ्न यहाँ जानुपर्छ ।

गन्थन – १

गन्थन – २

3 responses to “गन्थन-३

  1. शब्द शाब्द चोटीलो छ दाई
    गन्थन–४ चाडै पढन पाइयोस

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s