कथा
एक साँझ, त्यसैगरि म उसको अफिसको गेट अगाडि बाइक रोकेर बसिरहें।
साँझ सधैं उस्तै त हो, अलिकति उज्यालो, अलिकति अँध्यारो। मन पनि उस्तै, अलिकति अँध्यारो अलिकति उज्यालो। अथवा अलिकति उज्यालो अनि अरु अँध्यारो। वर्षातको याम हुँदो हो त झरि पनि हुन्थ्यो होला साँझसँग। दिनको झरि र साँझको झरिमा पानीमात्र समान हो, बाँकी सबै फरक। बाँकी भन्नाले के के? बाँकी भन्नाले थकान, आलस्य, ओसिलोपन, बोझिलोपन अनि अरु धेरै कुरा। साँझ त्यसैले साँझ हो र साँझमा कुर्नुको मतलब पनि फरक हुन्छ, त्यो पनि अफिस अगाडि।
अफिस गजबको ठाउँ हो। अफिसमा मान्छेहरुका कुरा गजबका हुन्छन्। आफ्नो भन्दा अरुको अफिस गजबको लाग्न सक्छ अझै। आफ्नो अफिसमा त तनावबाहेक के नै हुन्छ र? उसको अफिस पनि गजबकै थियो होला। सँगै काम गर्ने साथीहरु, साथीहरुसँग हुने गफगाफ-मोजमस्ती.. खै मोजमस्ती भन्या के हो! अफिसको अर्को गजबको कुरा भनेको एकाध सहकर्मीबारे हुने कानेखुसी र चर्चा पनि हो। कमसेकम यो चाहिं सबैको अफिसको विशेषता होला… चियोचर्चो, अलिकति हल्ला अनि छेडखानी।
अफिसको गेट खुल्यो। कोहि बाहिर निस्कियो। सामान्यतया उसका अफिसका प्रायलाई म चिन्दछु र उनीहरु पनि मलाई चिन्दछन् कुनै न कुनै रुपमा। चिनेकै साथी बाहिरियो। गेटबाहिर मलाई देख्यो तर नदेखेजसो गर्यो। त्यसो गर्न उसलाई सजिलो पनि थियो। म हेलमेट नफुकाली बसिरहेको थिएँ र उ पनि हेलमेट लाएरै बाइकमा हुइँकियो। यसो भनौं, हेलमेट लगाएको मान्छेलाई नचिनेजस्तो गर्न उसलाई छुट भयो। अघिल्लो दिन त्यसैगरि कुरिरहँदा चाहिं उसलाई मसँग बोल्न करै लागेको थियो। म त्यसदिन हेलमेट खोलेर बसेको थिएँ।
“ओहो! के छ? कहाँबाट?” जवाफ थाहा भएपनि उसलाई सोध्न पनि करै लाग्यो।
“ठिकठाक छ यार। लौ, यहाँ आउन नहुने हो र?” मजाकको भाषामा जवाफ दिएँ। सिधा जवाफ दिंदा त्यसको असर के पर्छ भन्ने थाहा थियो।
“अनि… ?”
“अँऽऽऽ अब निस्किने।“
“ल त, मलाई एक ठाउँ जानु छ। हतार छ। म हिंडे है त!”
“हुन्छ।“ मसँग अरु भन्ने कुरा पनि थिएन। कुनै बेला सँगै काम गर्ने र बसउठ गर्ने भएपनि कुर्नुको अर्थले मान्छेहरुसँग तर्किनु र तर्काउनुको उपाय नहुने रहेछ।
*
उ नचिनेजस्तो गरी हिंडेपछि सेक्युरिटीले मलाई हेर्यो। अघिल्लो दिनजस्तै उसले “के को लागि होला?” भनेर सोध्न पनि भ्यायो। “केहिका लागि पनि होइन।“ मेरो जवाफ सुनेर उ प्रतिक्रियाहिन भयो अघिल्लो दिनजस्तै…. र गेट नलगाई छेउमा उभिरह्यो। लगाउनु पनि किन र? सेक्युरिटी पनि त अघिको मित्रजस्तै एक पात्र न हो, अफिसका तमाम विशेषताले केहि न केहि उसलाई पनि छोएकै होला।
भित्रपट्टिको ढोका कुइँय्य गरेर खुल्यो। उ “गुडुड्ड” कुदेर गेटबाहिर आइपुगी म छेउ र कच्याककुच्चुक्क परेका दाँत देखाउँदै हाँसी।
“के छ? कतिबेला आइपुग्यौ?” म भावहिन हेरिरहेथें। उसलाई थाहा थियो, म कतिबेला आइपुगेको थिएँ।
“के हेरिर’को त्यसरी? कतिबेला आइपुग्यौ भन्या?”
