कथा
पुतलीसडकमा अचानक उनीसंग भेट भयो त्यो दिन ।
म उनलाई पहिलेदेखि देख्थें, चिन्थें भन्दा पनि हुन्छ । प्रत्यक्ष रुपमा नसही तर म उनलाई सधैं देख्थें । बाटोमा होइन घरमा । म उनलाई झण्डै झण्डै हरेक दिन देख्थें । मलाई उनको नाम पनि थाहा थियो ।
नमस्कार म…। ८ बजेको समाचार बुलेटिनमा स्वागत छ । ”सर्वप्रथम आजका मुख्य मुख्य समाचार…” यो उनको पहिलो वाक्य हुन्थ्यो र त्यति भनेपछि म उनलाई खासै सुन्दीन थिएं । किनकि मलाई उनले भन्ने प्राय सबैजसो कुरा थाहा हुन्थ्यो । उनी खासमा एउटा टेलिभिजन च्यानलमा समाचार भन्थिन् । हेर्दामा साह्रै राम्री आवाजमा एक किसिमको दम्भ तर बोली सूनीरहूं जस्तो मिठो । उमेर म भन्दा कम्तिमा ७-८ वर्ष जेठी सायद । म त्यतिबेला १९ वर्ष ८ महिनाको मात्र थिएं हुंला । त्यतिबेला टिभी स्टेशन धेरै थिएनन् र उनलाई नहेर्ने र नचिन्ने कमै थिए । त्यतिबेला एफ एम रेडियोको दबदबा रहेकै बेला म पनि कुनै एउटामा समाचार शाखामै काम गर्थें र रेडियो सुन्नु टिभी हेर्ने कामै हुन्थ्यो । मैले नचिन्ने नहेर्ने त कुरै थिएन । एक किसिमले टिभी प्रतिको आकर्षणले पनि टिभी हेरिन्थ्यो नै त्यसमाथि तिनको समाचार हेर्दा आफैंले समाचार भनिरहेको जस्तो लाग्थ्यो ।
रिपोर्टर्स क्लब अगाडिको साइबरमा म के कामले पसेको थिएं निस्किन लागेको बेला तीनलाई त्यहि साइबरको अर्को कुनामा घोत्लिरहेको देखें । आफ्नै कोहि मान्छे जस्तो लाग्यो । ”आराम हुनुहुन्छ ?” फ्याट्ट सोधिहालें । कम्युटरमा रोयटर्सको साइट खोल्दै गरेकी उनी अल्मलिइन् । मलाई हेर्दै आरामै छु को संकेत गरीन् ।
आवाज निस्केन क्यार ।
”हिजो बोलाउंदा किन नबोल्नुभाको ?” अनि के बुझिन् कुन्नि “अं अलिकति व्यस्त थिएं यादै भएन ।” त्यसपछि अल्मलिने पालो मेरो भो । मैले त जिस्केर टेलिभिजनमा देखेको कुरा लिएर त्यसो भनेको थिएं । मेरो अनुहार अल्मलिएको देखेर दंग परिन् । के भनूं भनूं भयो । ”अं सांच्ची नाम के रे तपाईंको ?” ठाडै सोधिन् तर मलाई सजिलो पारिन् ।
”म रुपेश ” भनेर मौकाको फाइदा उठाएर एफएममा काम गर्ने कुरा पनि भनें । मुस्काएर सुनिरहिन् । त्यतिन्जेल मैले सधैं उनलाई टेलीभिजनमा हेर्ने गरेको र मलाई उनको प्रस्तुती पनि राम्रो लाग्ने कुरा पनि बताउन भ्याएं । खुशी भएको जस्तो भाव देखाईन् । राम्री हुनुहुन्छ भनेर चाहिँ भन्न अप्ठ्यारो लाग्यो दिदीको उमेरको मान्छेलाई म फुच्चेले कसरी भन्नु “लौ त म हिडेँ पछि भेटूंला । तपाईंसंग भेट्दा निकै खुशी लाग्यो ।” मैले निस्किने तरखर गरें । ”कहांसम्म जाने नि ?” लौ संगै हिँड्न पाइने भो भन्दै सिँहदरबार जाने बताएं । ”म पनि त्यतै हॊ त्यहां एकजना संग भेट्नुछ संगै जौं न !” के खोज्छस् .. भने जस्तै भयो ।
