देउता रिसाएको बेला
जहाँसुकै भाग न तिमी
जोगिन्नौ क्यारे !
म पनि झ्यालबाट कराएर बसेँ
छतमा उभिएर गुहार मागिरहेँ
मुढामा तैरिएर भाग्न खोजेँ
रुखका हाँगा चढेर रोई बसेँ ।
देउता रिसाएको बेला
न सेना आउँछ
न पुलिस आउँछ
न हेलिकोप्टर आउँछ
न आउँछ कुनै विदेशी राहतको डुङ्गा ।
देउता रिसाएको बेला
घाम नलाग्न सक्छ
देउता रिसाएको बेला
पानी नथामिन सक्छ
देउता रिसाएको बेला
आस मर्न सक्छ
देउता रिसाएको बेला
सास सुक्न सक्छ ।
देउता मुढे हुन्छ
बेला-कुबेला रिसाइरहन्छ ।
देउता जिद्दी हुन्छ
फकाएर मान्दैन ।
देउता मूर्ख हुन्छ
गर्न हुने-नहुने केही बुझ्दैन ।
देउता बौलाहा हुन्छ
आफ्नो-विरानो चिन्दैन ।
देउता पहाड चढेर पहिरो झार्छ ।
देउता बादल चढेर मुसल खसाल्छ ।
देउता चरन पसेर जङ्गल डढाउँछ ।
देउता छालमा हुत्तिएर धरती हल्लाउँछ ।
तिम्रो छाला रातो होस् या कालो
तिमी जमिन्दार होउ वा सुकुम्वासी
तिमी बन्दुक बोक या रुद्राक्ष भिर
असत्ती देउता रिसाएको बेला
जहाँसुकै भाग न तिमी
जोगिन्नौ क्यारे !


kasto ramro kabita yar…sarai khusi lago yasto kabita herna paauda….roopes ji…ajhai lekhdai janos hai…best of luck.
By: Dhaiba on October 11, 2009
at 12:56 AM
Fantastic….
By: Deepesh on October 8, 2009
at 9:03 PM
sundar ………..ati sundar …………aalankaarik kabita……gadya ma…….ramro laagyo…….malai ris uthena………..ma deuta hoina!…………..hehehe
By: Samaya on October 8, 2009
at 5:11 PM