एफ एम रेडियो-Media Trend in Nepal

कुनै बेला टेलिभिजन भनेको धेरैका लागि नसुनेको चराका नाम थिए । आज यी विद्युतीय संचारका माध्यम कतिको लागि रुचिको विषय बनेको छ त कतिको लागि पेशा अनि कतिको लागि व्यापार कमाउने भांडो । मेरा एक जना सहकर्मी मित्रले भनेको कुरा म बेला बेला सम्झिने गर्छु । उनले एक प्रसंगमा भनेका थिए, स्वयम्भूको डांडामा क्रिकेट खेल्ने हो र मज्जाले छक्का बजाउने हो भने त्यो बलले पक्का पनि एउटा न एउटा एफ एम स्टेशनको झ्याल फुटाउंछ । यो कुरा एकदमै सान्दर्भीक लाग्छ, किनभने आज काठमाडौंमा कतिवटा एफ एम बज्छन् भन्ने कुरा कतिपय रेडियोमै काम गर्नेहरुलाई पत्तो हुन छाडिसक्यो ।
रेडियोको कुरा गर्ने हो भने २०५२ सालमा एफ एम काठमाडौंको सुरुवात पछि राजधानीमा मात्र होइन, मोफसलमा पनि एफ एम स्टेसनहरु खुल्ने क्रम तीव्र भयो र आजको मिति सम्ममा राजधानीमा मात्र २५ वटा भन्दा बढी एफएम संचालित छन् भने देशभरीमा गरी २ सयको हाराहारिमा । तर यहां मैले चर्चा गर्न खोजेको विषय भने एफ एम र टेलिभीजनको संख्या भन्दा अलिकति फरक छ ।
गएको साल २०६४ मा मैले कम्तिमा दर्जन जति रेडियो उद्घोषण तालिम कार्यक्रममा सहभागिता जनाएं । तीमध्ये ३ वटा मैले आफैंले संचालन गरेको थिएं भने अरु अन्य विभिन्न संघसंस्थाले आयोजना गरेका थिए । राजधानी बाहिर पर्ूवान्चलको धनकुटा र धरानमा स्थानीय रेडियोले संचालन गरेका तालिममा सहभागीता जनाउने अवसर पाएं । यो क्रममा कम्तिमा ३ सय प्रशिक्षार्थीहरुलाई रेडियो, रेडियो उदघोषण र रेडियो कार्यक्रमका विषयमा प्रशिक्षण दिएको अनुभव मैले कमाएं । यो आंकडाले पनि स्पष्ट हुन्छ, मानिसहरुमा रेडियोमा प्रवेश गर्ने चाहना कत्तिको छ भनेर । विशेषगरी युवा पुस्ता यसमा धेरै छन् । रेडियोमा काम गर्ने मध्ये पनि अधिकांस त १७ देखि २५ को उमेर समूहका छन् ।
एफ एम रेडियोको १२ वर्षो इतिहासमा यिनीहरुको उल्लेखनीय सकारात्मक पक्ष भनेको ६१/६२ को जनआन्दोलन ताका यिनीहरुले गरेको तीव्रतर सूचना प्रवाहको काम हो । त्यसबाहेक नेपालमा जतिबेला देखि एफ एम रेडियोको उदय भयो, त्यतीबेला देखि नै यसको धज्जी उडाउने एकथरी बौद्विक भनिने समूदाय थियो । युवा श्रोताप्रति लक्षित सामग्रीहरुले अधिकतम स्थान पाएकाले पनि एफएमले नेपाली संस्कृतीमाथि धावा बोलेको उनीहरुको भनाई झण्डै सान्दर्भिक नै लाग्थ्यो । तर यसरी आलोचीत हुनुमा विश्वव्यापीकरणको मान्यता नबुझ्ने कुनै कथित बौद्घकि समूदायको मात्रै दोष भने पक्कै पनि होइन ।
गएकै वर्षको कुरा हो । एउटा एफ एम स्टेशनमा केहि नयां आरजे नियुक्त गर्नुपर्ने भयो र आवेदकहरुको अन्तवार्ता लीने समूहमा म पनि परें । १० जनाको लागि आवेदन आह्वान गरिएकोमा आवेदन पर्यो ७ सय चानचुनको । अब आवेदनकै आधारमा व्वक्तिको क्षमता जांच कसरी गर्न सक्नु , त्यसैले सबैलाई अन्तर्वार्ता लीने निर्णय भएपछि अन्तर्वार्ता लिन बसियो । ताजुबलाग्दो कुरा, ७ सय चानचुन आवेदक मध्ये ५० प्रतिशत आवेदक भर्खर एसएलसी उत्तिर्ण भएका । बाकी ५० प्रतिशतमा पनि स्नातक गरेका एकदमै थोरै -एसएलसी मात्र उत्तिर्ण गर्नेले रेडियोमा बोल्न सक्दैन भन्ने अर्थमा भने होइन । आवेदक मध्ये धेरैले राजधानीमा ५ सय देखि ३ हजारसम्म तीरेर रेडियो उदघोषणको तालिम लिएको पाइयो । तर रेडियोमा कस्तो कार्यक्रम संचालन