टिभीमा देख्दा जस्ती देखिन्थिन् त्यो भन्दा धेरै फरक तर झनै बढी राम्री चम्किला काला काला आंखा । दाया बाया हेर्दा चम्किला तारा आकाशमा कुदॆजस्तो हेरीरहूं जस्तो । टिभीमा आउंदा साडीमा हुन्थिन् त्यो दिन फिका निलो जीन्समा सेतो कुर्ता सेतै कन्भस्र । टाउकोमा कालो महंगो जस्तो देखिने चस्मा । घांटीमा चांदाीको मसिनो सिक्री टाढाबाट नदेखिने बरु नोकियाको ११०० मोडलको ह्याण्डसेट टड्कारो देखिन्थ्यॊ घांटीमै झुण्ड्याइएको ।
पहिलो पटक भेटेको केटोसंग उनले मजैसंग गफ गरिन् । म हंसीलो पनि फुर्तिलो पनि हेर्दा पनि हेर्न हुने नै खालको । भाई जस्तो लाग्यो कि, पुतलीसडकदेखि सिँहदरबारको रेडियो नेपालको एफ एम स्टुडियो पुग्न मैले कहिल्यै गाडी चढेको थिइनं त्यो दिन ट्याक्सीमा गइयो । दक्षिण गेटमा पुगेर ४५ रुपैया तिर्दासम्म तिनले मसंग धेरै कुरा खोतलीन् रेडियोमा एक वर्ष भयो काम थालेको घरमा ५ जनाको परिवार गलफ्रेण्ड छैन अनि तलब ३४०० सम्मका सबै कुरा भनी टोपलें । खै कसरी हो !
गेटदेखि संसद सचिवालय अगाडिसम्मको यात्रामा उनले “कहिलेकाहीं फोन गर्नु ल !” भन्दै आफ्नो मोबाइल नम्बर दिइन् । मैले पनि “मेरो समाचार सुन्नु होला नि !” भनें । मोडमा पुगेपछि एकचोटि फर्केर हेरें । उनी कतै गायब भइसकेकी थिइन् ।
रेडियोमा काम सुरु गर्दाको अनुभव उत्साहपूर्ण थियो । समाचारमा काम गर्दाको अनुभव त झनै । तर सुरुवातका दिनजस्तो सधैं कहां हुनु । रेडियोमा समाचार भन्ने भन्ने वित्तिकै तलब त निक्कै होला भन्थे साथीहरु । म भर्खर कलेज पढ्दै गरेको मान्छेलाई ३४ सय रुपैया त ठिकै थियो तर साथीहरुलाई भन्न असजिलो लाग्थ्यो । त्यसमाथि एफ एममा माथिल्लो तहकाहरुले गर्ने व्यवहार काम गर्ने वातावरण आदि कुराका बारेमा मनमै भएपनि गुनासा त छंदैथिए । हुन पनि रेडियोमा वर्षौंदेखि काम गरिरहेका साथीहरुको पनि जागिर आज हो कि भोलि हो भन्ने ढुकचुक हुन्थ्यो । रेडियोमा मलाई सुन्ने आम श्रोता भेट्दा भने अर्कै आनन्द हुन्थ्यो । टेलिभीजनमा काम गर्ने धोको भने छंदैथियो । उपयुक्त समय र अवसरको प्रतिक्षा थियो । टिभीमा काम गर्नेहरुसंग भेट हुंदा उनीहरुको अनुभव सुन्न खुब रहर लाग्थ्यो । तर उनीसंग मैले केहि सोधिनं । उनैले बरु मेरोबारेमा धेरै सोधिन् । मेरो काम गर्ने उत्साह देखेर दंग परीन् । मैले टेलिभीजनमा काम गर्ने आफ्नो इच्छाको बारेमा पनि बताएं । उनले केहि भनिनन् । सुनीन् मात्र । अचम्म मानिन् क्यार बरु पहिलो भेटमा नै सबैजसो कुरा खुलस्त बताउंदा ।
महिना दिनपछि बिहान ६ बजेको समाचार सकेर कन्ट्रोल रुममा निस्कने वित्तिकै प्रविधिक दाजुले फोन आयो तिम्रो भनेर फोन दिए । उनैको आवाज सुनें । मेरो समाचार सुनेर फोन गरेकी रहिछन् ।
”गज्जब संग समाचार भन्दो रैछौ नि ! तिमी त टिभीमा हुनुपर्ने । संगै समाचार पढ्न पाए कस्तो मज्जा हुन्थ्यो ।” उनले फुक्र्याइन् कि के गरिन् खै तर म दंग परें ।