उसको पछि पछि उसकी साथी पनि आइपुगी र विस्तारै उसलाई पछाडिबाट अँगालो हाली।
म फिस्स हाँसे र उसको साथीलाई आँखाको इसाराले ‘हाइ’ भनें।
“भर्खरै हो।“
“हाँसेको हेर न! अहिले दाँतसाँत झारिदिन्छु अनि थाहा पाउँछ!”
“झार न त! म दाँत फुकाल्न कै लागि यहाँ आको त हो नि! तिमीलाई लिन त किन आउँथे र?”
उसको साथी जोरसँग हाँसी। उसले भने आँखाको तल्लो भाग माथि उचालेर आँखा चिम्सो पार्दै दाह्रा किटेजसो गरी।
“खै छोड!” उ बाइकमा बस्न खोजी।
म मुसुमुसु हाँसिरहें र उसलाई पछाडि बस्न सजिलो बनाइदिएँ।
“ल म जान्छु है!” उसले आफ्नी साथीसँग विदा मागी।
“तिमी पो बसेकी? म त उसलाई पो लाने हो!” उसकी साथी ‘बाइ’ भन्न ठिक्क परेकी थिइ, तर अब उसको जवाफ सुन्न बसी।
“ए हो र? बदमास… खुरुक्क हिंड। ढिलो भइसक्यो।“
“ल ल जाओ छिटो। म आफैं जान सक्छु। बाई!” उसकी साथी पनि के कम।
ल ‘बाई’ भन्दै मैले बाइक स्टार्ट गरें।
उसको अफिस एकैछिनमा ओझेल पर्यो।
**
“अनि भन, के छ खबर?”
“ठिकै छ!”
“ठिकै मात्रै?”
“अँऽऽ अरु के हुनुपर्थ्यो र?” म अबुझ जस्तो गरी प्रतिक्रिया जनाउँदै थिएँ।
“राम्रो हुनुपर्छ नि! मेरो त बबाल छ।”
“तिम्रो त बबाल हुने भइहाल्यो नि!”
“हो है!”
म चुप भएँ। बाइकमा पछाडि कोहि छ भन्ने पनि बेला बेला हेक्का नभएजस्तो हुने गरी बसेकी थिइ उ। हलुका र खिरिलो शरिर, भर्खर १७-१८ कि। म पनि उस्तो उमेरदार त हैन तर पनि उ त्यति अबेरसम्म अफिसमा काम गर्ने होली भनेर मान्छेहरुले अनुमान लगाउन गाह्रै पर्ने थियो। बिहान साढे छ बजे कलेज पुगेपछि एकैचोटि राति ८-९ बजे घर पुग्थी, प्राय कलेज ड्रेसमै। मेरो कुरा पनि खास फरक त होइन, तर म कलेज कमै जान्थें बरु कलेजको सट्टा अफिसै जान्थें। साँझ चाहिं उसैलाई कुरेर सँगै जान्थें, साताको केहि दिन। नत्र साँझ पर्नु र घर पुग्नुबिच खासै फरक हुन्थेन।
साँझमा अलिकति घामको जुन उज्यालो बाँकी थियो, त्यो हराइसकेको थियो। जाडो बढ्दै गरेको समय। अलिकति न्यानोपन, अलिकति चिसोपन… मन पनि र मौसम पनि।
“उऽऽऽ कत्ति जाडो!” पछाडिबाट उसको आवाज आयो।
शहर छिचोल्दै गर्दा चिसो बढ्दै गरेको अनुभव भइरहेको थियो। मसँग जाडो हटाउने उपाय थिएन। चुप बसें।
“कस्तो हौ, किन नबोलेको?”
“तिमी रेडियो नेपाल त चुपचाप छौ! म के बोल्नू? ”
“अनि आज कुनै शायरी छैन त?”
“शायरी सुनाउनुको के अर्थ र?”
“तिमी यति राम्रो लेख्छौ, सुनाउ न!” (शायरी लेख्ने नै त होइन, उसको लागि कनिकुथी बनाएर चाहिं सुनाउँथें, उ दँग पर्थी।)
“छैन मसँग आज केहि! उ जून छ आज! त्यसैलाई हेरेर रमाउ।”
“woww, क्या दामी है! हामी घर पुगुन्जेलसम्म हामीसँगै हुन्छ है यो जून! आज पूर्णिमा हो र?”
“थाहा छैन!”
“के थाहा छैन?”
“पूर्णिमा हो कि होइन, थाहा छैन भनेको!”
“तिमीलाई केहि थाहा हुँदैन।“
“तिमीलाई थाहा रहेछ नि त!”
“हाहाहा”
बडो बेजोडको हाँस्छे उ। बाइक नै हल्लिएजस्तो लाग्ने। अरु पनि धेरै कुरा हल्लिन्छ हाहा।
“अनि भन न! यो जून हाम्रो घरसम्मै पुग्छ है! उऽऽ पछि पछि आउँदैछ।”
“पुग्छ नि! तिमी पो आफ्नो घर जान्छ्यौ, यो त मेरो घरसम्मै आउँछ।“
“अँ हैऽऽऽ“
केहि भन्न लागेजस्तो गरी तर उसले केहि भनिन। मैले केहि अरु पनि भनूँला कि भनेर पर्खेकी पो हो कि… तर मैले पनि केहि भनिन।
***
“रुपेशऽऽऽ जाडो भयो क्या!”