गर्ने, किन गर्ने र कसरी गर्ने भन्ने हेक्का कमैमा पाइयो । उनीहरुलाई कार्यक्रम चलाएर सुनाउनुस् न त भन्दा फोन इन कार्यक्रम र गीत बजाएर बोलेको जस्तो गर्ने बाहेक निकै थोरैले मात्र नयां किसिमको कार्यक्रमको प्रस्ताव गरे । यस्तो परिणामले अन्तर्वार्ता लिन बसेका सबैजसो सहकर्मी निराश भए । रेडियोमा प्रवेश गर्ने चाहना बोक्ने योे अथाह युवा समूदायको भन्दा रेडियोमै काम गरिरहेकाहरुको कथा पनि धेरै फरक छैन । केहि रेडियोकर्मीलाई छोड्ने हो भने र समाचार शाखामा काम गर्ने केहि पत्रकारलाई छोड्ने हो भने अधिकांस रेडियोकर्मी एफएमलाई सिक्ने र छोड्ने ठाऊंको रुपमा प्रयोग गर्छन् । यस प्रकारको कोटिमा पर्नेहरु पछि गएर कि त विदेश हानिन्छन् त कति यत्तिकै बिलाएर जान्छन् । अध्ययन गरेर र दक्ष भएर रेडियो प्रवेश गर्ने युवाहरुको संख्या एकदमै न्युन छ । अझै शैक्षिक योग्यता उत्कृष्ट भएकाहरु त झनै कम छ । शैक्षिक पृष्ठभूमि उती राम्रो नभएका र उरन्ठेउला गफाडीहरुको जम्ने राम्रो ठाउ बनेको छ, एफ एम रेडियो भन्दा रेडियोमै काम गरेको अनुभवले भन्न मलाई उति अप्ठेरो लाग्दैन । यो कुरा अधिकांसमा लागू हुन्छ, सबैमा होइन । अचेल चल्तीका आरजेहरु बढी छन्, बिकाउ र टिकाउ होइन ।
संचार कर्ममा प्रवेश गर्नको लागि समाजिक अध्ययनको औधि खांचो रहन्छ । अध्ययनको अर्थ किताबी अध्ययन मात्र भन्ने होइन । आफ्नो मुलुकको मात्र नभएर समग्र विश्वको आर्थिक, सामाजिक र राजनितिक ज्ञानले व्यक्तिलाई संचार्रकर्ममा लाग्नको लागि योग्य बनाउंछ । यतिले मात्र नपुगेर कुनै विषयमा दक्षताका अलावा यसमा लाग्नको लागि अभिव्यक्ति क्षमतामा उत्कृष्टता आवश्यक पर्दछ । यसो हुंदा श्रोताले चाहेजस्तो कार्यक्रमहरु रेडियोकर्मीले दिन सक्छ । रेडियो स्टेशनको शैली र विशिष्टता अनुसार त्यहां काम गर्ने रेडियोकर्मीले आफ्नो विषय र प्रस्तुती दिनुपर्छ । जस्तो कि संगीतलाई प्रश्रय दिने रेडियोमा काम गर्नेसंग संगीतका सात सूर देखि “प्लाष्टिक पप” सम्मको ज्ञान हुनुपर्छ -प्लाष्टिक पप भनेको पप संगीत भित्रको पनि छुट्टै विधा हो)। भाषा, अनुशासन, शालिनता, आवाजमा माधुर्य लगायतका कुराहरु त्यसपछि आउंछन् ।
भाषाको कुरा गर्दा मैले रेडियोमा पहिलोपटक बोलेको सुनेपछि मेरा पूज्य हजुरबुवाले मलाई दिनुभएको सुझाव यहांनेर सान्दर्भिक लाग्छ । उहांले मलाई रेडियोमा समाचार भन्दा ह्रश्व दीर्घ स्पष्ट सुनिने गरी पढ् भनेर भन्नुभएको थियो । अचेल रेडियो सुन्दा अरुले पनि मेरा हजुरबुवाको सुझाव मान्नुपर्ने जस्तो लाग्छ, भलै मैले त्यो गर्न सकें सकिनं, मलाई थाहा छैन ।
समस्याको उठान गरेपछि त्यसको समाधान निकाल्नु श्रेयस्कर होला । अब के गर्ने त ? नयां पिढी जो रेडियोमा प्रवेश गर्न चाहन्छ, उसले अब अध्ययनलाई जोड दिनु आवश्यक छ । संस्कृति, इतिहास, परम्परा, भाषा, विज्ञान, प्रविधि, अर्थ, राजनीति, साहित्य र संगीत नवप्रवेशीहरुले अध्ययन गर्नुपर्ने विषय हुन् । त्यसबाहेक संचार्रकर्ममा लाग्न चाहनेहरुले आफ्नो विचार र आचरण स्वच्छ बनाउनुपर्छ, किनकि संचार भनेको समाजलाई आचरण सिकाउने क्षेत्र हो । मैले म समान उमेरका र मेरा सबै प्रशिक्षार्थीहरुलाई प्रशिक्षणको पहिलो दिन गर्ने आग्रह र अरु मित्रहरुलाई दिने सुझाव यहि हो ।

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s