”अनि कताबाट आज सम्झिनुभो नि ।”
”तिमीसंग भेट्न मन लाग्यो नि त ।” अनि हांसिन् ।
”यस्तो जोशिलो मान्छे राम्रो मान्छेलाई केटीहरुले फोन गर्दैनन् त !” जिस्क्याइन् ।
तर कता कता कस्तो कस्तो लाग्यो । त्यस्तो गम्भीर लागेको मान्छे त्यसमाथि म भन्दा उमेरमा र अनुभवमा पनि त्यति खारिएकी मान्छेले त्यसो भन्दा मनमा अलिकति चिसो परेजस्तो भयो । एकछिन चुप रहीन् । म पनि बोलिनं । के भनूं के भनूं भयो ।
अनि झट्ट भनिन् ”आज के गर्छौ मलाई नभेट्ने?” मेरै उमेरकी केटीले सोधेजस्तो लाग्यो ।
”केहि गर्दिनं । आज विदा हो । साथीको काम परेर म सट्टामा आएको । अब जान्छु ।”
”कहां ?”
”घर ।” मैले भने ।
”मेरोमा आऊ न । कहिलेकाहीं त साथीहरुकोमा पनि जानुपर्छ नि । मेरो पनि छुट्टी हो आज ।”
एकछिन अलमलिएं । कुनै केटी मान्छेले आफ्नोमा बोलाएकै पहिलो पटक म नअलमलिने कुरै भएन । त्यसमाथि म कहिल्यै साथीहरुको घर या कोठामा जान्न थिएं । मेरोमा पनि साथीहरु कमै आउंथे आउंदै आउंदैनथे भन्दा नि हुन्छ । त्यस्तो खासै कारण त हैन । तर त्यो दिन मेरो अरु काम पनि थिएन । घर गएर के गर्ने जाने विचार गरें उनकोमा । अलिकति संकोच त छंदैथियो । हुन्छ भनें । तर कहां उनले तिनकुनेको केएफसी अगाडि आउन भनीन् ।
मान्छेहरुबीच कतिबेला कसरी कस्तो सम्बन्ध बन्छ भन्ने पत्तो हुंदैन । कति मान्छे सधैं भेट भएर पनि नजिक हुंन सक्दैनन् । तर कसैसंग नजिक हुन भेटसम्म पनि हुनुपर्दैन । उनैसंग जोडेर हेरुंन एउटा फ्यानको रुपमा मैले कुरा सुरु गर्नु मात्र पर्यो त्यो पनि संयोगले भेट्दा र त्यो दिन घरमै… होइन कोठामा भेट्न बोलाइन् । नाता साइनो केहि होइन । उनले मलाई रुपेश भनेर सम्बोधन गरिन् मैले केहि भनिनं तपाई तपाई भनेर मात्र कुरा गरें उमेरमा जेठी लागेपनि मलाई दिदी भन्न आएन । बबरमहलबाट तीनकुने पुगुन्जेल मनमा अनौठो कौतुहल खेलीरह्यो ।
किन कोठामै बोलाउनु परेको होला बाहिर भेट्दा नि भैहाल्थ्यो नि । आऽऽऽ दिदी उमेरको मान्छेसंग जहां भेटे नि एउटै त हो नि । फेरि उनले पनि भाई जस्तै सम्झेर त बोलाएको होला नि । तर पनि आज सम्म म त्यसरी कसैकोमा गएको थिइनं । तर अर्कोतिर टिभीमा काम गर्ने मान्छेले बोलाएको सम्झेर म दंग परें । प्रभाव त राम्रै पारेको रहेछु जस्तो लाग्यो ।
तीनकुनेमा गाडिबाट झरेर पैसा तीर्दै मात्र थिएं पछाडिबाट कुसैले कम्मरमा दुई हातले च्याप्प समायो म बुरुक्क उपि्रुएं । आत्तिएर पछाडि फर्केर हेरेको त उनै रहिछन् । टम्म मिलेका सेता चम्किला दन्तलहर देखाएर मस्त हांसिन् । मलाई भने खुब अप्ठेरो लाग्यो । नुहाएर सुकिनसकेको लामो कालो कपाल घुंडा मुनीसम्म वन पीस अनि घर बस्दा लगाउने जुत्ता लाएकी उनी अर्कै चमकसित मेरो सामू प्रकट भइन् ।
”हेरीमात्रै रहने कि जाने पनि ?”
