तिम्रो वाग्मतीको सरकारी पानी
चिथोरिरहन्छ हरेक बर्खामा
म हिंड्ने बाटो
र
झम्टिरहन्छ निर्दयी रोषले
म उभिएको माटो ।
रापिलो घाम बनाएर
तिमीले फिंजाएका जासुसहरु
डरलाग्दा रात बनाएर
तिमीले कुदाएका पहरेदारहरु
खोजिरहन्छन् मसँग यो बाटोको बिर्ता
सोधिरहन्छन् मसँग यो माटोको पूर्जा ।
तिमै्र वाग्मतीको किनारमा
बारेको छु दुई बित्ता माटो
तिन बित्ता बालुवा
र एक हात आकाश,
ठड्याएको छु आदिम कर्कट पाताहरु
घेरिएर जहाँ म खोक्न सक्छु रोगी समय
जसोतसो रोक्न सक्छु तिम्रो निरोगी कोलाहल ।
म सक्दिन ताप्न तिम्रा न्याना हिउँदहरु
म सक्दिन छेक्न तिम्रा बलिष्ठ चैत बैशाखहरु
छोएको छैन मैले तिमीले बेचेका बिजुलीको झंकार
देखेको छैन मैले तिमीले साँचेको सिंहमर्मरको दरबार ।
यहाँ मसँग तिमीले नदिएको ढुसी छ
लामखुट्टे, उपियाँको बुर्कुशी छ
तिम्रो शहरले फालेको रछानको मनखुशी छ
बानी परेको अघोरी भोकको उपवास छ
अलिकति सपना र निस्सासको धुवाँको उच्छवास छ
र पनि अजबको सुवास छ
कारण
तिम्रो लागि
यो अतिक्रमित जमिन होला
मेरो लागि
यो विवशताको घर हो ।
तिम्रो कर्के आँखाको खियाले
पर्परी फुट्दैछन् यी कर्कट पाता
तिम्रै गर्जनको थर्कनले
भाच्चिदैछन् टेको दिइरहेका यी भाटा
तिम्रै चिसो सन्त्रासले
भिज्दैछ यो ओसिलो छिंढी
तिम्रै वाग्मतीको डोजरले
बगाउँदैछ मैले पोतेको पिढी
ख्वामित ! उजुरी कता गरुँ ?
सरकार ! गुहार कता मागू ?
यसो गर
मलाई जेलमा नेल ठोक
या सिमा कटाउन वाग्मतीको भेलमा पोख
न म बाटो छोड्न सक्छु
न माटो छोड्न सक्छु
यसै पनि
न नियति मेरो साथमा छ !
न सन्तोष मेरो आँतमा छ !
न सत्ता मेरो हातमा छ !

one more time I became a fan of mr. poet Rupesh shrestha
really ironic…heart touching………………
a powerful poem ! nice !
Really superb hai !