Posted by: roopess | November 11, 2009

गन्थन – २

काठमाण्डु । एउटा दिक्कलाग्दो रुग्ण शहरको नाम । दिक्दारीका पहाडहरुले घेरेर यसलाई उपत्यका बनाएको छ । र दिक्दारीको पानी बग्ने वाग्मती नीलेर यहाँ मान्छेहरु दिक्दारी बाँच्दछन्, दिक्दारी काल पर्खेर हरक्षण ।

सिँददरबारदेखि सुकुम्वासी वस्तीहरुसम्म मान्छेहरु उही अनुभव र उस्तै अनुहार लिएर आकाश ताकिरहन्छन्, यो आकाशमा के उडेको भनेर । काठमाण्डुको आकाशमा अरु के हुन सक्छ र ? सिवाय धूलोधुवाँले बनाएका वादल र त्यो भन्दा पनि पीरो तुवाँलो र बेला बेला त्यो तुवाँलो छेडेर वादल छुन खोज्ने केहि थोत्रा उडन्ते जहाजहरु । तर मान्छेहरु हरेक दिन यसैगरि आकाश ताकिरहन्छन् । कुनै फल खस्छ भन्ने आशा पनि होइन, कुनै प्रलयको प्रतिक्षामा होइन, वा कुनै दैवी अवतारको अवतरण हुन्छ भनेर होइन । यो खाली दिक्दारी मात्र हो । फगत समय कटाउने मेलो । सिँहदरबारबाट आकाश ताक्नेहरु लेख्न नजानेर दिक्क हुन्छन् र आकाश ताक्नुबाहेक उनीहरुसँग अर्को विकल्प एके नै हुन्छ र । सुकुम्वासी वस्तीमा मान्छेहरुलाई दिन कसरी कटाउँ भन्ने पिरलो छ । र आकाश ताकेर दिन कटाउने मेसो गर्छन् ।

के कुरा गर्नु काठमाण्डुको । मान्छेहरु यस्तै भन्छन् । साँच्चै दिक्कलाग्दो छ काठमाण्डु । यहाँ मान्छेका अनुहार दिक्कलाग्दा छन् । दिनरात सडक भर्ने मान्छेको भीड दिक्कलाग्दो छ । धूलो उडाउने सडक दिक्लाग्दो छ । धूलोमा लूकामारी खेल्ने गाडीहरु दिक्कलाग्दा छन् । गाडिहरुले घण्टौँ गर्ने एउटै काम-जाम दिक्कलाग्दो छ । जाम खोल्न नसक्ने नीरीह ट्राफिक प्रहरीका डढेका अनुहार दिक्कलाग्दा छन् । उस्तै गरि दिक्कलाग्दा छन्, एक्ला आकाशे पुलहरु, दैनिक लुछाचुँडीमा पर्ने फुटपाथहरु, उपेक्षित ट्राफिक बत्तीहरु, बिरामी परिरहने बिजुलीका खम्बाहरु, कसैले माया नगर्ने बारहरु, अनि अरु सबैजसो कुराहरु । सबैले हेर्ने घण्टाघरको कुरा गर्नोस्, सबैले चढ्ने धरहराको कुरा गर्नोस्, सबै उदेकलाग्नेगरी दिक्कलाग्दा छन् । फुटपाथे मम का डल्लाहरु, ठमेल र न्युरोडका रात्रि पल्लाहरु, टिभीमा प्रसारित सिरियल र रियालिटी सोका हल्लाहरु, के यी सबै दिक्लाग्दा छैनन् र ?

दरबार घेर्न लाठोले सडक बजार्दै हिँडेकाहरुले बजाएको सिठ्ठी र उनीहरुको नाराले एकाबिहानै काठमाण्डु जाग्छ, दिक्क मानेर झ्यालबाट कक्रक्क परेर चियाउँदा उसले दरबारको वरिपरि बाँदरका झुण्ड उफ्री उफ्री चिच्याइरहेको देख्छ । बाँदरहरु पर्खालमाथि ताण्डव गर्दैछन्, गेटमा रेलिङ्मा झुण्डिएर मच्चिँदैछन्, बटुवाहरुको बाटो छेक्दै बाँदरहरु भाँती पार्दै नाच्दैछन् । हैन कस्तो फुर्ति हो यो जाडोमा ? काडमाण्डुलाई सिरकको न्यानोपना छाड्ने चाहना नै छैन । दिक्दारीको निद्रा सुत्न काठमाण्डुलाई साह्रै मनपर्छ । फर्केर उस्तैगरी ढसमस्स परेर सिरकमा उ गुजुल्टिन्छ, यस्तरी कि मानौँ उसलाई फेरि कहिल्यै जाग्नु छैन । जाग्नु पनि कति? यहाँ हरदिन कसै न कसैले सिठ्ठी फुकिरहन्छ । यहाँ कोहि न कोहि कुनै न कुनै दरबार घेर्न पुगीनै रहन्छन् ।

सपनामा बाँचेको स्वप्नील शहर हो काठमाण्डु । तर यो सपना वर्षौँदेखि टेलिभिजनमा दोहोरिरहेको दिक्कलाग्दो सिरियल जस्तो छ ।

कार्यालय समयमा चोकमा भीड बढ्छ । मान्छेहरु सबैभन्दा अघि आफैँ जाने हतारमा कसलाई ठेल्छन्, कसलाई च्याप्छन्, पत्तो पाउँदैनन् । आफ्नै कारण छन्, ती हतारहरुमा । हाकिमको सातो खानु छैन कसैलाई । कसैलाई मन्त्रीको छड्केमा परिएला भन्ने पीर । चाँडो पुगेर सहपाठी महिलासँग छेडखानीको मजा लिनु छ कसैलाई । अनि कसैलाई अफिस पुगेर साडी मिलाउने, लिपस्टीक पोत्ने टण्टा । स्कूले भारी बोकेका साना भुराभुरीहरु भीडलाई अजिवसँग छिचोल्दै बस भेट्टाउन दौडँन्छन् । यीनको हतारको भने कसैले अनुमान गर्न नसक्ला । यस्तै बेला चोकैमा “खानेपानीको काम हुँदैछ” लेखिएको बोर्ड ठड्याएर केहि मजदुर ढल खन्नमा मग्न छन् ।
यो हतार, हतारका कारणहरु र ती कारणले कुदाएको यो भिड दिक्दारीको नमूना हो र ? वा होइन र ? यहाँ बाँच्नका लागि सङ्घर्ष भन्ने कुनै शताब्दीऔँ पुरानो सिद्धान्तको वकालत गर्छ भने त्यो जस्तो दिक्कलाग्दो अर्को कुनै कुरा हुने छैन फेरि ….

क्रमश:


Responses

  1. Yo lekh padhda kathmandu ka sampurna chitra haru mathingal ma ghumirahekaa thiye…baastab mai kathmandu ko yathartha chitran gareko cha yo lekh le….ROOPESS…keep up the gud work..

  2. रुपेश जी, ब्लग निकै रोचक लाग्यो । छिमेकबाट चियाउँदै तपाईको ब्लगमा डुबुल्की मार्न एक्कासी आइपुगे । छोडेर जानै मन लागेन मलाई । अझ लेख्दै जानुहोला । सफलताको शुभकामना छ तपाईलाई ।


Leave a response

Your response:

Categories