जाने हो भन्दै उनीसंगै अघि बढें । केएफसी कै बायांपट्टिको सानो बाटोबाट झण्डै सय मिटर भित्र एउटा ५ तल्ले घरको दुइटा मात्र कोठा बांकी कौशी निस्केको पाचौं तल्लामा बस्दीरहिछन् । माथि एउटी मेरै उमेरकी गोरी केटी ह्वाइट हाउसको युनीफर्म लगाएर कलेज जान तयार भएर बसेकी थिइन् । अनुहार र शरिरको बनोट झण्डै उनैको जस्तॊ । राम्री पनि तर म उनीजत्तिको लागेन ।
”सीज माई सीस्टर् आकृति । ऊ चाहिँ रुपेश बिहान न्युज सुन्याथ्यौं नि !”
”सो ही इज दी गाई ! हेल्लो ! ” आंखा सन्काउंदै उसले भनी ।
“हाई ” उसले के भनी कुन्नी मैले अभिवादन फर्काएं ।
“म गएं ल ! ह्याभ अ नाइस टाइम ।” भन्दै ऊ गई ।
***********
४ वर्ष भएछ । उनले टिभीमा काम गर्न थालेको । रिपोर्टर भएर गएकी तर पछि समाचारवाचक भएकी । बाग्लुङ घर । काठमाण्डु बसेको ९ वर्ष । यो अवधिमा बहिनीलाई काठमाण्डुमा ५ वर्ष पालेकी । दुइवटा कोठा राम्रोसंग सजाइएको । मलाई लीभीङ कम बेड रुममा राखेर उनले अर्को कोठाबाट दुईजनालाई खाना ल्याइन् । कोठाको सजावट हेर्दै म खाना खान थालें । उनी घरी घरी मलाई र मैले हेर्दै गरेको दिशातीर हेर्दै खांदै थिइन् । सबै थोक जोडेकी रहिछन् । कुनामा सामसङको प्रुीज छेवैमा डिजीटल साउण्ड सिस्टम पलङसंगै जोडिएको टेबलमा कम्प्युटर कोठाको माझमा वरीपरी वेतका ६ वटा कुसर्ीको बीचमा ग्लासको टि टेबल । भीत्तामा कसैको फोटो टंागिएको थिएन बरु एउटा ठूलो पोट्रेटमा एउटी सुन्दर बालिकाको चित्र । सबै हुंदा हुंदै पनि कोठामा टिभी भने थिएन ।
“सो हाउज लाइफ ?” बीचमा उनले कुरा थालिन् ।
कोठा निरिक्षण गर्दै उसलाई हेर्दै नहेरी भनें “रमाइलो छ । तपाईलाई भेटेको दिनदेखि अझ रमाइलो ।”
“कसरी ?”
“नो रिजन, बट आम फिलिङ सो !” मुस्काउंदै भने ।
“हाऊ कुड यु फील सो । म तिम्रो गलफ्रेण्ड भएं र ?”
कस्तो अचम्मको प्रतिक्रिया । रातो भएं म ।
“हैन तर पनि मैले रमाइलो अनुभव गर्न पाउनु मेरो स्वतन्त्रता हो !”
