सुन्नको लागि यसमा क्लिक गर्नुहोस् ।
प्रीय,
शहरमा बसिनसक्नुको जाडो छ, खपिनसक्नुको मौसम । शहर यसै पनि चिसो हुन्छ, मौसमको कुरा मात्र होइन, यहाँ यस्तै हुन्छ, सबथोक चिसो । बस्ने घरहरु चिसा हुन्छन्, हिंड्ने बाटा र गल्ली चिसा हुन्छन्, यहाँका चोकहरु चिसा हुन्छन्, चोकमा भेटिने मान्छेहरु चिसा हुन्छन् । सायद त्यसैले यसलाई शहर भन्छन् । न्यानो हुने भइदिएको भए यसलाई शहर नभनेर अर्थोक नै भन्थे कि ! त्यसमाथि हरेक हिउँदमा शहरमा चिसोले कठ्याङ्ग्रीएर कति मान्छे मर्छन्, कुकुर बिरालाको के कुरा !
यहि शहरमा उस्तै चिसो मानेर बसेको छु म ।
“चिठी लेखेनौ-लेखेनौ” भन्छौ तिमी, यहाँ चिसोमा हात खल्तीबाट निकाल्न समेत डर हुन्छ । मेरो पिडा तिमीलाई के थाहा हुनु । आफ्नो मनको वह आफैंलाई । यति लेखिरहँदा पनि हात कामेर थामिनसक्नु भाको छ । आफैं हेर न, यी अक्षर कस्ता छन् ? तर चिठी नलेखे त झनै थाहा हुन्न नि हगि ! खैर, शहरको पिडा शहरमै छ, यहाँभन्दा उँधो, यहाँभन्दा उँभो कतै छैन ।
अझै याद गर्छु म, जब तिमी हामी सँगै थियौं । तीनलाई म बेला बेला जीन्दगीकै रंगीन पल भनेर सम्झिन्छु । पलहरु पनि रंगीन हुन्छन् त भनेर आफैं झस्किन्छु फेरि । अनि आफैंलाई सम्झाउँछु, रंगीन हुनु भनेको रमाइलो हुनु हो । अनि त्यसैका भरमा ती पलहरुलाई फेरि रंगीन भन्दै मख्ख पर्छु । आज ती दिन हामीसँग छैन । तिमीसँग अर्थोकै छ, म सँग केहि छैन । शहरमा एक मुठ्ठी माटो पनि आफ्नो हुन्न, एक बित्तो मान्छे पनि आफ्नो हुन्न, एक झमट सास पनि आफ्नो हुन्न, एक झिल्को घाम पनि आफ्नो हुन्न, सब निगाहको कुरा ।
फर्केर फेरि त्यही समयमा पुग्न पाए कस्तो बेस हुने ! लम्केर फेरि तिमीसम्म आउन पाए कति मज्जा हुने । तर यहाँसम्म आउने हजार बाटा छन्, त्यहाँसम्म पुग्ने एउटै गोरेटो छैन । गजब छ, तीनै हजार बाटामा कुन बाटो समाएर यहाँसम्म आइपुगें भन्नेसम्म हेक्का आज छैन मलाई । यहि शहरजस्तै हुँदै गयो तिम्रो मेरो सम्बन्ध पनि, खजमजिएको, खुम्चिएको, कच्याक-कुच्चुक्क परेको, नबुझिने । तर पनि एकतमासले माया लाग्दैछ यो विरानो शहरको । प्यारो लाग्दैछ हर दिन, यहि अलमलाई, यहि क्लीष्टता, यहि चिसोपन।
चिरा परेका सडकमा कुचो धसार्दै कुचिकार मेरो चोक सम्म आइपुग्दा विरक्तलाग्दो ध्वनीमा धुलो उडाउँछ । निद्राबाट त्यहि समय त्यसैगरि विश्रृंखलित हुन मलाई बानी परेको छ । प्रत्येक बिहान घामलाई सराप्दै आँखा मिच्नु, नबल्ने बत्तीको स्वीच प्याट्ट हिर्काउँदै बिजुली नदिनेलाई सराप्नु, पानी नआउने धारोको मुन्टी बटारेर पानी नपठाउनेलाई सराप्नु, अनि मिल्ने जति सबैलाई सबै तरिकाले सराप्नु मेरो नशा बनेको छ । सारमा सिंगो शहरलाई हरदिन उसैगरि सराप्छु म र दिनभरिलाई तृप्त हुन्छु । त्यहि तृप्तिका लागि त शहरसँग मेरो लगाव झन् झन् बढ्दो छ, झ्यांगिदो छ ।
शहरमा उदेक लाग्दा कत्ति कुरा छन् । शहरमा दिक्कलाग्दा कत्ति कुरा छन् । शहरमा रिस उठ्दा कुरा कत्ति छन् । शहरमा विरसिला कुरा कत्ति छन् । म आफैं पनि कत्ति उदेकलाग्दो भइसकेको छु, कत्ति दिक्कलाग्दो भइसकेको छु, कत्ति रिसउठ्दो भइसकेको छु, कत्ति विरस भइसकेको छु । म शहरजस्तै भएको छु, शहर मजस्तै छँदै छ । त्यसैले पनि त शहरसँग विरक्तको प्रेम हुन थालेको छ । तर शहरले मलाई किन प्रेम गर्थ्यो र ?