उसले जस्तो गरी मलाई मेरो नामले कसैले सम्बोधन गर्दैन, मेरो आफ्नै नाम पनि गजब लाग्ने गरी।
“के गरुँ त म्याडम? अलिकति अझै पछाडि बस्नुस्, अनि पो न्यानो हुन्छ!”
“उऽऽऽऽ“
उसले अघिजस्तै गरी आँखा चिम्सो बनाएर रिसाएको नाटक गरी भन्ने मैले चाल पाएँ। म अगाडि हेर्दै हाँसिरहें, हाँस्नुबाहेक गर्नु पनि के र? बाइक पनि चलाउनै पर्यो।
“कफि खाम् त कतै बसेर?”
“खान्न। ढिलो भइसक्यो। खुरुखुरु हिंड।“
“हस् हजुर! म त हजुरको ड्राइभर नै हो नि! कहाँ रोक्ने, आज्ञा गरिबक्सेला नि!”
“बढ्ता नबोल है! अहिले मार्दिन्छु नि!”
“आफ्नै ड्राइभरलाई नि मार्छौ? मलाई मारेपछि त तिमीलाई न्यानो हुन्छ होला है! हाहा।”
“………….”
उ बोलिन। रिसाई।
****
उसको घर आइपुग्न लागेको थियो।
“म्याडम! अब धेरै ननिदाउनुस्। उठ्नुस्। हजुरको घर आइपुग्न लाग्यो।“
“कत्ति छिटो आइपुगेको! तिमी धेरै स्पीडमा चलाउँछौ क्या!”
मेरो स्पीड उसलाई राम्रैसँग थाहा छ।
“एऽऽ एकचोटि फेरि तिम्रो अफिस पुगेर फर्कौं है त! हाहा”
“अँऽऽ अब त्यहि बाँकी छ।“
“त्यो भन्दा धेरै कुरा बाँकी छ डियर!”
“केहि बाँकी छैन। चुप लाग अब! घर पुग्न लाग्यो।“
“हस्।“
“मलाई अलिकति वरै छोडिदेउ। ममी बाहिर कुरीरहनुभ’को होला।“
“ठिकै छ। म तिम्रो ममीकै अगाडिसम्म छोडिदिन्छु।“
नभन्दै उसको ममी घर अगाडि बाटोसम्म लिन आउनुभएको रहेछ। मैले विस्तारै उहाँकै अगाडि पुगेर बाइक रोकें र हात नजोडी नमस्कार भनें। ममीले नमस्ते भन्नुभयो।
“ल विस्तारै जाउ। बाई”
“ल बाबु, विस्तारै जानू।“ आमाछोरी दुवैका उहि कुरा।
“हस्।“
मैले बाइक मोडें र हिंडें। उसले फर्केर हेरी कि हेरिन कुन्नी, मैले अलि पर आएर बाइक रोकें र फर्केर हेरें। उ घरभित्र पसिसकेकी थिई। पान पसलबाट चुरोट किनें, सल्काएँ, दुई सर्को तानें, फ्याकें र हिंडे।
******
घर पुगुन्जेलसम्म पनि जून अघिजस्तै टहटह मेरै पछि पछि आइरह्यो। मलाई बल्ल जाडो लाग्यो जून हेर्दै गर्दा। बाइक छिंडीमा हुलेपछि कोठामा पस्नुअघि उसलाई एसएमएस गरें, “See, this moon came with me to my home…
“ (हेर त, यो जून त मसँग घरसम्मै आइपुग्यो :( )
उसको रिप्लाई आएन।
*******
i like ur word selection . keep on brodha ..niccc bt incomplete ..
Ma ajhai yo story kah pugchha vaner padhirako the.. sakisakechha..
No cmnts..
हैन यिन्ले के खान्छन र यती घत लाग्दा लेख लेख्छन भन्या त चुरोस पो खाने र’छन । म नि सुरु गर्नु पर्यो एक सर्को चुरोस तान्न, केहि फुर्छ कि ? ? ? ?
KK- Thank You dude!

Aafnai- माफ गर्नुहोला। धुम्रपानबाट टाढा भइसकेको सहर्ष र सगर्व जानकारी गराउँछु।
Silviya- That was a comment itself. Thanks
Manoj-सबै कथा हिन्दी फिल्मजस्तो कहाँ हुन्छ र? हाहा Thanks Anyways!
सबै अम्मलीहरू त्यसै भन्छन, यद्धपी साचो हो भने चाही चुरोस फ्याक्ट्रीहरू डुब्ने भय नराम्रो सँग!!
Nice read brother.
nice story dai