सहमतिको टाउको हल्लाइन् । म फेरि खानामा घोत्लिएं । उनी मलाई खाना खाउन्जेल हेरीरहेकी जस्तो लाग्यो ।
“मीडिया इज अल क्र्याप।” उनले खाना सकेपछि कुरा सुरु गरिन्। “देख्दा अर्कै भोग्दा अर्कै । अब एडिक्सन कसरी त्याग्नु जस्तो भको छ । कहां पाउनु रिह्याब सेन्टर फॆरि ।” असन्तुष्टीको पोको फुकाइन् । मैले अलिअलि बुझें । तर के बुझें पत्तो भएन ।
“मैले टिभी जोइन गर्दा तिमी जस्तै थिएं । संसार आफ्नो जस्तो लाग्थ्यो ।”
“अहिले पनि तपाईंकै त हो नि ! “
“आफ्नै हुनु र आफ्नो जस्तो देखिनुमा फरक छ रुपेश ।”
“आफ्नो जस्तो देखिने कुरालाई आफ्नो बनाउन पनि त सकिन्छ नि !”
“होइन । त्यो भन्दा बरु पराईलाई आफ्नो बनाउन सकिन्छ ।”
“सबै आफ्नै हो भन्नेहरुले मात्र सफलता पाउंछन् ।”
“पर्दाभित्रको कथा बेग्लै हुन्छ । देयर आर न्युमेरस अनरिपार्टेड स्टोरिज वियोण्ड दि स्क्रिन ।”
म स्पष्ट भएं । जतिसुकै झकिझकाऊ देखिएपनि कांचका पर्दा भित्र पनि अनेकन अनरिपार्टेड स्टोरिज हुन्छन् । यो कुरा क्यान्टिनमा साथीहरुसंग बस्दा कैलेकाहीं निस्किने कुरा हो तर टेलिभीजन प्रतिको मोह भएको मलाई त्यसले कहिल्यै प्रभाव पारेको थिएन । ममा यो प्रभाव परुन्जेल उनको अनुहारको चमक बाहिर चर्केको घामको रापमा विलय भइसकेको थियो । बरु आंखामा निराशाको वायु मडारिन थालेको थियो । सायद यीनले कहिल्यै सन्तुष्टी नभोगेको हो कि जस्तो लाग्यो । ती अनरिपार्टेड स्टोरिजका बारेमा केहि त सुनेकै हो । उनकै मुखबाट सुन्नुपर्दा भने मेरो उत्साहमा कमी आउला भन्ने चिन्ता भयो ।
“मास्टर्स सकेको ४ वर्ष भयो । घरबाट विहे गर्नुपर्यो भनेर फोन आउंछ । तर मरो लागि बुवाआमाले केटा खोज्न सक्नुहुन्न ।” मलाई सुनाउनुपर्ने कुरा थियो र त्यो ? म पक्क परेर सुनीरहें ।
“यता मलाई मनपराउनेहरु छन् । तर तिनीहरु मलाई भन्दा मेरो पपुलारिटीलाई मेरो कलरलाई मनपराउनेहरु मात्र छन् । यो मलाई टिभीले दिएको उपहार हो ।”
मलाई कुरा सुन्दा अचम्म लाग्यो । यो कुनै समाचार भन्ने मान्छे भन्दा कहिल्यै लोग्ने नभएको विधवा आइमाइ जस्तो पो लाग्यो । तर त्यसो हुंदाहुदै पनि मलाई उनको माया लागेर आयो ।
“ह्याऽऽ म पनि के सुनाइरहेकी । भन न तिम्रो के छ फ्यानहरुको फोन कत्तिको आउंछ त ?” मुसुक्क हांसिन् । आंखामा फेरि तारा कुदे ।
म हांसी मात्र राखें । उनको अनुहार नियालेर । बायां पट्टिको गालामा कपाल झरेर छोपेको थियो । टाउको अलिकति दायांतिर ढल्काएर मतिर हेर्दै मुस्काइरहंदा मैले सोच्न सक्ने केहि बांकी रहेन । केहिबेरमा उनको अनुहारमा फेरि पहिलेकै जस्तो पतझरको नांगो रुख नाच्न थाल्यो ।
“पैसा त खुब कमाउनुहुन्छ होला है !” अनायासै सोध्न पुगें ।
“अं कमाउंछु तर तिम्रो जति खुशी किन्न सक्दिनं ।”
म फेरि अकमक्क परें ।
“किन ?” अनावश्यक सोधाई ।
उनको अनुहारमा अब नयां प्रकारको मुस्कान खेल्न थाल्यो । त्यो मुस्कानको अर्थ मैले बुझ्न सकिनं । मलाई तसा्रए जस्तो लाग्यो जिस्क्याए जस्तो लाग्यो तर उनी असन्तुष्टीको पहाड मतीर भत्काइरहिछे भन्ने कुरा मैले स्पष्ट बुझें ।
“मेरो कलर बिक्रीमा राखिएको छ कांचको पर्दामा ।”
“हजुर ?” मैले बुझिनं ।
“कैलेकाहीं म बेचींदैछु जस्तो लाग्छ यसैले मलाई दुखी बनाउंछ ।”
“किन बेच्न त तपाईले बेच्नुहुन्छ नि हैन र सेल्स पर्सन जस्तो !”