शहरले कसैलाई माया गर्दैन । शहरले कसैलाई घृणा पनि गर्दैन । शहरसँग कसैको मिल्ती पनि छैन, शहरसँग कसैको चल्ती पनि छैन । बरु शहरको छाति खोपेर यहाँ हज्जारौंले थुप्रै असर्फी थुपारेका छन् । कहिलेकाहीं म सम्म पनि त्यसको खबर आइपुग्छ र म पनि छाति थापेर बोकिदिन्छु । शहरको रों रों डढाएर हज्जारौंले धुम्रपान गरेका छन्, कहिलेकाहीं मसम्म पनि त्यसको गन्ध आइपुग्छ र म पनि भाँती पारेर खोकिदिन्छु । शहरलाई ठाउँ ठाउँबाट निचोरेर हज्जारौंले मद्यपान गरेका छन्, कहिलेकाहीं मसम्म पनि त्यसको छिटा आइपुग्छ र म पनि ठाडो घाँटी पारेर धोकिदिन्छु । र पनि शहरमा चिसो छ । शहरमा न्यानो छैन । माया न्यानो हुन्छ । शहरलाई माया गर्दा न्यानो हुँदैन । हरेक हिउँदमा यहाँ मान्छेहरु कठ्यांग्रिएर खग्रङ्ग हुन्छन् । यो पालि मेरो पालो आउने हो कि ! त्यसैले पनि तिमीलाई खबर छोड्न लेख्दैछु ।
हिउँद पार लागे गोरेटो खोज्नुपर्ला । नभए शहरलाई गरेको मायाको हत्या पनि हुन सक्छ यसपालि ।
तिम्रै उहि ।
great nostalgia!
great short nostalgia
e sabai kuralai sametera sahar baneko chha……..kaas sahar yesto nabhaideko ba aali nyano bahideko ba aaja yesto mahasus kaha hunthiyo ra jasto aahile bhaii raheko chha …………….anyway nice one keep it up…..
धन्यवाद “शब्द” । आउँदै गर्नुहोला मेरो ब्लगमा ।
Thank you Dhaibajee, Janak jee, Deepak jee, Seemu jee, Smeeta jee and S for your comments.
LIKES!!!!!!! GOOD ONE…. !!!! KEEP IT UP…!!!
Really liked this piece of sweet satire….
यहि शहरजस्तै हुँदै गयो तिम्रो मेरो सम्बन्ध पनि, खजमजिएको, खुम्चिएको, कच्याक-कुच्चुक्क परेको, नबुझिने । तर पनि एकतमासले माया लाग्दैछ यो विरानो शहरको ।……
फेसबुकको लहरोबाट छिरें र आनन्द लिएँ । यस्तो महसुस भयो कि पढिरहेको मैले छु तर आवाज रुपेशकै गलाबाट निस्किरहेको छ ।
पुछारमा पुगेर न्यानोको कुरा, न्यानोले उठाएको मायाको कुरा र तत्काल सहरमा मायाको हत्या हुनसक्ने निष्ठुरी कुरा भने चित्त बुझेन । हरदिन सरापेरै भएपनि झनझन लगाव बढाएको सहर प्रति अन्याय गरेझैं ।
Ekdam Jhakkas chha. keep it up hai…free writing dammi ho.
“सहरमा एक मुठ्ठी माटो पनि आफ्नो हुन्न, एक बित्तो मान्छे पनि आफ्नो हुन्न, एक झमट सास पनि आफ्नो हुन्न, एक झिल्को घाम पनि आफ्नो हुन्न, सब निगाहको कुरा ।”
“सहरमा उदेक लाग्दा कत्ति कुरा छन् । सहरमा दिक्कलाग्दा कत्ति कुरा छन् । शहरमा रिस उठ्दा कुरा कत्ति छन् । सहरमा विरसिला कुरा कत्ति छन् । म आफैं पनि कत्ति उदेकलाग्दो भइसकेको छु ”
Excellent Sir !!
सहरको तीतो, टर्रो र यसभित्र अभ्यस्त भइसकेको एक फाँको तृप्त सास बुझिनसक्नुको छ । यसको चित्रण यसभन्दा बढी सम्भव पनि नहोला । कारण समेटर पनि समेटिनसक्नुको, छाडेर पनि लखेटिनसक्नुको भइसक्यो अब नशालु सहर !
तपाईँको गद्य मीठो छ, अब यता पनि नछौडौँ है, यो सहर सेलाए पनि तपाईँ चाहिँ तात्नुस् । के बेर, तपाईँकै ताप लिएर एकदिन सहर तातिहाल्ला कि !?
प्रतिक्रियाका लागि धन्यवाद समय, भावेश अनि शेली !
dharai dharai raamro chha……. yek palta padera pyas metinna paderahana man lagchha.
WOW… Roopess really nice blog….nikai ramro lagyo…so lovely use of words!!! Hats off to u bro!!!!
शहरमा उदेक लाग्दा कत्ति कुरा छन् । शहरमा दिक्कलाग्दा कत्ति कुरा छन् । शहरमा रिस उठ्दा कुरा कत्ति छन् । शहरमा विरसिला कुरा कत्ति छन् । …… …… साह्रै मिठ्ठो छ !