काठमाण्डु । एउटा दिक्कलाग्दो रुग्ण शहरको नाम । दिक्दारीका पहाडहरुले घेरेर यसलाई उपत्यका बनाएको छ । र दिक्दारीको पानी बग्ने वाग्मती नीलेर यहाँ मान्छेहरु दिक्दारी बाँच्दछन्, दिक्दारी काल पर्खेर हरक्षण ।
सिँददरबारदेखि सुकुम्वासी वस्तीहरुसम्म मान्छेहरु उही अनुभव र उस्तै अनुहार लिएर आकाश ताकिरहन्छन्, यो आकाशमा के उडेको भनेर । काठमाण्डुको आकाशमा अरु के हुन सक्छ र ? सिवाय धूलोधुवाँले बनाएका वादल र त्यो भन्दा पनि पीरो तुवाँलो र बेला बेला त्यो तुवाँलो छेडेर वादल छुन खोज्ने केहि थोत्रा उडन्ते जहाजहरु । तर मान्छेहरु हरेक दिन यसैगरि आकाश ताकिरहन्छन् । कुनै फल खस्छ भन्ने आशा पनि होइन, कुनै प्रलयको प्रतिक्षामा होइन, वा कुनै दैवी अवतारको अवतरण हुन्छ भनेर होइन । यो खाली दिक्दारी मात्र हो । फगत समय कटाउने मेलो । सिँहदरबारबाट आकाश ताक्नेहरु लेख्न नजानेर दिक्क हुन्छन् र आकाश ताक्नुबाहेक उनीहरुसँग अर्को विकल्प एके नै हुन्छ र । सुकुम्वासी वस्तीमा मान्छेहरुलाई दिन कसरी कटाउँ भन्ने पिरलो छ । र आकाश ताकेर दिन कटाउने मेसो गर्छन् ।
के कुरा गर्नु काठमाण्डुको । मान्छेहरु यस्तै भन्छन् । साँच्चै दिक्कलाग्दो छ काठमाण्डु । यहाँ मान्छेका अनुहार दिक्कलाग्दा छन् । दिनरात सडक भर्ने मान्छेको भीड दिक्कलाग्दो छ । धूलो उडाउने सडक दिक्लाग्दो छ । धूलोमा लूकामारी खेल्ने गाडीहरु दिक्कलाग्दा छन् । गाडिहरुले घण्टौँ गर्ने एउटै काम-जाम दिक्कलाग्दो छ । जाम खोल्न नसक्ने नीरीह ट्राफिक प्रहरीका डढेका अनुहार दिक्कलाग्दा छन् । उस्तै गरि दिक्कलाग्दा छन्, एक्ला आकाशे पुलहरु, दैनिक लुछाचुँडीमा पर्ने फुटपाथहरु, उपेक्षित ट्राफिक बत्तीहरु, बिरामी परिरहने बिजुलीका खम्बाहरु, कसैले माया नगर्ने बारहरु, अनि अरु सबैजसो कुराहरु । सबैले हेर्ने घण्टाघरको कुरा गर्नोस्, सबैले चढ्ने धरहराको कुरा गर्नोस्, सबै उदेकलाग्नेगरी दिक्कलाग्दा छन् । फुटपाथे मम का डल्लाहरु, ठमेल र न्युरोडका रात्रि पल्लाहरु, टिभीमा प्रसारित सिरियल र रियालिटी सोका हल्लाहरु, के यी सबै दिक्लाग्दा छैनन् र ?
दरबार घेर्न लाठोले सडक बजार्दै हिँडेकाहरुले बजाएको सिठ्ठी र उनीहरुको नाराले एकाबिहानै काठमाण्डु जाग्छ, दिक्क मानेर झ्यालबाट कक्रक्क परेर चियाउँदा उसले दरबारको वरिपरि बाँदरका झुण्ड उफ्री उफ्री चिच्याइरहेको देख्छ । बाँदरहरु पर्खालमाथि ताण्डव गर्दैछन्, गेटमा रेलिङ्मा झुण्डिएर मच्चिँदैछन्, बटुवाहरुको बाटो छेक्दै बाँदरहरु भाँती पार्दै नाच्दैछन् । हैन कस्तो फुर्ति हो यो जाडोमा ? काडमाण्डुलाई सिरकको न्यानोपना छाड्ने चाहना नै छैन । दिक्दारीको निद्रा सुत्न काठमाण्डुलाई साह्रै मनपर्छ । फर्केर उस्तैगरी ढसमस्स परेर सिरकमा उ गुजुल्टिन्छ, यस्तरी कि मानौँ उसलाई फेरि कहिल्यै जाग्नु छैन । जाग्नु पनि कति? यहाँ हरदिन कसै न कसैले सिठ्ठी फुकिरहन्छ । यहाँ कोहि न कोहि कुनै न कुनै दरबार घेर्न पुगीनै रहन्छन् ।
सपनामा बाँचेको स्वप्नील शहर हो काठमाण्डु । तर यो सपना वर्षौँदेखि टेलिभिजनमा दोहोरिरहेको दिक्कलाग्दो सिरियल जस्तो छ ।
कार्यालय समयमा चोकमा भीड बढ्छ । मान्छेहरु सबैभन्दा अघि आफैँ जाने हतारमा कसलाई ठेल्छन्, कसलाई च्याप्छन्, पत्तो पाउँदैनन् । आफ्नै कारण छन्, ती हतारहरुमा । हाकिमको सातो खानु छैन कसैलाई । कसैलाई मन्त्रीको छड्केमा परिएला भन्ने पीर । चाँडो पुगेर सहपाठी महिलासँग छेडखानीको मजा लिनु छ कसैलाई । अनि कसैलाई अफिस पुगेर साडी मिलाउने, लिपस्टीक पोत्ने टण्टा । स्कूले भारी बोकेका साना भुराभुरीहरु भीडलाई अजिवसँग छिचोल्दै बस भेट्टाउन दौडँन्छन् । यीनको हतारको भने कसैले अनुमान गर्न नसक्ला । यस्तै बेला चोकैमा “खानेपानीको काम हुँदैछ” लेखिएको बोर्ड ठड्याएर केहि मजदुर ढल खन्नमा मग्न छन् ।
यो हतार, हतारका कारणहरु र ती कारणले कुदाएको यो भिड दिक्दारीको नमूना हो र ? वा होइन र ? यहाँ बाँच्नका लागि सङ्घर्ष भन्ने कुनै शताब्दीऔँ पुरानो सिद्धान्तको वकालत गर्छ भने त्यो जस्तो दिक्कलाग्दो अर्को कुनै कुरा हुने छैन फेरि ….
क्रमश:


Yo lekh padhda kathmandu ka sampurna chitra haru mathingal ma ghumirahekaa thiye…baastab mai kathmandu ko yathartha chitran gareko cha yo lekh le….ROOPESS…keep up the gud work..
By: RJANIT on December 1, 2009
at 12:53 AM
रुपेश जी, ब्लग निकै रोचक लाग्यो । छिमेकबाट चियाउँदै तपाईको ब्लगमा डुबुल्की मार्न एक्कासी आइपुगे । छोडेर जानै मन लागेन मलाई । अझ लेख्दै जानुहोला । सफलताको शुभकामना छ तपाईलाई ।
By: राजे बुढाथोकी ‘नताम्स’ on November 13, 2009
at 5:32 AM