“हो त्यस्तै देखिन्छ तर..” अनुहारको रंग बदलीयो ।
“के ?”
“केहि होइन भैगो । चिया खान्छौ ?”
चिया खायौं तीन चार पटक नै होला । उनी घरी घरी जिस्किन्थीन् अनि मस्तसंग हांस्थिन् । यस्तो लाग्थ्यो उनी वर्षौंपछि यसरी हांस्दैथिन् । अनि एकै झट्कामा फेरि उस्तै सेलाउंथिन् असिनाले हिर्काएको गुलाफ जस्तै । म टिभीको बारेमा सोध्थें उनी निराशाका कुरा गर्दै टार्थिन् । म ती अनरिपोर्टेड स्टोरीजको बारेमा बुभुन खोज्थें उनी मलाई स्टोरी बनाएर मजा चाख्न खोज्थिन् । रमाइला कुरा भए गम्भीर कुरा भए कति ठाउंमा म अलमलिएं कति ठाउंमा उनले अलमल्याइन् ।
दिउंसो ३ बजेतिर उनले मलाई तीनकुनेको बसस्टपमा छोडिन् ।
घर पुगुन्जेल उनीसंग भएको कुराकानीलाई केलाएं । मिडिया इज अल क््रयाप एडिक्सन आफ्नो पराई पपुलारिटी कलर पर्दाभित्रको कथा अनि अनरिपोर्टेड स्टोरीज ।
पर्दा भनेको पर्दा हो त्यो रेशमी कपडाको होस् या कांचको होस् । पर्दा जतिसुकै पारदर्शी भएपनि त्यसपछाडि केहि न केहि लुकेकै हुन्छ । लुक्नुको अर्थ दृश्यमा नदेखिनु स्पर्शको पहुंचमा नहुनु गुण र दोषको पहिचान नहुनु आदि जे पनि हुन सक्छ । हामी पर्दाका रंगीचङ्गी नृत्य नाटिकामा खुबै रमाउंछौं पर्दा पछाडिको रुखो वाटिकामा कमै रमाउंछौं । कांचका पर्दाभित्रका ती अनरिपार्टेड स्टोरीज रिपार्ट गर्ने रिपोर्टरहरु स्टोरीको साथमा पर्दामा आउन सक्दैनन् । सक्लान् त उनले भनेजस्तै उनीहरु स्टोरी रिपार्ट नगर्दै बिक्री हुने हुन् कि ! उनले किन्न नसकेको खुशी अविछिन्न रिपोर्ट गर्नेहरुको आफ्नै कथा पो हुन् कि !
भेटघाट त्यही भेटमा अल्झियो ।
एकचोटि धेरै समय करिब ६-७ महिनापछि मैले उनलाई फोन गरें । उनले अचम्म मानेकी हुन् कि अचम्म मानेको जस्तो गरेकी हुन् तर म केहिबेर अत्तालिएं । त्यो दिन फोनमा मलाई उनले एकदम गाली गरिन् किन नभेटेको फोन किन नगरेको भनेर । तर भेट्न बोलाइनन् । थाहा छैन किन । फोन राख्नुअघि उनले “आम मीसीङ यु!” भनेर फोन राखिन् । म चकित परें, के खालकी हुन् भनेर ! तीनको अनरिपोर्टेड स्टोरीको मिस्ट्रीबारेमा मनमा फेरि खुल्दुली भयो ।
त्यसपछि न मैले उनलाई पुतलीसडकको साइबरमा भेटें न उनले मलाई भेट्न कोठामा बोलाइन् ।
त्यसको ३ महिनापछि उनी कांचका पर्दाभित्र देखीन छोडीन् । फोन गर्दा फोन लागेन । कोठा छोडीसकिछन् ।
तर मैले समयको गति छाड्न सकिनं म पछारीइनं पनि म हराइनं पनि । एक वर्ष भयो मैले रेडियो छोडेर टिभीमा समाचार भन्न थालेको । रमाइलो छ । उत्साह त्यस्तै छ । तर समयसंगै िहंडेजस्तो लागेपनि पछारिने या हराउने डर मान्छेमा कहिल्यै मेटिन्नं । म बेला बेला उनलाई सम्झिन्छु उनले भनेका ती अनरिपोर्टेड स्टोरीजका बारेमा सोच्छु ।
यो क्युवीकल क्यावीन भित्र सबैजना आ-आफ्ना कम्प्युटरमा चुपचाप काम गरिरहेका छन् । कोहि च्याटमा मस्त छन् कोहि रिपोर्ट लेख्नमा व्यस्त छन् कोहि उंघीरहेका छन् । पल्लो पट्टीको क्यावीनमा कोहि उत्ताउला गफगाफमा गफ्फीरहेका छन् । माथि हाकिमको कोठा भित्रबाट लक गरिएको छ । बाहिर गेटमा गार्ड हाई अलर्ट पोजीसनमा छ । म भने सम्झिरहेको छु “पर्दाभित्रको कथा बेग्लै हुन्छ । देयर आर न्युमेरस अनरिपार्टेड स्टोरिज वियोण्ड दि स्क्रिन ।”
म केहिबेरमा एअर हुने तरखरमा छु उनका अव्यक्त अनरिपोर्टेड स्टारीज र मेरा अनरिपोर्टेड स्टोरीजलाई दिमागी सन्तुलनमा मर्ज गराउंदै म एयरतिर लाग्छु ।
उहाँको नाम जान्न इच्छुक छु र केही “अनरिपोर्टेड स्टोरेज ” पनि।तर अचम्म लाग्यो उहाँ पर्दामा नदेखिएको भन्दा।बट ब्यूटीफूल स्टोरी नाइसली एग्जीकिउटेड,सारै मनपर्यो ।सरल भाषामा लेखिएकाले होला बुझ्न पनि सहजनै भयो।
सिल्भी जी! कथाका कतिपय कुरा काल्पनिक छन्। जस्तो कि पात्र। भोगाइ र अनुभव चाहिं सत्य हुन् भन्दा फरक नपर्ला। प्रतिक्रियाको लागि तपाई लगायत सबै साथीलाई धन्यवाद।
sachchai ramailo ani antyahin katha sunaunu vayo
asha chh yo kathalai feri ekfera baljhaunu hunechh ani uni ahile kaha ani k gardai chin tyo pani tapaikai lekhan saili le bataunechh .
ani sachchi deuta risayar uni hideki ta hainan
hahaha
so sweet story and ur writing style
maja lago yar…gazzab ko lekhnu bha raicha…aaja matra herne fursad milo ni ta…Ajhai lekhnos yar…
great
very well created well done…..
I know u r not the perfect writer tara there are some points words are broken unecessarily tht what i thought
overall verytrue and very profound mystry …. transitional phage is gr8 …ani last ma chai I expected Namaskar ma rupesh shrestha kantipur samachar ma tapailai swagat cha…thts what i felt
but u did ery gr8 job. thnxfor posting it.
I still wanted to know who was the person and what might b the unreported stories………….
Enjoyed a lot..keep on posting similar other stuffs
Sachhai dherai ramro 6 rupesh,
“कति मान्छे सधैं भेट भएर पनि नजिक हुंन सक्दैनन् । तर कसैसंग नजिक हुन भेटसम्म पनि हुनुपर्दैन ।”
It touched my heart. Ya, there is stores in every profession. That was unreported n will be. We exchange our happy moments to our profession. Your story says that that is not real whatever seems .
Thanks.
Waiting for other unreported stories…..
man paryo !
अनरिपार्टेड स्टोरिज के थियो पत्ता त लगाउनुभयो होला नि ! कथा निकै गज्जब छ, साँच्चै उनी चाँही को थिइन ?
खुब मन प-यो यो कथा!
केहि ‘अनरिपोर्टेड स्टारीज’ पनि यसैगरी कथाकै माध्यमबाट पढ्न पाईने आशा गरेको छु।